अपराजित महिला भलिबल टोली लगातार दोस्रो पटक फाइनलमा
काठमाडौं। बंगलादेशको ढाकामा जारी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा नेपाली महिला टोली अपराजित रहँदै फाइनलमा पुगेको छ। सोमबार सहिद सुरावर्दी कर्भडहलमा भएको खेलमा नेपालले कीर्गिस्तानलाई सोझो सेटमा हराउँदै लगातार दोस्रो पटक फाइनल पुगेको हो।
सुरुआतबाटै दबाब बनाएको नेपालले २५-८, २५-१४, २५-१६ ले खेल आफ्नो पक्षमा पारेको हो। सलिना श्रेष्ठ, शान्ति थारु, अरुणा शाही, प्रतिभा माली, सरस्वती चौधरी लगायत खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल लगातार प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो।
अब, नेपालले उपाधिका लागि भोलि (मंगलबार) उज्वेकिस्तानसँग खेल्नेछ। बिहीबारदेखि जारी प्रतियोगितामा आफ्नो पहिलो खेलमा नेपाली महिला टोलीले श्रीलंकासँग ३-२ को जित निकालेको थियो। दोस्रो खेलमा माल्दिभ्स, तेस्रो खेलमा आयोजक बंगलादेश र चौथो खेलमा उज्वेकिस्तानलाई सोझो सेटमा हराएको थियो।
यसअघि महिला टोलीले बंगलादेशमा नै भएको एभिसी सेन्ट्रल जोनमा ऐतिहासिक स्वर्ण पदक जितेको थियो। प्रतियोगितामा साविक विजेता नेपालसहित आयोजक बंगलादेश, श्रीलंका, माल्दिभ्स, उज्वेकिस्तान र किर्गिस्तान गरी ६ टोलीको सहभागिता थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment