२४ हजारभन्दा धेरै रन र २ हजारभन्दा धेरै विकेट लिएका इङल्याण्डका पूर्वकप्तानको निधन

डिसी नेपाल
११ पुष २०७८ १२:५४

काठमाडौं। इङल्याण्डका पूर्वकप्तान रे इलिङवर्थको निधन भएको छ । ८९ वर्षका इलिङवर्थ क्यान्सरसँग जुधिरहेका थिए । १९ वर्षको उमेरमा फर्स्ट क्लास क्रिकेटबाट करिअर सुरु गरेका इलिङवर्थले करिअरमा २४ हजारभन्दा धेरै रन बनाएका छन् र २ हजारभन्दा धेरै विकेट लिइसकेका छन् ।

अफ स्पिन अलराउण्डर इलिङवर्थले आफ्नो करिअरको सुरुवात १९५१ मा फर्स्ट क्लास क्रिकेटबाट गरेका थिए । त्यतिबेला उनको उमेर १९ वर्ष थियो । उनले फर्स्ट क्लास क्रिकेटमा ७८७ म्याच खेलेका छन् जसमा उनले २४ हजार १४३ रन बनाएका छन् भने २ हजार ७२ विकेट लिएका छन् । इलिङवर्थले आफ्नो कप्तानीमा योर्कशायरलाई १९६६ देखि १९६८ सम्म लगातार तीन वर्ष काउन्टी च्याम्पियन बनाएका थिए ।

इलिङवर्थले १९५८ देखि १९७३ सम्म इङल्याण्डको लागि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । यस क्रममा उनले ६१ टेस्ट र ३ एकदिवसीय खेले । उनले टेस्टमा १८३६ रन बनाएका छन् र १२२ विकेट लिएका छन् । ३ एकदिवसीयमा केवल २ इनिङ ब्याटिङ गरेका उनले ५ रन बनाए र ४ विकेट लिए । उनले आफ्नो कप्तानीमा १९७०–७१ को एशेज सिरिज २–० ले जितेका थिए ।

सन्यास लिएपछि पनि उनले क्रिकेट छोडेका थिएनन् । उनी बीबीसी टेलिभिजनको कभरेज र खेल प्रसारक च्यानलसँग आबद्ध रहे । साथमा उनले १९९५–९६ मा इङल्याण्ड टिमको कोच भएर पनि काम गरेका थिए । यसका अलावा इलिङवर्थ १९९४ र १९९६ मा इङल्याण्ड टिमका मुख्य छनोटकर्ता पनि थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *