व्यंग्य : बोलबोल मछली मुखभरि पानी – Dcnepal

व्यंग्य : बोलबोल मछली मुखभरि पानी

यो मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) भन्ने बस्तुले नेता जनता र अरु सबैको अस्तु हल्लाउने कार्य गरिरहेको अनि सबैलार्ई बुझेपनि नबुझेपनि अप्ठ्यारो परिरहेको हो कि जस्तो देखिन्छ । देशका मान्नेगुन्ने र जान्नेसुन्नेहरुले नै यसलार्ई आफू अनुकूल गिजोल्ने गरेर सबैलार्ई अलमलमा पारेर आफूलार्ई आबश्यक परे अनुसारको खलबल गराएर आफ्नो भबिष्य झलमल पार्ने कार्यमा कसरी प्रयोग गर्न सकिन्छ भन्नेमा केन्द्रित भएर ब्याख्या अपब्याख्या सबैथरिका काम एउटैले गरिदिँदा जनता त्यसैपनि कित्ताकित्तामा बाँडिने र अलपत्र परेर भाँडिने अबस्था आएको हो कि जस्तो देखिन्छ।

सबै ब्याख्याताहरुको कुरा सुन्दा र त्यसलार्ई भित्री मनले गुन्दा अनि आखिरमा यो के रहेछ त भनेर बिचार गरी चुन्दा आँखा नदेख्नेले पुरै बुझे जसरी सिनेमा हेरेजस्तो, बोल्न नसक्नेले धारा प्रवाह भाषण ठोकेजस्तो, कान नसुन्नेले संगीत सुनेर परम आनन्द लिएजस्तो, नपुंसकले बच्चा पैदा गरेजस्तो, हिँड्न नसक्नेले दौडमा भाग लिएर पुरस्कार जितेजस्तो, अग्लो रुखको टुप्पोमा पुगेकोले फेदको अनुभव र फेदमा उभिएकोले टुप्पोमा पुगेको अनुभव गरेजस्तो अचम्म र उल्काको बिषय रहेछ भन्ने त सबैले मजैसित अनुभव गरिसकेका छन्।

कुनै श्रम र परिश्रम नगरिकन र वास्तबमा यो भनेको ठ्याक्कै यही हो भनेर बुझाउन अघि नसरिकन आफ्नो आबश्यकता र स्वार्थको आधारमा बोल्दा र थपडीको लागि मात्रै मुख खोल्दा अहिले जति मुख उति धारणा आएको हो रे भन्ने सुनिन्छ। त्यसलार्ई बिस्तृतमा पढेर र त्यसका प्राबधानहरुमा राम्ररी गढेर सही कुरो यो हो है भन्नुभन्दा निहित स्वार्थमा अगाडि बढेर र आफ्नो औकातभन्दा माथि चढेर श्रम भन्दा भ्रममा बिश्वास गर्ने नेताहरुले गरेका टिका टिप्पणी सुन्दा सधंै भ्रममा बाँचेका जनतामा भ्रमको मात्रा बढेको हुनसक्छ।

गाउँमा बाढी पस्न लाग्दा बचाउको लागि तत्काल जान र आफूसित अरुलार्ईपनि लान पर्नेमा कोही खेती थन्काएर जाने, कोही भात खाएर जाने, कोही भात पकाएर जाने, कोही घरको सुग्घर सफाइ सकेर मात्रै जाने, कोही गाईबस्तुलार्ई दानापानी खुवाइ सकेर मात्रै जाने, कोही नुहाइ धुवाइ सकेर मात्रै जाने, कोही छोराछोरीलार्ई स्कुल पुर्याइ सकेर मात्रै जाने जस्तो गरेर बसेको र आफ्नो स्वार्थ अनुकूल मात्रै काम गर्न कम्मर कसेको देख्दा वास्तबमा यो के हो भनेर जनता अन्योलमा परेका छन्।

एउटाले यसलार्ई लागू गरेमा देशै रहँदैन त्यसैले यसलार्ई हाम्रो दलले पटक्कै सहँदैन भन्छ। तुरुन्तै अर्कोले यसलार्ई कुनैपनि हालतमा पास नगरे हाम्रो सर्वनाश हुन्छ भन्छ। कोही यथास्थितिमै पास गर्नपर्छ भन्छ कोही संशोधनसहित पास गर्नपर्छ भन्छ कोही कुनै हालतमा पास गर्न हुँदैन र यो खारेज भएर कोही रुँदैन भन्छ। कसको कुरा सुन्ने र कसकोलार्ई ठिक भनेर चुन्ने अन्यौलमै रहेका जनतालेपनि निकै बुझेजस्तो गरिरहेका छन्।

बिहान चिया पसलमा एमसीसीकै कुरा,दिउँसो काम गर्ने ठाउँमा एमसीसीकै कुरा र बेलुका मापसे गर्ने ठाउँमा एमसीसीकै कुरा सुन्दासुन्दा भन्नेपनि र सुन्नेपनि एमसीसीका विद्वानभन्दा कम भएका छैनन्। अझ बेलुकाको समयमा जति बढी मादक पदार्थको सिसी खाली गर्यो उति बढी एमसीसीमाथि प्रकाश पार्ने, छलफल गर्ने, टिकाटिप्पणी गर्ने, बादबिवाद गर्ने, घोचपेच गर्ने, आफ्नो धारणा पेश गर्ने, अरुको धारणालार्ई हावादारी करार गरिदिने आदि कार्य प्रत्येक साँझ जोडतोडका साथ भइरहेको र शानदार रुपमा गइरहेको छ रे भन्ने सुनिन्छ। यस्तो कार्यक्रममा भाग लिने अधिकाँशलार्ई एमसीसीको पूर्णरुप वा फुलफर्म के हो भन्नेपनि थाहा नहुन सक्छ।

धेरैजसो बिषयहरुमा यसैगरि छलफल चल्ने र छलफल पूरा नहुँदै छलफलकर्ता ढल्ने अनि सुन्नेपनि मापसेले गल्ने अबस्था खासै नौलो होइन। जुनसुकै तहको ब्यक्ति भएपनि न पढ्न परोस्, न बुझेन परोस्, न बिज्ञका कुरा सुन्न परोस् वा जसले जेसुकै गरोस् आफ्नो धारणा नै ठिक हो भन्नै पर्छ। राजनैतिक तहमापनि अबस्था त्यस्तै देखिन्छ। ठूला दलका ठूला नेताहरु तौलेर बोल्ने र सर्पपनि मरोस् लौरोपनि नभाँचियोस्को तरिकाले मुख खोल्ने गरेका भेटिन्छन्। यस

बारेमा प्रष्ट बोल्नुभन्दा अर्कोलार्ई भ्रष्ट साबित गरेर आफू चोखिने र बिदेशीबाट राम्रो तौलमा जोखिने उपायको खोजीमा ब्यस्त देखिन्छन्। आफूले यसलार्ई जसरीपनि पास गर्न तयारी गरेकोे तर फलानो दलको फलानोको कारणले मात्रै अड्किन परेको भनेर एमसीसीवाला बिदेशीलार्ई पनि भ्रममा पार्न र यसै गरिगरि चुनावसम्म टार्न पाए यसलार्ई रोक्न आफैले सबै गरेको भनेर जनताको भोट झार्न सफल भएर सत्ताको तर् मार्न अनि बिरोधीलार्ई बिदेशीको आँखाबाट झार्न ठूलो मसला मिल्ने मौका चुकाउन हुँदै हुँदैन भन्ने पक्ष बलियो देखिन्छ।

दल जति सानो भयो कुरा त्यति नै ठूलो हुने गरेको र ज्यादै उत्तेजक अभिब्यक्तिहरु मुखबाट झरेको देख्दा राष्ट्रवादी भनेकै बिभिन्न राष्ट्रको बिरोध गर्नु नै हो भन्ने सबैले बुझेका छन्। सानालार्ई न कुनै आश न कुनै त्राश केही जाला वा अर्कोको खाला भन्नेपनि भएन। कहिँकतैबाट केही पाउँला र पेटभरि खाउँला वा उतैको खर्चले उतै घुम्न जाउँला भन्नेपनि भएन। कसैले केही दिँदैन र कसैले कुनै महत्वमापनि लिँदैन।

न कुनै खर्च, न कुनै लगानी, न कुनै मेहनत, न बिस्तृतमा कुनै अध्ययन, न कुनै फाइदा बेफाइदाको तुलना आदि भयो भएन थाहा नभएपनि बिरोधको लागि घोर बिरोध गरिदिएपछि र आफ्नो असली औकातमा झरिदिएपछि जनतालार्ई भ्रममा पार्न खासै मेहनत गर्नै परेन। जनता त झन् जनता नै भए। नसुनेको केही छैन, नजानेको केही छैन, नबुझेको केही छैन, नचिनेको केही छैन आदि भएको र सबैथोक आफैंले सोचे अनुसार गएको हुनाले आफ्नो आस्थाको नेता वा दलका नेताले जे भन्यो वा जस्तो अन्तरर्वार्ता दियो त्यसैलार्ई दिमागमा लियो कुरै सकियो। लहैलहैमा दौडने र अरुको गफ सुनेर हावामा पौडने जमातलेपनि सबैमा अन्यौलको स्थिति बनाइ दिएका छन्।

अलग अलग हिसाबले हेर्ने हो भने पनि सबै ठूला भनिएका र स्वघोषित रुपमा एकदमै सक्षममा गनिएका नेताहरुलार्ईपनि एमसीसी ज्यादै ठूलो घाँडो बनेर छातीमा अड्किएको काँडो भइसकेपनि यसबाट चाँडो पार पाउने छाँटछन्द भने देखिएको छैन। सरकार प्रधानको कुर्सीमा बसिरहेका सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक दलका सभापतिलार्ई एमसीसीले सभापतिको चुनावमा गडबड पार्ला र चुनाव हारेर भुपु सभापतिमा झार्ला भन्ने डरले मार्ला वा चुनाव जिताएर बैतरणी तार्ला भन्ने डरले चुनाव अगाडि यस बारेमा बोल्नै भएन।

आफ्नो समूहका धेरैजसोले पदाधिकारीको चुनाव जितेपछि बल्ल संसदबाट एमसीसी पास गराउन हामीले डराउन हुँदैन भनेर बोल्नासाथ गठबन्धनमा गोलमाल हुन्छ कि भन्ने अड्कलबाजी सुरु भयो। सभापतिको चुनावपछि जसरीपनि पास गराउँछु भनेर अमेरिकी दबावलार्ई झेल्दै र अरुलार्ई पेल्दै आएका सभापतिलार्ई उताकाले पेल्दै भित्तामा पुर्याउन सक्ने अबस्थाबाट आफू र आफ्नो भबिष्य बचाउन अनि उताबाट आइरहेको र आउने माल पचाउन अब कुनै डर छैन।

सभापतिको कुर्सी पक्का भएपछि दलमा कसैले धक्का दिन नसक्ने हुनाले अब सर्वशक्तिमान दातालार्ई बिझाउनु भन्दा एमसीसी पास गरेर रिझाउनु नै बुद्धिमानी हो भन्ने सल्लाहलार्ई नराम्रो नमान्ने र यो झकझकलार्ई अरु लामो समयसम्म नतान्ने यिनको उच्च बिचारलार्ई अरुलेपनि मानेकै छन्। एमसीसी फेल गराएर अमेरिकिलार्ई चिढाउनुभन्दा उनिहरुको निर्देशन अनुसार आफूलार्ई हिँडाउनु राम्रो हो भन्ने यिनको सोच सराहनीय छ।

यिनलार्ई आफ्नै दल, बिपक्षी दलहरु, गठबन्धनका अवसरवादीहरु र आफूहरुले नै भ्रममा राखेका जनताले के भन्ने हुन् र के गर्ने हुन् भन्ने मात्रै यिनको चिन्ताको बिषय भएजस्तो देखिन्छ। हुनत अमेरिकी दाहिना भएपछि र उनिहरुको निर्देशनको बाटो आँखा चिम्लेर गएपछि कसैले केही लछार्न र यत्तिकै पछार्न सक्ने सवालै भएन। त्यही भएर यिनी ढुक्कसित पास गर्ने पक्षमा छन् रे भन्ने सुनिन्छ, कतिसम्म सत्य हो त्यो चाहिँ थाहा भएन। बोलबोल मछली मुखभरि पानी भनेको शायद यहि होला?

स्वघोषित महान नेताको प्रशस्तीबाटपनि चिनिने खुमलटारे कामरेडलार्ई एमसीसी तातो पिँडालु मुखमा परे सरह भएकोले बिभिन्न तरहका अभिब्यक्ति दिएर र त्यसैबाट आनन्द लिएर अनि भित्री मनको कुरा घाँटी मुनि नै पिएर वा सत्यतथ्य बोल्न मुख सिएर काम चलाउन परेको छ। अरुले सोचेभन्दा क्रान्तिकारी देखिन बिरोध गरेजस्तो गर्नैपर्यो र भित्रभित्र अमेरिकिलार्ई रिझाएर फाइदा उठाउने बाटोतिर अघि सर्नैपर्‍याे।

धेरै जान्ने भएर हिँड्दा उनिहरुले गठबन्धन तोडाएर सडकमा पुर्याइदिए भने फेरि कसको हात समातेर जात जनाउँदै समस्याबाट पार पाउनु। अहिलेसम्म धेरैको हात समातेर नाचियो, सबैलार्ई झुक्याउँदै क्रान्तिका ठूलाठूला सपना साँचियो तर अहिले आएर गठबन्धनको बैशाखी भाँचियो भने अलपत्र भइएला भनेर बुद्धि पुर्याउनु धेरै राम्रो हो।

कुन्नि केके साम्राज्यबाद र बिस्तारबादको घनघोर बिरोध गरेपनि र यसबाट जनता झुक्किइरहेका छन् भनेर ढुक्क परेपनि जनताले अलिअलि कुरा बुझेका छन्। दलको राष्ट्रिय सम्मेलन अगाडि यस बारेमा केही बोली हाल्दा सम्मेलनको एकतन्त्रीय निर्णयमा प्रतिकुल असर पर्ला र तिन दशकभन्दा लामो अध्यक्षतामा केही असर गर्ला भन्नेतिर ध्यान दिनै पर्यो। अमेरिकि सहयोग चाहिँदैन भनेर बोल्ने शक्तिपनि छैन र पास गर्न पर्छ भन्नेमा मनपेट खोल्ने शक्तिपनि छैन।

त्यही भएर आगामि संसदीय चुनावसम्म यसैगरि अल्झाउने र अरु मुद्दा सकिइ सकेको हुनाले यसैलार्ई भजाएर भोट बल्झाउने योजनालार्ई नराम्रो मान्न सकिन्न। उत्तर दक्षिणका छिमेकिलार्ईपनि बिश्वास पार्नै पर्यो र अमेरिकिको आर्शीवादपनि झार्नै पर्यो अनि चुनावको खड्गोपनि टार्नै पर्यो। यता गरे उता छैन उता गरे यता छैन भनेजस्तो समस्यामा अड्किएको भएपनि कुनै स्वार्थ नराखि जनताको पक्षमा पड्किएको र के गरौँ के गरौँ को अबस्थामा भड्किएको भन्नेमा जनतालार्ई पत्यार लागेको छैन। यिनको अबस्थापनि बोलबोल मछली मुखभरि पानी कै रहेको छ।

कोटेश्वरे कामरेडकोपनि अबस्था त्यस्तै छ। बाहिर जति फूर्ति गरेपनि ज्यानमारा मुद्दा खेपिरहेका सभामुख र भागबण्डावाला न्यायमूर्तीहरुको कृपाले साँसद पद जोगिएको र त्यसैको जोडबलले गठबन्धन सरकारको सुख भोगिएको अबस्थामा दोधारे चरित्र देखाएर पद प्रतिष्ठा र हात लागेको मालपानी पचाउनपनि गठबन्धनका अरुले जे गर्छन् त्यसै गर्न परिहाल्यो। होली वाइनको बिदेशी छाप लागिसकेका नेताले बिदेशीको राप र तापको बिरोध गर्न सक्लान् र यो चाहिँदैन भनेर बक्लान् भन्ने कल्पना गर्ने कुरोपनि आएन।

अरुले नपत्याएपनि क्रान्तिकारी भनाउने र गठबन्धनका अरु दलहरु जस्तै औपचारिकता जनाउने कामपनि नगरे देख्नेसुन्नेलार्ई उल्लु बनाउने प्रयास कसरी कायम राख्नु? त्यही भएर यिनलार्ईपनि अप्ठ्यारो छ। कतै अलि बढि चुकियो र केही नबोली लुकियो भने बालकोटे कामरेडले नयाँ उखान बनाएर जनता हँसाइ हाल्छन्। बोलबोल मछली मुखभरि पानीको अबस्था जसरिपनि चुनावसम्म कायम राख्न नसके नसोचेको अबस्था चाख्न पर्ला भन्नेमा चाहिँ यिनलार्ई कुनै डर छैन रे भन्ने सुनिन्छ।

अर्का बालकोटे कामरेड सरकारमा हुँदा यसलार्ई पास गराउन पर्छ र यसबाट हाम्रो धेरै समस्या टर्छ भन्दै हिँडेका यिनकोपनि हालत अरु बरिष्ठहरुको जस्तै हो। के गरौँ कसो गरौँ भनेर दिक्क लागेपनि सबैतिर ठिक्क पारेर काम चलाउने र बिभिन्न बार्गेनिङ गरेर सरकार प्रधानलार्ई गलाउने अनि यसैलार्ई भजाएर चुनावमा भोट फलाउने र खासगरि खुमलटारे र कोटेश्वरे कामरेडलार्ई उठ्न नसक्ने गरी ढलाउने सुकर्ममा प्रयोग गर्ने ताकमा यिनी रहेका हुन् कि जस्तो देखिन्छ।

सरकारमा नभएपछि म सरकारमा भएको भए पास गराउने थिएँ तैपनि सहयोग गर्ने बचन दिएँ भनेर अमेरिकिलार्ई ठिक्क पार्न पाइहालियो। जनतालार्ई यथास्थितिमा पास गर्न हुँदैन भनिदिएपछि काम चलिहाल्यो र संसदमा निरन्तर अबरोध पुर्याएपछि सरकारपनि गलिहाल्यो। एमसीसीमा सहयोग गरिन्छ भनेर सकेसम्म गठबन्धन तोड्ने र बिरोधीहरुलार्ई फोड्ने योजना कार्यान्वयन गराउन सकिन्छ कि भनेर यिनी छिद्र खोज्दै हिँडेका छन्। जे भएपनि यिनकोपनि बोलबोल मछली मुखभरि पानीको अबस्था नै छ।

एमसीसीको बारेमा जसले जति बोलेपनि र जसले जति फलाकेर क्रान्तिकारी र लोकतान्त्रिक बिचार खोलेपनि आफ्नो निहित स्वार्थलार्ई केन्द्रमा राखेर जति मच्चिइ मच्चिइ कुर्लेपनि र औकातभन्दा माथि पुगेर उर्लेपनि सबैको हालत एउटै वा बोलबोल मछली मुखभरि पानी भनेझैं देखिन्छ।

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो