लाङटाङमा पर्यटकको आगमन बढ्दै

डिसी नेपाल
२१ पुष २०७८ २१:४७

काठमाडौं ।हिमाली क्षेत्रको अवलोकन गर्न लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्रवेश गर्ने पर्यटकको सङ्ख्या सार्वजनिक भएको छ । निकुञ्ज कार्यालयले दिएको विवरणअनुसार चालु आर्थिक वर्षको साउनदेखि हालसम्म १० हजार ४०० आन्तरिक एवं वाह्य पर्यटकको आगमन भएको हो ।

आगमन भएका पर्यटकमध्ये नौ हजार ७८२ आन्तरिक, ५२ सार्क राष्ट्रका र ५६६ अन्य विभिन्न देशका पर्यटकले भ्रमण गरेको कार्यालयका सहायक संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले जानकारी दिए ।

रसुवामा कोभिडको सङ्क्रमण शून्यमा झरेसँगै पर्यटकको आगमन हुन थालेको निकुञ्जले जनाएको छ । लाङ्टाङ तथा पवित्र तीर्थस्थल गोसाइँकुण्डको भ्रमणमा आएका पर्यटक एवं स्थानीय बासिन्दालाई उपलब्ध गराएको वन पैदावार समेतबाट रु ३१ लाख ६५ हजार राजश्व सङ्कलन भएको जानकारी दिइएको छ ।

यस्तै जिल्लाभित्र सञ्चालित विकास निर्माणका गतिविधि पारदर्शी गर्न सरकारी कार्यालय र पत्रकारबीच अन्तर संवादसमेत आज सम्पन्न भएको छ । उक्त संवाद रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीको सभापतित्वमा सम्पन्न भएको थियो ।

जिल्ला समन्वय समिति, हुलाक, सिँचाइ, निर्वाचन, कारागार, प्रहरी कार्यालयबाट भएका कार्य सम्पादनका बारेमा अन्तर संवाद भएको थियो । यसरी नै जिल्ला प्रहरी कार्यालय रसुवाले प्रहरीमार्फत भएका सुरक्षा गतिविधिसमेत सार्वजनिक गरेको छ ।

चालू आर्थिक वर्षको साउनयता पाँच महिनाको अवधिमा २२ वटा मुद्दा रसुवा प्रहरीमा दर्ता भएका थिए । पेश भएका मुद्दामा १२ वटा भवितव्य, पाँच वटा अभद्र व्यवहार, ठगीमा दुई, सवारी ज्यान एक र करणीसम्बन्धी दुई वटा रहेको निमित्त जिल्ला प्रहरी प्रमुख गणेश सापकोटाले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *