तेस्रोे लहरको संकेत, एक सातामै चार गुणा बढ्यो कोरोना संक्रमणदर

डिसी नेपाल
२५ पुष २०७८ ६:५६

काठमाडौं। नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्दै गएको छ। पछिल्लो दुई दिनमा मात्रै देशभर करिब दुई हजार जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। शनिबार र शुक्रबार गरी एक हजार ९१२ जनामा कोभिड संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार शनिबार ९४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। १३ हजार २६४ जनामा परीक्षण गर्दा ९४४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शनिबार २९७ जना कोरोना संक्रमणमुक्त भएका छन्। शुक्रबार र शनिबार कुनै कोरोना संक्रमितको मृत्यु भने भएन । शुक्रबार ९६४ जनामा संक्रमण पुष्टि भएको थियो ।

बिहीबार ५४०, बुधबार ४३५ र मंगलबार ३९३ जनामा संक्रमण पुष्टि भएको थियो। आइतबार कोरोना संक्रमण हुनेको संख्या २१६ मात्रै थियो। पछिल्लो एकसाताको यो तथ्यांकले पनि नेपालमा कोरोना संक्रमण बढ्दै गएको देखाउँछ । पुस २० गतेसम्म दुई सय माथि रहेको संक्रमितको संख्या एकसता पनि नबित्दै हजार नजिक पुगेको हो। कोरोनाको बढ्दो ग्राफले संक्रमणदर क्रमशः बढ्दै जाने संकेत गर्दछ । संक्रमणदर बढ्दै गएसँगै कोरोनाको तेस्रो लहर सुरु हुने चिन्ता थपिएको छ।

भारतमा ओमिक्रोन भेरियन्टको संक्रमण उच्च दरमा वृद्धि भइरहेका बेला नेपालमा पनि कोरोना संक्रमण बढ्न थालेको हो । नेपालमा शुक्रबार २४ जनामा कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको थियो । नेपालमा पहिलोपटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट मंसिर २० गते दुई विदेशी नागरिकमा पुष्टि भएको थियो । कोरोना संक्रमण दर बढेसँगै सक्रिय संक्रमितको संख्या पनि बढ्न थालेको छ । शनिबारसम्म देशभर ६ हजार १४० जना सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

उपत्यकाका तीन जिल्लाका सिडियोको बैठक बस्दै

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्ने भएको छ । संक्रमणको ग्राफ बढ्दै गएपछि उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक बस्न लागेको हो ।

आइतबार तीन जिल्लाको डिसिसिएमसीको बैठकपछि तीन जिल्लाका सिडियोको बैठक बस्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए। शुक्रबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र समन्वय समिति (सिसिएमसी) को निर्देशनबारे बैठकमा छलफल हुने उनले बताए।

माओवादी अध्यक्ष प्रचण्ड, नेता नारायणकाजीलाई कोरोना संक्रमण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण देखिएको छ। शुक्रबार साँझ पिसिआर परीक्षण गर्दा प्रचण्डमा कोभिड पोजेटिभ पाइएको उनको निजी सचिवालयले जानकारी दिएको छ। प्रचण्ड अहिले आफ्नै निजी निवासमा होम आइसोलेसनमा रहेको सचिवालयको भनाइ छ । प्रचण्डले दुई दिन अघिदेखि नै भेटघाट बन्द गर्नुभएको थियो । यस्तै, नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना पुष्टि भएको छ।

नेता श्रेष्ठले आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका छन्। उसो त अध्यक्ष दाहाल र नेता श्रेष्ठलाई मात्रै होइन माओवादीका अन्य केही नेताहरूमा समेत कोरोना भाइरसको संक्रमण देखिएको छ । केन्द्रीय सदस्य सुबोध श्रीपालीलाई पनि कोरोना संक्रमण देखिएको छ भने प्रचण्डकै स्वकीय सचिव रमेश मल्ललाई पनि कोरोना पुष्टि भएको छ । माओवादी केन्द्रीय कार्यालयका दुईजनाबाहेक सबैलाई कोरोना भाइरस संक्रमण भएको छ । केही दिनअघि मात्रै आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको माओवादीका धेरै नेता कन्ट्र्याक ट्रेसिङमा परेका छन् ।

माओवादीले पुस ११ देखि १८ गतेसम्म प्रज्ञा भवन कमलादीमा महाधिवेशन गरेको थियो । पर्याप्त स्वास्थ्य मापदण्ड पालना हुन नसकेको माओवादीको सोही महाधिवेशनपछि नेताहरूमा धमाधम कोरोना संक्रमण देखिन थालेको छ ।

प्रधानमन्त्री देउवा आइसोलेसनमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि आइसोलेसनमा बसेका छन्। देउवा शनिबारदेखि होम आइसोलेसनमा बसेको उहाँको सचिवालयले जनाएको छ । शुक्रबार कोरोना संक्रमण पुष्टि भएका प्रचण्डसँग देउवाको भेटघाट भएकाले प्रोटोकलअनुसार उहाँ आइसोलेट भएका हुन्।

दुई दिनअघि बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा देउवा र प्रचण्डँग सँगै रहेका थिए। भेटघाट भएको भोलिपल्टै प्रचण्डमा कोरोना पुष्टि भएपछि देउवालगायत अन्य नेताहरू पनि कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् । प्रधानमन्त्री देउवाले शनिबार बिहान एमाले अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेर भेटवार्ता गरेका थिए। हिमालय टाइम्स दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *