कोरोना बढेपछि फेरि कडाइ

डिसी नेपाल
२६ पुष २०७८ ६:४०

काठमाडौं। कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले कोभिड–१९ र यसको नयाँ भेरियन्टको संक्रमण पुनः फैलिन थालेपछि १० दिनका लागि देशभरका विद्यालय बन्द गर्न सिफारिस गरेको छ । सीसीएमसीको आइतबार बसेको बैठकले १५ माघसम्म हिउँदे बिदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न आग्रह गरेको हो ।

सीसीएमसी प्रवक्ता सुनिता नेपालले कतिपय विद्यालयमा हिउँदे बिदा पनि जारी रहेकाले त्यसलाई १५ माघसम्म लम्ब्याउने गरी निर्णय गरेको त्यसले संक्रमणको चेन ब्रेक गर्न सहयोग पुग्ने बताइन् । उनका अनुसार निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा सिफारिस गरिएको छ ।

सीसीएमसीले विद्यालय बन्द रहेको अवस्थामा पनि १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षदेखि माथिका शिक्षक, कर्मचारी र अभिभावकलाई खोप लगाउन पनि आग्रह गरेको छ ।

सीसीएमसीले राजनीतिक दललगायतलाई ठूलो संख्यामा भेला हुनेगरी सभा सम्मेलन नगर्न अनुरोध गरेको छ । यस्तै, सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने निर्णय पनि गरेको छ । अर्को सूचना नभएसम्म सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुनेगरी मेला, भेला तथा महोत्सव आयोजना नगर्न नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालयमार्फत लेखी पठाउन सिफारिस गर्ने सीसीएमसीले निर्णय गरेको हो ।

बैठकले सार्वजनिक स्थलमा हुने राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिको कार्यक्रम नगर्न आह्वान गरेको हो । नगरी नहुने नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने पनि बैठकले निर्णय गरेको छ ।

सार्वजनिक सेवा प्राप्त गर्न पनि खोप कार्ड अनिवार्य गर्ने निर्णयसमेत गरिएको छ । उक्त निर्णय आगामी ३ माघदेखि लागू गरिने भएको छ ।अब होटल छिर्दा र आन्तरिक हवाई सेवाका लागि पनि भ्याक्सिन कार्ड अनिवार्य गरिने भएको छ ।

सीसीएमसीको बैठकले होटल छिर्दा अब भ्याक्सिन कार्ड अनिवार्य गर्ने निर्णय गरेको हो । अब सार्वजनिक स्थानहरू (कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि) प्रवेश गर्दा अनिवार्य रूपमा कोभिडविरुद्धको क्याक्सिन कार्ड (मोबाइलमा फोटो भए पनि हुने) साथमा राख्ने र ती निकायले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउने गरी आगामी ३ माघदेखि लागू गर्ने निर्णय भएको हो ।

यस्तै, आगामी ३ माघदेखि नै लागू हुनेगरी आन्तरिक हवाई उडानमा खोप कार्ड हुने यात्रुलाई मात्र बोर्डिङ पास उपलब्ध गराउने व्यवस्था मिलाउने निर्णय पनि गरिएको छ ।

त्यस्तै, आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको भिडभाड कम हुनेगरी उडान तालिका मिलाउन सीसीएमसीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेको छ ।

सीसीएमसीले नेपाल प्रवेश बिन्दुमा एन्टिजेन परीक्षणको कार्यलाई थप प्रभावकारी बनाउने र परीक्षणबाट पोजेटिभ देखिएकाहरूलाई तत्काल आइसोलेसन, होल्डिङ सेन्टर, होटल आदी मा राख्न अनुरोधसमेत गरेको छ । राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *