साउनयता आचारसहिंता उल्लंघन गरेको आरोपमा ११ सय ४५ प्रहरी कारबाहीमा

डिसी नेपाल
१२ पुष २०७८ २१:४६

काठमाडौं । नेपाल प्रहरीको आचारसंहिता उल्लंघन गर्ने र आर्थिक कारोबारमा समेत मुछिएका १ हजार १ सय प्रहरी कर्मचारीहरु कारबाहीमा परेका छन् ।

संगठनभित्रै महिला हिंसामा संलग्न रहेका तथा अन्य आचारसहिंता उल्लंघन गरेको आरोपमा एसपीसहित कारबाहीमा परेका हुन् । नेपाल प्रहरीले सोमबार गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार आर्थिक वर्ष २०७८\७९ को साउन महिनादेखि मंसिर मसान्तसम्म ११ सय ४५ प्रहरी अधिकारी कारबाहीमा परेका हुन् ।

प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरका अनुसार कारबाही पर्नेमा प्रहरी उपरीक्षक (एसपी) देखि प्रहरी कार्यालय सहयोगीसम्म रहेका छन् । प्रहरी निरीक्षकदेखि एसपीसम्मका १९ जना अधिकारीहरु कारबाहीमा परेका छन् । तर प्रहरी प्रधानकार्यालयले उनीहरुलाई ठूलो कारबाही भने गरेको छैन । एसएसपी कुँवरका अनुसार एसपी ३ जना, डीएसपी ४ जना र इन्स्पेक्टरको संख्या १२ जना रहेको छ ।

यस्तै, प्रहरी नायव निरीक्षक(सई) ४६ जना, प्रहरी सहायक निरीक्षक (असई) ८६ जना, हवल्दार ३०५ जना, जवान ६७५ जना र कार्यालय सहयोगी १४ जना गरी जम्मा ११ सय ४५ प्रहरीलाई प्रहरी नियमावली अनुसार कारबाही गरिएको छ ।

उहाँहरुले प्रहरी आचरण तथा प्रहरी नियमावली विपरीत काम गरेकाले कारवाही गरिएको छ’, एसएसपी कुँवरले भने । प्रहरी नियमावली विपरित कार्य गर्नेहरुलाई कारबाही गरिएको उनको भनाई थियो । उनका अनुसार १९ सय ८० प्रहरीलाई पुरस्कार समेत दिइएको छ ।

उत्कृष्ट काम गरेको भन्दै पुरस्कार पाउनेमा १ डीआईजी, ६ एसएसपी, २१ एसपी, ७७ डीएसपी, १६४ इन्स्पेक्टर छन् । त्यस्तै, २६४ सई, २८८ असई, ४४१ हवल्दार, ७३३ जवान र ३ कार्यालय सहयोगीलाई पुरस्कार दिइएको छ । गत आर्थिक वर्षको यही अवधिमा १ हजार ६ सय ९० जनाले पुरस्कार पाएका थिए भने ९ सय ४४ जनाले प्रहरी नियमावली विपरित कार्य गरेको भन्दै सजाय पाएका थिए ।

पुरस्कार पाउनेको संख्या १७.१६ प्रतिशतले बढेको छ भने सजाय हुनेको संख्या २१.२९ प्रतिशतले बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

 

बैकिङ कसुरका मुद्धा बढे

हत्या, बलात्कार जस्ता जघन्य प्रकृतिका घटनामा कमी आउँदा बैंकिङ कसुरका घटना भने डरलाग्दो गरी बढेको पाइएको छ । प्रहरी प्रधान कार्यालयले आर्थिक वर्ष २०७८\७९ को पाँच महिने प्रगति विवरण सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।

प्रहरी प्रवक्ता एसएसपी कुँवरका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म जघन्य प्रकृतिका घटनाहरु (कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग) बढेका छन् । अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा कर्तव्य ज्यानको मुद्दा १५.१७ प्रतिशतले घटेको छ ।

ज्यान मार्ने उद्योगको घटना पनि ३.९२ र आत्महत्या ११.१६ प्रतिशतले घटेको छ । तर, चोरी, ठगी, आपराधिक विश्वास घात, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा सुविधा र नैतिकताविरुद्धको कसुर र बैंकिङ कसुरको घटना बढेको छ ।

आर्थिक वर्ष ०७८\७९ मा अनुसन्धान गरेको आर्थिक अपराधसम्बन्धीका विभिन्न मुद्दाहरू ६ अर्बभन्दा बढी रकम असुल्न गर्न बाँकी रहेको छ । आर्थिक अपराधअन्तर्गत चोरी (विद्युत पोल), सहकारी ठगी र बैकिङ कसूरमा ६ अर्ब , तीन करोड, चार लाख, ५८ हजार, तीन सय १८ रुपैयाँ बिगो रकम असुल्न हुन बाँकी रहेको तथ्यांकले देखाएको छ ।

जसमध्ये सहकारी ठगीबाट पाँच अर्ब, ८० करोड, ९८ लाख, दुई हजार सात सय ५९ रुपैयाँ, बैकिङ कसूरबाट २१ करोड, ९० लाख, ८७ हजार ९३६ रुपैयाँ र चोरी (विद्युत पोल)बाट १५ लाख, ६७ हजार ६१९ रुपैयाँ बिगो रकम असुल गर्न बाँकी रहेको छ ।

चालु आर्थिक वर्ष ०७८\७९ मा बैकिङ कसूरअन्तर्गतका दुई मुद्दामा ९ जना, सहकारी ठगीको एक मुद्दामा १२ जना र चोरी (विद्युत पोल)को एक मुद्दामा ९ गरी ३० जना अभियुक्त पक्राउ परिसकेका छन् । ठगी १६.४१ र बैंकिङ कसुरको घटना १०५.३४ प्रतिशतले बढेको एसएसपी कुँवरले बताए ।

अघिल्लो पटक लकडाउनका कारण मानिसहरु घरमै भएका कारण चोरीको घटना कम भएकोमा अहिले भने उक्त घटना बढेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा ५३.०४ प्रतिशतले चोरी बढेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *