प्रधानसेनापति शर्माको भारतीय सेनाको आरएण्डआर अस्पतालमा उपचार हुँदै

डिसी नेपाल
१९ पुष २०७८ ११:५९

काठमाडौं। प्रधानसेनापति प्रभुराम शर्माको भारतीय सेनाको अस्पताल आरएण्डआर (रिजर्च एण्ड रिफरल) मा उपचार भइरहेको छ। सेनापति उपचारका लागि आइतबार भारतको नयाँ दिल्ली प्रस्थान गरेका थिए। उनलाई सरकारले उपचारका लागि भन्दै १२ दिनको विदा दिने निर्णय गरेको थियो। सेनापति शर्माले पुस १८ देखि ३० गतेसम्म विदा लिएका छन्।

सेनापति शर्मा भारतीय सेनाको मानार्थ सेनापतिको सम्मान लिन जाँदा नै उक्त अस्पतालमा उपचार गर्ने तय भएको स्रोतले जनाएको छ। प्रधानसेनापति शर्मा भारतीय सेनाको मानार्थ सेनापति भएका कारण उनको उपचारमा लाग्ने खर्चपनि भारतीय सेनाले नै व्यहोर्न चाहेको छ। तर सेनापति शर्मा स्वास्थ्य परीक्षणका लागि भारतमा निजी र व्यक्तिगत हिसावले गएका र उपाचरको सम्पूर्ण खर्च व्यक्तिगत हैसियतमा व्यवहोर्ने नेपाली सेनाले जनाएको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्भव पौडेलले प्रधानसेनापति शर्माले विदा लिएर व्यक्तिगत रुपमा स्वास्थ्य परीक्षणको लागि भारत गएको बताए। ‘उहाँ विदा लिएर व्यक्तिगत रुपमा स्वास्थ्य परीक्षणको लागि जानु भएको हो,’ सहायक रथी पौडेलले डिसी नेपालसँग भने, ‘व्यक्तिगत स्वतन्त्रता र गोपनीयताका कारण सबै कुरा सार्वजनिक गर्न मिल्दैन।’

नेपाली सेनाले प्रधानसेनापति शर्मा निजी क्षमतामा स्वास्थ्य परीक्षणका लागि गएको, प्रधानसेनापतिको स्वास्थ्य परीक्षण भारतमा भइरहेको र मेडिकल सम्बन्धि विषय संसारभर सार्वजनिक गर्ने प्रचलन नरहेकाले सार्वजनिक नगरिएको जनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *