व्यंग्य : स्वार्थको भाँडो सबैलाई घाँडो – Dcnepal

व्यंग्य : स्वार्थको भाँडो सबैलाई घाँडो

बिगत साँढे तीन दशकदेखि सदाबहार अध्यक्ष भएर यति लामो समयसम्म दलमा एकछत्र खामो गाड्न र आफूलाई अप्ठ्यारो पार्लान् जस्ता सबैलाई पाखा लगाएर भाँड्न अनि उही डेट एक्स्पायर खाले आश्वासन बाँड्न सक्नु आफैमा एउटा ठूलै उपलब्धि हो।

आफू अल्पमतमा पर्छु वा अरुले नटेरेर अलिकति तल झर्छु वा अनेक खुराफात गरेर मजाले चर्छु भन्ने लाग्नासाथ दलको नाम फेर्ने, दल नै फेर्ने, दायाँबायाँ कतै नहेरिकन एकता गरिहाल्ने, कसैसित एकता गरेको छोटो समयमै ब्यक्तिगत रुपमा ठूलो उपलब्धि नभएमा भुतुक्क भएर मरिहाल्ने र बाद बिवाद, गाली गलोज, झगडा, मुद्दा मामिला, अर्कासित टाँसिने, जता फाइदा हुन्छ उतै सर्लक्क गाँसिने आदि कार्य गर्दै अहिलेसम्म टिकेका र राजनैतिक फाइदा हुने शर्तमा सबैतिर खुलेआम बिकेका स्वघोषित महान नेताले फेरि आफ्नो उच्च नेतृत्व क्षमता देखाए।

उनको दलमा उनी बाहेक नेतृत्व क्षमता भएको अर्को ब्यक्ति नभएर हो कि उनी मात्रै नेतृत्वका सबै गुणबाट परिपूर्ण भएकाले उनको अध्यक्ष बनिरहने इच्छा सधैं भरिपूर्ण भएको कसैले बताउन नखोजेको हुनाले यो बिषयलाई भूमिगत रुपमा लुकिलुकी उनको बिरोध गर्ने उनकै दलका अरु नेता कार्यकर्ताहरुले पनि त्यति तताउन खोजेको देखिन्न र कतैपनि लेखिन्न।

उनको हल्का मात्रै बिरोध गर्यो भनेपनि पत्तै नपाइकन डाँडो कटाउने र अप्ठ्यारोमा पर्ने काममा खटाउने अनि भबिष्यमा उठ्नै नसक्ने गरी बिभिन्न तरिकाले ठटाउने हुनाले बिरोध गर्नु भन्दा उनका प्रत्येक बाणीहरुमा समर्थन जनाएर अनि जयजयकार गर्दै उनलाई मनाएर भरपुर फाइदा उठाउन छोडेर बिरोधको बाटो समाउने मुर्खता गर्नै भएन।

जनयुद्ध नामको धनयुद्ध सुरु गर्नुभन्दा धेरै अघिदेखि नै अग्रगामी छलाँग हान्दै र सबैलाई लटरपटर पारेर आफैले आफैलाई मनोनित गरेर अध्यक्ष पद धान्दै आएका यिनले यसपाली अझै ठूलो छलाङ हानेछन्।

दलको अति प्रचारित राष्ट्रिय सम्मेलनमा भाग लिन देशैभरिबाट आएका प्रतिनिधिहरु सम्मेलन स्थलमा आइपुग्दा महाधिवेशन प्रतिनिधिमा परिणत भइसक्नु पनि एउटा उच्च कोटीको अग्रगामी छलाङ नै हो भन्ने सबैलाई लागिरहेको र यसबाट यिनका आसेपासेहरु निकै उत्साह सहित जागिरहेको छ रे भन्ने सुनेर जनता दंग परेका छन्।

चुनावमा हार्छु भन्ने कहिल्यै नसोचेका यिनले यसपालीपनि पहिले जस्तै गफगाफ दिएर बाजी मार्छु र यसैबाट बिगतमा जस्तो नोट झार्छु भन्ने सोच्दासोच्दै नपत्याउँदो पाराले चुनाव हारेर अध्यक्ष पद गुमाएपछि यिनले आफ्नो मानसिक सन्तुलनपनि गुमाएका हुन् कि भनेर सोच्ने मुर्खहरुलाई के भन्न सकिन्छ र?

सधैंभरि अध्यक्षको पद आफ्नो लागि आरक्षित र संरक्षित राखेर अन्य पदहरुलाई टिके शैलीको अत्यन्त प्रजातान्त्रिक प्रणाली मार्फत आफ्ना आसेपासेहरुलाई बक्सिसमा बाँडेर अनि निर्बाचनद्वारा पदाधिकारी छानौँ भन्ने अप्रजातान्त्रिक बिचारवाला गुटलाई भाँडेर राज गरिरहने र यसैमार्फत राष्ट्रिय ढुकुटीमा मजाले चरिरहने सारै राम्रो तौर तरिकाबाट जनतापनि प्रभावित भएकाले अबको निर्वाचनमा नम्बर एक दल बन्ने लगभग निश्चित छ जस्तो देखिन्छ।

हुनत अरु दलहरुमापनि यही शैली अपनाएर आफ्नो थैली बलियो बनाउँदै र आफ्नो अध्यक्ष सभापति जस्ता पदको नबिकरण नै महाधिवेशन हो भनाउँदै अनि यसैलाई सबैभन्दा ठूलो प्रजातान्त्रिक अभ्यास भएको जनाउँदै र शाम दाम दण्ड भेदद्वारा सबैलाई मनाउँदै अरुलेपनि भर्खरै सुरक्षित अबतरण गरेको पाइयो। महाधिवेशन भनेको आफू मुख्य पदमा टिक्नु र मन नपरेकालाई पदबाट झिक्नु बाहेक अरु केही होइन रहेछ भन्ने जनतालेपनि बुझे।

उहिले राणा शासनमा हरेक वर्ष पजनी गरेर श्री ३ र भाइभारदारका साथै भित्रिया चाकरीदारहरुको पद यथाबत टिक्ने र मन नपरेकालाई पदबाट झिक्ने पजनीप्रथा दलहरुमा अहिलेसम्मपनि कायम रहनु शिर्ष नेताहरुको परम्परा प्रेम हो भनेर जनताले भित्रि मनबाटै गर्ब गरिदिन पर्छ।

सबै अध्यक्ष सभापति आदिले फकाउने तर्साउने धम्काउने लोभ्याउने आदि सबै फर्मुला लगाएर आफ्नो पद जोगाएपनि राजावादी दलका सदाबहार अध्यक्षले भने निकै झेला गरेपनि आफ्नै चेलाको फेला परेर अध्यक्ष पदको निर्वाचनमा पराजित हुन पुगे।

चुनावमा हार्छु भन्ने कहिल्यै नसोचेका यिनले यसपालीपनि पहिले जस्तै गफगाफ दिएर बाजी मार्छु र यसैबाट बिगतमा जस्तो नोट झार्छु भन्ने सोच्दासोच्दै नपत्याउँदो पाराले चुनाव हारेर अध्यक्ष पद गुमाएपछि यिनले आफ्नो मानसिक सन्तुलनपनि गुमाएका हुन् कि भनेर सोच्ने मुर्खहरुलाई के भन्न सकिन्छ र? जसको ताबेदारी गरेर यहाँसम्म आएको हो उसैले चुनाव हराइदिएको यिनको दावेदारी उनैले बुझ्ने कुरा हो।

भोट हाल्नेले भोट नहालिदिएर आफूले हारेको र आफूले हेपेको चेलाले बाजि मारेको स्विकार्न यिनलाई निकै गाह्रो परेको देखियो। राजावादी भनिएर राजनीतिमा निकै बलियोसित खुट्टा जमाएका र चुनावमा टिकट र सांसद पद बिक्री गरेर अरबौँ कमाएका भन्ने हल्ला सबैतिर सुनिएपनि जनताले चाहिँ पत्याएका छैनन्। ज्यादै परिपक्व नेता ठानिएका भएपनि चुनाव पछि भने यिनी त सारै केटाकेटी रहेछन् भनेर जानिएका छन् रे भन्ने हल्लामापनि जनताको बिश्वास छैन।

यसो हेर्दा सबै दलका अध्यक्ष वा सभापति जे नाम दिएपनि र शिर्ष नेतृत्वको रुपमा लिएपनि चुनावी मनोबिज्ञान उही नै देखिन्छ। अरुले पनि यदि चुनाव हारेर पद गुमाउने हो भने तिनै राजावदी अध्यक्ष जस्तै दोष जति अरु माथि थोपर्दै र आफूले अहिलेसम्म खाइपिइ गरेर गुजारा गर्दै आएको भाँडोलाई कोपर्दै आफ्नो असली औकात दोखाउनेमा कुनै शंका गरिराख्न पर्दैन।

आफ्नो पद गुम्यो भने कसैलाई बाँकी नराख्ने र जिन्दगीमा चुनावको हार नचाख्ने शिर्ष नेतृत्वको सोचलाई सबैले ज्यादै प्रजातान्त्रिक रुपमा लिइदिन पर्छ। पद जोगाउन उहाँहरुले जे गरेपनि र उहाँहरुको कारणले जसलाई जे परेपनि सबैले चित्त बुझाइदिन पर्छ। उहिले निर्दलीय पञ्चायती प्रजातन्त्रमा ब्यबस्था निर्विकल्प भन्ने थियो तर अहिले शिर्ष नेतृत्वमा भएकाहरु सधैंभरि निर्विकल्प हुन्छन् भनेर सबैले मनमा लियो र महाधिवेशनले त्यही अनुसारको नतिजापनि दियो।

दलहरुको महाधिवेशनलाई पजनी प्रथा भन्न नमिलेर मात्रै महाधिवेशन शब्दको प्रयोग गरिएको र सबैमा त्यही बमोजिमको भ्रम छरिएको भनेर दलकै बिराधीहरुले हल्ला चलाएको जनतालाई चित्त बुझेको छैन।

कुनैपनि दलको महाधिवेशनमा प्रस्तुत भएका राजनैतिक प्रतिबेदन वा भावी योजनाहरुका बारेमा सुन्दा र त्यसलाई मनमनै गुन्दा उही जनतालाई झुक्याउने, भ्रममा पार्ने, घुमाउरो भाषामा कैयौँ बर्ष अघिदेखि लेख्दै आएका तर कहिल्यै पूरा गर्न नपर्ने धेरै पुराना सिद्धान्तहरुको बयान बाहेक अरु केही देखिन्न र केही लेखिन्न भन्ने भनाइमा पनि जनताको पत्यार छैन।

केही महिना अगाडि बालकोटे कामरेडले नारायणी किनारमा ठूलो तामझामसहित आफ्नो अध्यक्ष पदको नबिकरण गरेपछि अधिबेशन सकियो। चुनावमा हल्का प्रतिष्पर्धा भएजस्तो देखिएपनि नतिजा बालकोटेकै पोल्टामा जाने निश्चित भएकोले यसले ठूलो रुप नलिएकोले उनको कुर्सीमा कुनै किसिमको दुलो पर्न पाएन। यसको अरु उपलब्धिहरु गोप्य भएर हो वा अरु कारणले हो कसैले थाहै पाएनन् र कुरो बुझेरै होला चासो राखेर बुझ्नपनि कतै धाएनन्।

त्यसपछि सबैभन्दा ठूलो प्रजातान्त्रिक दलको महाधिवेशनमा सभापतिका सबै उम्मेदवारहरुले पहिलो चरणको निर्वाचनमा निकै सैद्धान्तिक गफ छोड्ने र नतिजा आफ्नो पक्षमा मोड्ने प्रयास गरेजस्तो गरे। दोश्रो चरणमा पुग्नासाथ केही उम्मेदवारहरुको फोश्रो सिद्धान्त छर्लँङ भयो।

आफ्ना बाबु बाजेहरुले घिउ खाएको हुनाले आफूले अहिलेसम्म हात सुघाउँदै हिँडेर चुनाव जित्ने आशामा हिँडेका प्रजातान्त्रिक हस्तिहरुले आफ्नो क्षमता भन्दापनि पितृकै आर्शीर्वादले मस्ती मारिरहेका र त्यसैको आधारमा सबैतिरबाट माल झारिरहेका रहेछन् भन्ने जनताले बुझेका छैनन् भन्ने सोच ठिकै हो।

यो दलको महाधिवेशनमा पनि सात साल अगाडि देखि नै प्रस्तुत हुँदै आएका बुँदाहरुलाई यसो तलमाथि पारेर आँखामा छारो हाल्ने र बिरोध गर्नेहरुको मुख टाल्ने काम बाहेक अरु केही देखिएन। पद बचाउने र हात लागेको माल पचाउने बाहेक अरु कुरामा कसैको ध्यान गएन। महाधिवेशनको असली उपलब्धि नै यहि ठहरियो।

राजावादी दलको महाधिवेशनमा नयाँ अनुहारका कान्छा अध्यक्ष आएपछि पुरानो नेतृत्व भाँडियो र दल राजभक्त र राजबिरोधीमा बाँडियो। यसबाट खासै उपलब्धि नदेखिएपनि यूवा अगाडि आउलान् र भबिष्यमा सदाबहार अध्यक्षहरुलाई हराएर पद पाउलान् भन्ने डर चाहिँ एकतन्त्रिय अध्यक्षहरुको मनमा परेजस्तो छ।

दल र नेता तथा कार्यकर्ताहरुलाई कृपा गरेर अध्यक्ष पद आर्यघाटमा बुझाउने उच्च र परिस्कृत प्रजातान्त्रिक बिचार भएका अध्यक्षहरुलाई यसबाट चित्त नबुझ्नुलाई जनताले अन्यथा लिएका र गम्भिर रुप दिएका छैनन्।

दलमा नेता र कार्यकर्ताभन्दा दासहरुको बाहुल्यता छ भनेर कोहीकोही मौका नपाउने असक्षमले भनेका कुरालाई जनताले खासै गनेका छैनन्। यही भएर शिर्ष नेताहरुले बेलाबेलामा जनता माथि ठूलो कृपा गरेजस्तो र महाधिवेशनमा तयार भएको दस्ताबेजमा जनताको हितका बिषयहरुपनि परेजस्तो गरि दिन्छन् अनि जनताले चाहिँ नेताहरुबाट सबैथोक पाएको रुपमा लिन्छन्। कुरोको चुरो यतिमात्रै हो।

अरु दलहरुको महाधिवेशनमा पेश गरिएका राजनैतिक प्रतिबेदनहरुका बारेमा खासै चर्चा सुनिएन र त्यसलाई मनमापनि गुनिएन तर स्वघोषित महान नेताले पेश गरेको राजनैतिक प्रतिबेदनमा चाहिँ केही चर्चा भएको सुन्दा यो अलिबढी जनवादी हो कि भन्ने सबैको सोचाइ सहि नै हो।

यसमा साबिक अनुसार नै अठारौँ शताब्दिदेखि चर्चा र अभ्यासमा रहेका उहि भुलभुलैयायूक्त शब्दजाल प्रस्तुत गरेर आफ्नो लागि यथेष्ट माल हात पार्ने अनि यसै मार्फत सात पुस्ता तार्ने र यसलाई आँखा चिम्लेर समर्थन नगर्नेलाई उठ्नै नसक्ने गरी तल झार्ने बाहेक अरु केहि छैन भन्ने हल्लामा जनताको बिश्वास छैन।

उहाँहरुका शब्दजाल जनताले न कहिल्यै बुझे न कहिल्यै बुझ्छन् भन्ने उहाँहरुलाई राम्ररी थाहा भएको हुनाले कुर्सी हत्याउने काममा प्रयोग भएपछि त्यो राजनैतिक प्रतिबेदन माथि यसो छलफल गरेजस्तो गरेर लत्याउने र त्यसबाट कुनै परिबर्तन होला भनेर पत्याउने कसैले कहिल्यै गरेको देखिएको छैन।यो कुरो राम्ररी जान्दाजान्दैपनि एकदुइजनाले चर्चामा आउन र भबिष्यमा यसबाट राजनैतिक फाइदा पाउन संशोधन प्रस्ताव राखेर कर्मकाण्ड पूरा गरेको पाइयो।

यसलाई पटक्कै मन नपराएपनि चटक्कै अस्विकार गर्दा अप्रजातान्त्रिकको पगरि भिरिएला र अर्को महाधिवेशनसम्म असफलताको द्वारबाट छिरिएला अनि अहिलेसम्म सबैलाई झुक्याएर खाएको साँवाब्याजपनि तिरिएला भनेर पूरक प्रस्तावको रुपमा स्विकार गर्ने र दस्ताबेजको रुपमा राख्ने घोषणा गरेपछि एकातिर मिल्काइदिए भइहाल्यो। उहिलेदेखि हुँदै आएको र सबैले चाल पाएको बिषय भएपनि सबैले नौलो मानिदिपछि नौलो लाग्नु स्वाभाबिक नै हो।

यसरी मुख्यमुख्य दलहरुको महाधिवेशनमार्फत शिर्ष नेतृत्वले आ–आफ्नो कुर्सी जोगाएपछि महाधिवेशन अत्यन्त सफलतापूर्बक सम्पन्न भयो। शिर्ष नेताहरुको आफ्नै स्वार्थ, बरिष्ठ नेताहरुको आफ्नै स्वार्थ, अरु नेताहरुको आफ्नै स्वार्थ, कार्यकर्ताहरुको आफ्नै स्वार्थ आदि भएको हुनाले सबैतिर तानातान र कतैकतै त हानाहान भएको पनि सुनियो।

सबैले आ–आफ्नो स्वार्थको भाँडो तेस्र्याउने हुनाले त्यसलाई भरिदिने र सबैको इच्छा पूरा गरिदिने घाँडो यसपालीलाई सबै शिर्षहरुले सफलतापूर्बक सिध्याए। अब महाधिवेशनमा शिर्षहरुको कुर्सी बचाउन योगदान पुर्याउनेहरुको स्वार्थ पुरा गर्ने काम शिर्षहरुबाट कत्तिको इमान्दारीसँग हुन्छ भनेर मुख ताक्ने र त्यसैलाई भजाएर नगद खल्तीमा जाक्नेतर्फ सहयोगिहरुको पुरै ध्यान हुने हुनाले शिर्षहरुलाई यिनीहरुले दुख दिइ रहन्छन्।

महाधिवेशनमा तयार हुने दस्ताबेज र भाषणमा सबैभन्दा बढि नाम आउने जनताको स्थिति अगाडिपनि उस्तै हो र पछाडिपनि उस्तै हो। महाधिवेशनमा काम न काजसित सबैभन्दा बढी चासो राखेर आफै पासोमा पर्नेपनि यहि जमात हो।

जे होस,सबैले आआफ्नो स्वार्थको भाँडो थाप्ने कार्यक्रम रुपी सबैको घाँडोलाई यसपाली अधिकांश शिर्ष नेताहरुले भरिदिएर महाधिवेशन नामक नौटंकीलाई सम्पन्न गरे। देश र जनताको लागि यो भन्दा असल काम अरु हुने कुरै आएन।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो