म्याच चलिरहेका बेला अचानक हृदयाघात भएपछि फुटबल खेलाडीको मैदानमै मृत्यु

डिसी नेपाल
११ पुष २०७८ १०:२७

काठमाडौं। फुटबल म्याच चलिरहेका बेला अचानक हृदयाघात भएपछि एक फुटबल खेलाडीको मैदानमै मृत्यु भएको छ । उनी आफ्नो टिमका कप्तान समेत थिए । यसरी मैदानमै ज्यान गुमाउने फुटबलर अल्जेरियाका सोफियान लोकर हुन् । घरेलु सेकेण्ड डिभिजन लिगको क्रममा उनी गोलकिपरसँग ठोक्किएका थिए । त्यसपछि उनलाई हृदयाघात भयो र मृत्यु भयो ।

अल्जेरियाको सरकारी मिडिया इएनटिभीका अनुसार अल्जेरियाको लिग २ प्रतियोगितामा यो दुखद घटना भएको हो । प्रतियोगितामा मोउलोउडिया साइदा र एएसएम ओरान क्लवबीच खेल भइरहेको थियो । यही खेलमा यो घटना भयो । ज्यान गुमाउने खेलाडी लोकर केवल २८ वर्षका थिए । उनी मोउलोउडिया साइदा क्लवका खेलाडी थिए ।

म्याचमा पहिलो हाफको खेल चलिरहेका बेला लोकर आफ्नै टिमका गोलकिपरसँग ठोक्किएका थिए । ठोक्किनेबित्तिकै तत्काल त्यस्तो गम्भीर केही देखिएन । उनलाई मैदानमै प्राथमिक उपचार गरिएपछि उनी फेरि खेल्नको लागि तयार भएका थिए । प्राथमिक उपचारपछि फिट भएर खेल्न सुरु गरेको १० मिनेटपछि लोकर अचानक मैदानमै ढलेका थिए ।

उनलाई तत्काल अस्पताल लगिएको थियो तर त्यतिबेलासम्म उनको मृत्यु भइसकेको थियो । उनलाई हृदयाघात भएको थियो । उनको अचानक भएको मृत्युले दुवै टिमका खेलाडी निकै दुखी भएका थिए । यो घटनाले खेलाडीको मनोबल पूरै गिरेकोले अन्ततः खेल नै रद्द गरियो । खेल रद्द हुँदासम्म मृतक लोकरको टिमले १–० को अग्रता लिइसकेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *