धामीझाक्रीको विश्वास गर्दा राजधानीमै १४ वर्षीय बालिकाको हत्या,तीन जना पक्राउ

डिसी नेपाल
२६ पुष २०७८ ७:४५

काठमाडौं। धामी झाक्रीको विश्वास गर्दा राजधानीमै १४ वर्षीय बालिकाको हत्या भएको छ। सिन्धुपाल्चोक राधिका श्रेष्ठकी छोरी १४ वर्षीया छोरी रोशनीको त्रिशुलले रोपेर हत्या गरिएको हो । काठमाडौको रानीवनस्थित उमा शाही ठकुरीले उपचारलागि भन्दै आश्रममा राखेर हत्या गरेकी हुन्। पीडितकी आमा राधिकाले उपचारका लागि छोरी रोशनीलाई रानीवन आश्रममा लगेकी थिइन्।

महानगरीय प्रहरी परिसर काठमाडौंले घटनामा संलग्न माता भनिने ४८ वर्षीया उमा शाही ठकुरीलाई पक्राउ गरेको छ। रोशनी शनिबार बिहान ६ बजे बालाजु रानीवन पानीट्यांकीस्थित उमाको झारफुक आश्रममा बेहोस अवस्थाबाट अस्पताल लगेकी थिइन्। स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पताल लगेको थियो।

अस्पताल प्रशासनले चिकित्सकीय जाँचमा उनको चार घन्टाअघि मृत्यु भएको जनाएपछि प्रहरीमा सो घट्नाबारे उजुरी दिइएको थियो। महानगरीय प्रहरी परिसर काठमाडौले शाहीलाई पक्राउ गरिसकेको छ। स्वयम्भू प्रहरी वृत्तका प्रमुख मिलन केसीले अनुसन्धान गरिरहेका छन्। प्रहरीका अनुसार बालिकाको शरीरभरि नीलडाम छन्। खुट्टा, पिँडुला र तिघ्रामा त्रिशूलले रोपेका प्वाल छन्। टाउको र अनुहारमा पनि नीलडाम रहेको छ।

परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले झारफुककै क्रममा बालिकाको मृत्यु भएको हुन सक्ने भएकाले अनुसन्धानका लागि माता भनिने शाहीलाई पक्राउ गरेको बताए। झारफूकको क्रममा अत्याधिक कुटिएको जस्तो छ कुटाइबाट मृत्यु भएको देखिन्छ, शरीरमा घाउ देखिएको छ निलडाम देखिएको छ’, एसपी मैनालीले भने। मृतककी आमा राधिकाका अनुसार रोशनी भक्तपुरको धुन्चेपाखास्थित गणेश सेकेन्डरी माविमा कक्षा ६ मा अध्ययनरत थिइन्।

उनको टाउको दुख्ने समस्या थियो। वेलावेला टाउको दुख्ने, छोप्ने समस्या भएपछि परिवारका सदस्यले उनलाई उपचारका लागि विभिन्न अस्पताल लगेका थिए। तर, चेकजाँचका क्रममा केही देखिएको थिएन। यही क्रममा रोशनीकी आमा राधिकाले टाउको दुखेको झारफुकबाट निको हुने छिमेकबाट सल्लाह अनुसार बालाजुको रानीवनस्थित माता भनिने उमाको झारफुक केन्द्र पुगेकी थिइन्।

पुस ३ गते उनीहरुले छोरीलाई माताको आश्रममा लगेका थिए । त्यसयता लगातार उपचारको नाममा रोशनीलाई त्यही राखिएको थियो । प्रहरीले घटनामा संलग्न उमाविरुद्ध कर्तव्य ज्यानको कसुरअन्तर्गत मुद्दा दर्ता गरेको छ। थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको छ ।

घटनामा संलग्न अन्य दुईजनालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। रोशनीकी आमा राधिका इँट्टा बोक्ने, बालुवा चाल्ने र गिटी कुट्ने काम गर्छिन् । उनका श्रीमान् यमबहादुर ७ वर्षदेखि मलेसियामा छन् । ११ वर्षका छोरा र १४ वर्षकी छोरी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *