पाँच महिनामा ५१ हजारले घुमे चितवन राष्ट्रिय निकुञ्ज

डिसी नेपाल
१२ पुष २०७८ १६:२५

काठमाडौं। चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा ५१ हजारभन्दा बढीले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन् ।निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार गएको साउनदेखि मङ्सिर मसान्तसम्म ५१ हजार ३०४ जनाले निकुञ्जको भ्रमण गरेका छन् ।

यस वर्ष कात्तिकमा सबैभन्दा बढी पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । कात्तिकमा २१ हजार ५०६ जनाले निकुञ्जको भ्रमण गरेका तिवारीले बताए । त्यस्तै मङ्सिरमा १९ हजार ८०, असोजमा पाँच हजार ८३५, भदौमा दुई हजार ९७७ तथा साउनमा एक हजार ९०६ जनाले निकुञ्जको भ्रमण गरेका छन् ।

त्यसैगरी निकुञ्ज घुम्ने पर्यटकबाट निकुञ्जले चालू आवको हालसम्म एक करोड २९ लाख ९५ हजार १५० राजस्व सङ्कलन गरेको छ । निकुञ्जले सबैभन्दा बढी राजस्व मङ्सिर महिनामा सङ्कलन गरेको भन्दै सूचना अधिकारी तिवारीले मङ्सिरमा मात्रै ५४ लाख १२ राजस्व सङ्कलन भएको जानकारी दिए।

उनका अनुसार कात्तिकमा ५१ लाख १४ हजार ८५०, असोजमा १५ लाख दुई हजार ७००, भदौमा छ लाख ११ हजार २५०, साउनमा रु तीन लाख ५४ हजार ३५० राजस्व सङ्कलन भएको छ ।

निकुञ्जले यहाँ घुम्न आउने पर्यटकबाहेक अन्य गतिविधिबाट समेत राजस्व सङ्कलन गर्दै आएको छ । निकुञ्जले चालू आव २०७८/७९ मा विभिन्न शीर्षकमा दुई करोड ४१ लाख १५ हजार ८१८ राजस्व सङ्कलन गरेको तिवारीले बताए । उनका अनुसार गैरकाष्ठ वन पैदावार बिक्री वितरणबाट १९ लाख ४२ हजार १३३, पर्यटक, जीप सफारी र नदीजन्य पैदावारबाट एक करोड ९० लाख १४ हजार ५५०, दण्ड जरिवानाबाट २० लाख ४७ हजार ६१० तथा नेचर गाइड र माछा मार्ने अनुमति शीर्षकमा ११ लाख ११ हजार ५२५ राजस्व सङ्कलन भएको छ ।

विसं २०७२ को भूकम्पका कारण घटेका निकुञ्ज घुम्ने पर्यटक विस्तारै बढ्ने क्रममा थियो । दुई वर्ष अघिदेखि विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण निकुञ्जघुम्ने पर्यटकको सङ्ख्यामा कमी आएको हो । गत आव २०७७/७८ मा ९८ हजार ९२८ जनाले निकुञ्जको भ्रमण गरेका थिए भने अघिल्लो आव २०७६/७७ मा एक लाख ८२ हजार ४३५ जनाले निकुञ्ज भ्रमण गरेका सूचना अधिकारी तिवारीले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *