राष्ट्र निर्माता पृथ्वीनारायण शाहमाथि सांघातिक हमलाका घटनाहरु

डिसी नेपाल
२६ पुष २०७८ ७:५५
1.9k
Shares

आफ्ना पिताको सोही दिन निधन पश्चात् राजा पृथ्वीनारायण शाहले आफ्नो राज्यारोहण रामनवमीको दिन चैत्र २५ वि.सं १७९९ मा गरे र त्यस बेलादेखि उनको मृत्युसम्म (१ माघ १८३१) आफूमाथि भएका विभिन्न भौतिक आक्रमणको सामना गरी मृत्युको मुखबाट बच्न सफल भएका विभिन्न घटनाहरू इतिहासमा पाइन्छ।

अहिले नेपालमा केही व्यक्तिहरुले पृथ्वीनारायण शाहप्रति घृणा फैलाउन अनेक किसिमका अनावश्यक अवहेलना र लाञ्छना लगाउने गरेका छन्। राष्ट्र निर्माणको महायज्ञमा पूर्ण जीवन नै समर्पण गरेका राजाप्रति यस्ता लाञ्छनाहरु लगाउनु अतिशयोक्तिपूर्ण देखिन्छ।

कसैकसैले त गोरखाका राजा पृथ्वीनारायण शाहले विलासी जीवनमा रमाई आफू दरबार भित्र बस्थे र जनताका छोराहरुलाई लडाइँमा गर्दन थाप्न पठाउँथे भनी समेत दोषारोपण गरेको पाइयो। तर यथार्थमा नेपालका अरु राजाहरूमा के-कस्तो सोचाइ र कार्य क्षमता थियो भन्न नसके पनि राजा पृथ्वीनारायण शाह यस मामलामा पृथक थिए भनी भन्न सकिने अवस्था छ।

किनकि उनी आफैंले विभिन्न महत्वपूर्ण लडाइँहरुमा नेतृत्व गरी विजय हासिल गरेको ऐतिहासिक दस्तावेजहरूमा प्रशस्त पाइन्छ। यस लेखको मुख्यउ द्देश्य नेपाल एकीकरणको कालखण्डमा पृथ्वीनारायण शाहले पनि धेरै पटक झण्डै आफ्नो ज्यान गुमाएका थिए र सो कुरा प्रष्ट गर्न उक्त घटनाहरूको वर्णन तल गरिएको छ।

नुवाकोटको लडाइँमा पहिलो सफलता

वास्तवमा पृथ्वीनारायण शाहका आफ्ना पिता नरभूपाल शाह नुवाकोटको लडाइँमा आफ्ना योद्धाहरू महेश्वर पन्त र जयन्त रानाको नेतृत्वमा आक्रमण गर्न पठाएको सेनाले हार खानु पर्दा मानसिक सन्तुलन गुमाएका थिए भनिन्छ। इतिहासकारहरुमा यो घटना कुन सालमा भएको थियो भन्नेमा मतैक्यता छैन।

तापनि वि.सं १७९६ सम्ममा नरभूपाल शाह शासन गर्न असक्षम भइसकेका थिए र हारेका दिन अनुचरहरुसँग जंगलमा जानेर रातिमात्र दरबार फर्कने गरेका थिए। यसकारण शासनभार जेठी महारानी चन्द्र प्रभावती र जेठो छोरा पृथ्वीनारायण शाहले संयुक्त रुपमा गर्ने निर्णय गरिएको थियो।

तसर्थ राजा जस्तो मानिसलाई सर्वत्र विक्षिप्त रुपमा घुम्न दिन नहुने र यसले गर्दा गोरखाको बेइज्जत हुने भएकोले राजालाई दरबार भित्रै नजरबन्द गरी यसरी संयुक्त शासन चलाउने निर्णय त्यस बेलाको भारदारी सभाले गरेको थियो।

आफू राजा भएको एक वर्षपछि वि.सं. १८०० मा पृथ्वीनारायण शाहले नुवाकोटमा आक्रमण गर्न गोर्खाली सेना पठाएका थिए तर त्यो पनि असफल भयो। त्यसपछि उनले वि..सं १८०० को अन्त्यतिर बनारस गइ हतियार खरिद गरी ल्याए तथा अर्को आक्रमण १५ असोज १८०१ मा आफ्नै नेतृत्वमा गरे।

यो युद्ध गर्न हुन्न भनी गोरखाली राजालाई सल्लाह दिएको भएता पनि ३५ वर्षका राजा पृथ्वीनारायण शाहले हठपूर्वक सहायक ज्योतिषी बालकृष्ण अर्याललाई राम्रो साइत निकाल्न लगाएका थिए। भनिन्छ, काजी कालु पाँडेका पारिवारिक ज्योतिषिले पनि आक्रमणको लागि यो समय ठीक छैन भनी सल्लाह दिएका थिए। कालु पाँडे लडाइँमा जान आनाकानी गर्दा “तँ लडाइँमा मरिन्छ भनी डराईस्कि क्याहो?” भनी पृथ्वीनारायण शाहले भन्दा उनी लडाइँमा जान बाध्य भएका थिए।

त्यस आक्रमणमा काजी कालु पाँडेलगायत सबै प्रमुख भारदारहरूले भाग लिएका थिए। आफ्ना भाइ दलमर्दन शाहले १४ वर्ष चार महिनाको उमेरमा जेठी तरबार जयन्त रानाको छोरा शङ्खमणि रानाालाई हानी मारेकोले युद्ध सफल भयो। जयन्त राना राजा जयप्रकाश मल्लसँग थप सैनिक सहायता माग्न काठमाडौं गएको बेला यो महामण्डल (नुवाकोट) को युद्ध भएको थियो।

त्यसको केही दिनपछि जयन्त रानाले बेलकोट (नुवाकोटको अर्को अग्लो भेग) आई त्यहीबाट गोरखालीहरुलाई हाँक दिएकोले पृथ्वीनारायण शाहका केही गोर्खाली सेना लिइ बेलकोट आक्रमण गर्न जाँदा जयन्त रानाका सेनाले ठूलाठूला ढुंगाहरू माथिबाट गुडाउँदा २२ वर्षका पृथ्वीनारायण शाह झण्डै ढुंगाले लागी मरेका थिए। तर यो युद्धमापनि जयन्त राना जिउँदै समातिएकाले गोर्खाले विजय हासिल गरेको थियो। पृथ्वीनारायण शाह झण्डै मारिएको यो एउटा घटना थियो।

नुवाकोटमाथि काठमाडौंको प्रत्याक्रमण

काठमाडौँका राजा जयप्रकाश मल्ललाई काठमाडौंका तत्कालीन सेनापति काशीराम थापा र उनका भाइ परशुराम थापाले नुवाकोटलाई पुनःआक्रमण गरी आफ्नो कब्जामा लिन सक्ने विश्वास दिलाई करिब १३०० खस र मगरहरु काठमाडौंको सेनामा भर्ती गरी वैशाख १८०३ मा आक्रमण गर्न गएका थिए।

कुनै ऐतिहासिक दस्तावेजमा यो संख्या ४ हजार अथवा ८ हजारसम्म पनि बताइएको छ जसमा राजा जयप्रकाश मल्लले यी सेना जम्मा गर्न धेरै पैसा खर्च गरेका थिए भनिन्छ। तर २४ वर्षका युवक राजा पृथ्वीनारायण शाहले आफ्नो ज्यान जोखिममा राखी नुवाकोटको यस युद्धको नेतृत्व गरेर काठमाडौँको यो सेनालाई नराम्रोसँग हराइपठाएका थिए।

नुवाकोटको चोक्दे, गेर्खु र हिलेगाउँमा भएको यस लडाइँमा सेनापति काशीराम थापा र निजका भाइ परशुराम थापालाई गोर्खालीहरुले थापागाउँसम्म लखेटी पठाउँदाका हुलेको बाटो गरी भागेर आफ्नो घर पलाञ्चोकमा पुगी दम लिएका थिए। यस लडाइँमा पनि पृथ्वीनारायण शाहले धेरै ठूलो र संख्याको काठमाडौंको सेनालाई आफै युद्धमा हराएको पाइन्छ। यो उनको जीवनको एउटा धेरै नै जोखिमपूर्ण लडाइँ थियो।

साँगा चोकको लडाइँ

पृथ्वीनारायण शाहले शिवराम सिंह बस्न्यातलाई सेनापति नियुक्त गरी वि.सं. १८०३ को कार्तिक महिनामा साँखु, चाँगु, नाल्दुम र महादेव पोखरी कब्जा गर्न ९०० सेना दिई पठाएका थिए। उनी आफू चाँहि मित बुवा राजा रणजित मल्लको भक्तपुर दरवारमा गइ बसेका थिए। यो गोरखाली सेनाले महादेव पोखरी र नाल्दुम क्षेत्र कब्जा गरी सकेको थियो। साँखु र चाँगु कब्जा गर्ने उद्देश्यले साँगा चोक (हाल जहरसिंह पौवा क्षेत्र) मा थर्पु स्थापना गरी राम्रो अवसरको पर्खाइमा थियो गोर्खाली फौज।

पृथ्वीनारायण शाहले मित बुवा राजा रणजित मल्लसँग र भक्तपुरका तत्कालीन सेनापति परशुराम थापासँग सम्झौता गरी यदि त्यस क्षेत्रमा काठमाडौं र पाटन मिली आक्रमण गर्न आएमा भक्तपुरले गोर्खाली सेनालाई मद्दत गर्ने निर्णय गरेका थिए।

चौकोटकोतर्फबाट लड्नेमा सेनापति महेन्द्रसिंह राई र उनका भाइ नाम सिंह थिए। गोर्खालीहरुमा अन्यसँगै समूह प्रमुख जस कर्ण खत्रीले ज्यान गुमाएका थिए भने चौकोटको नेतृत्व गरेका महेन्द्रसिंह राई मारिएका थिए। नाम सिंह राई घाइते भइ आफ्नो पेट आफैं सिलाइ प्यूठानतिर भागेका थिए। दोश्रो दिन निरीक्षण गरी पृथ्वीनारायण शाहले शत्रुपक्ष भएपनि बीरता देखाएकोले महेन्द्रसिंह राईका परिवारलाई क्षतिपूर्ति दिएका थिए।

तर वि.सं. १८०३ फगागुन ५ गते राति काठमाडौं र पाटनको करिब ३ हजार संख्याको संयुक्त सेनाले गोर्खाली सेनामाथि आक्रमण गर्दा भक्तपुरको सेनाले गोर्खाली सेनालाई मद्दत नगरी तेलकोटसम्म आई परशुराम थापाले अगाडि बढ्न दिएनन्। यस लडाइँमा सेनापति शिवराम सिंह बस्न्यात र केही सैनिकहरु मारिए।

यो एउटा भक्तपुरले दिएको नराम्रो धोका थियो। पृथ्वीनारायण शाह युद्ध हेर्न विहानै घटनास्थल पुगेका थिए। त्यस बखत उनको पाल्की बोक्ने एउटा डोलेलाई पनि गोली लागेको थियो। त्यसपछि उनी पाल्कीबाट उत्रेर भक्तपुरतर्फ भाग्न लाग्दा एक जना नेवार किसानले आफ्नो पिठूँमा बोकी भक्तपुर दरवारमा सुरक्षित पु¥याएका थिए। यो पनि एउटा उनको जीवनको जोखिमपूर्ण घटना थियो। यसको वर्णन विक्रमजित हसरतले लेखेको  History of Nepal को पेज १४१ मा पाइन्छ।

कीर्तिपुरमाथि पहिलो आक्रमण

वि.सं.१८०३ देखि वि.सं. १८१४ सम्म गोरखाले लामिडाँडा, दहचोक, सिरानचोक (लमजुङसँग जोडिएको) र काठमाडौको पूर्वको साँखु, चाँगु, नाल्दुम र महादेव पोखरीको अतिरिक्त दोलखासमेत कब्जा गरी आफ्नो सिमाना पूर्वमा दुधकोशीसम्म पुर्‍याइसकेको थियो। पृथ्वीनारायण शाहले दहचोकको डाँडामा एउटा ठूलो सैनिक क्याम्पको स्थापना गरिसकेका थिए। उनी त्यहीबाट तालिम दिई सैन्य सञ्चालन गर्दथे। त्यहाँ उनले करीब १५ वर्षसम्म उक्त सैनिक शिविर सञ्चालन गरेको पाइन्छ।

दहचोकबाट वि.सं.१८१४ जेष्ठ १९ गते शनिबारका दिन उनले कीर्तिपुरमाथि आक्रमण गर्ने निर्णय लिए। कीर्तिपुर पाटन राज्यअन्तर्गत परेतापनि सामरिक महत्वको स्थान भएकोले काठमाडौँ उपत्यकाका तीन मल्ल राजाहरूको लागि यो प्रतिष्ठाको विषय बनेको थियो।

यस लडाइँमा काठमाडौं, पाटन र भक्तपुरको सेनाले संयुक्त रुपमा प्रतिरक्षा युद्ध गरेको थियो। गोर्खाली सेना प्रमुखहरुले यो लडाइँ गर्न हुन्न भनी पृथ्वीनारायण शाहलाई सल्लाह दिएका थिए। गुरुकुलानन्द ढकाललेसमेत साइत राम्रो छैन भनी भनेका थिए भने सेनाको प्रमुख नेतृत्व गर्ने काजी कालु पाँडेले पनि अहिले गोरखाले युद्ध गर्न राम्रो समय नभएको भनी भनेका थिए।

साथै अन्य मुख्य सेना प्रमुखहरुले पनि यो युद्ध गर्न हुन्न भनी गोरखाली राजालाई सल्लाह दिएको भएता पनि ३५ वर्षका राजा पृथ्वीनारायण शाहले हठपूर्वक सहायक ज्योतिषी बालकृष्ण अर्याललाई राम्रो साइत निकाल्न लगाएका थिए। भनिन्छ, काजी कालु पाँडेका पारिवारिक ज्योतिषिले पनि आक्रमणको लागि यो समय ठीक छैन भनी सल्लाह दिएका थिए।

ज्योतिष कुलानन्द ढकालले दिएको साइत अनुसार पृथ्वीनारायण शाहले हिन्दु संस्कृतिलाई सम्मान गरी देवीकुमारीलाई पुजा गरी ढोगेर काठमाडौँको राजसिंहासनमा बिहान ३ बजे विराजमान भएका थिए भनी ऐतिहासिक दस्तावेजमा लेखिएको पाइन्छ। राजा आफैंले सेनाको नेतृत्व गर्नु एउटा जोखिमपूर्ण कार्य थियो।

कालु पाँडे लडाइँमा जान आनाकानी गर्दा “तँ लडाइँमा मरिन्छ भनी डराईस्कि क्याहो?” भनी पृथ्वीनारायण शाहले भन्दा उनी लडाइँमा जान बाध्य भएका थिए। उक्त लडाइँमा जयप्रकाश मल्ल आफैंले काठमाडौंको सेना र पाटनका राजाले त्यहाँको सेनाको नेतृत्व गरेका थिए भन्ने पाइन्छ। भक्तपुरबाट पनि सेना प्रमुखको नेतृत्वमा ठूलो संख्यामा सेनाहरु आएका थिए। यस लडाइँमा काजी कालु पाँडे र अन्य मुख्य सैनिक नेतृत्वसमेत गरी चार सयजना गोर्खालीले ज्यान गुमाएको बारे लेखिएको पाइन्छ। यो गोरखाको ठूलो पराजय थियो।

यस लडाइँमा राजा पृथ्वीनारायण शाहपनि प्रत्यक्ष संलग्न थिए र उनी पाल्कीमा बसी युद्धको समग्र सुपरिवेक्षण तथा निर्देशन दिने काम युद्ध क्षेत्र भित्रैबाट गरिरहेका थिए भनी बुझ्न सकिन्छ। यस युद्धमाकालु पाँडे र धेरै गोर्खालीहरु मारिएको खबर उनले पाएपछि उनी युद्ध क्षेत्रबाट दहचोक तीर जाँदै गर्दा विपक्षी सेनाका सिपाहीहरुले उनलाई पाल्की भित्र देखी तरवारले काट्न खोज्दा अर्को एक सैनिकले युद्धमा राजालाई सिपाहीले मार्नु हुँदैन, त्यसो गर्न अर्को राजाले मात्र सक्दछ भनी विवाद गरिरहेको मौका छोपी गोरखाली सिपाही जयकृष्ण थापामगरले पाल्की दौडाउनेआदेश दिएर दहचोक पुर्‍याइ त्यहाँबाट पनि पृथ्वीनारायण शाहलाई रातारात गरी नुवाकोट दरबार पुर्‍याएका थिए।

यस घटनाबाट पृथ्वीनारायण शाह आफ्नो जिउ ज्यान जोखिममा राखी आक्रमणको नेतृत्व गर्न युद्धभूमिमा आफैँ पुग्दथे भन्ने प्रमाणित हुन्छ। यस युद्धमा उनले झण्डै आफ्नो ज्यान गुमाएका थिए।

चौकोट विजय (१८१८), मकवानपुर कब्जा र मिर कासिमसँग लडाई (१८१९)

पृथ्वीनारायण शाह जहिलेपनि गोर्खाली सेनाहरुसँगै नै हुन्थे। उदाहरणका लागि उनी चौकोटको लडाइँमा विजय भएको भोलिपल्ट नै युद्धस्थल निरीक्षण गर्न पुगेका थिए जसमा जम्मा गरी ३३२ गोर्खालीहरुले ज्यान गुमाएका थिए। युद्धमा सानो डाँडाको टुप्पोलाई कब्जा गर्नु पर्ने थियो तर चौकोटका सेनाले गोर्खाली फौज बिरुद्ध ठूलो बहादुरी देखाएका थिए।

अन्तिम विजय वि.सं. १८१८ जेष्ठ ३० गते भएको थियो तर त्यसको पन्ध्र दिन अघि भीषण लडाइँ हुँदा १३१ जना गोरखालीले ज्यान गुमाएका थिए भने बिजयी भएको दिनपनि २०१ जना गोर्खाली सेनाले ज्यान गुमाएका थिए। चौकोटकोतर्फबाट लड्नेमा सेनापति महेन्द्रसिंह राई र उनका भाइ नाम सिंह थिए। गोर्खालीहरुमा अन्यसँगै समूह प्रमुख जस कर्ण खत्रीले ज्यान गुमाएका थिए भने चौकोटको नेतृत्व गरेका महेन्द्रसिंह राई मारिएका थिए।

नाम सिंह राई घाइते भइ आफ्नो पेट आफैं सिलाइ प्यूठानतिर भागेका थिए। दोश्रो दिन निरीक्षण गरी पृथ्वीनारायण शाहले शत्रुपक्ष भएपनि बीरता देखाएकोले महेन्द्रसिंह राईका परिवारलाई क्षतिपूर्ति दिएका थिए। यो लडाइँमा रन्या उर्फ बाङया बस्न्यातले गोर्खालीहरूको नेतृत्व गरेका थिए।

विक्रम सम्वत् १८१९ भाद्र ९ गते गोर्खालीहरुले मकवानपुर राज्य विजय गरेका थिए। पृथ्वीनारायण शाह युद्धमाआफैंले नेतृत्व गर्न चाहन्थे र उनी मकवानपुरको ठिंगन भन्ने स्थानमा आइपुगेपछि गोर्खाली सेनापतिहरु र भारदारहरुले उनको व्यक्तिगत सुरक्षालाई ध्यानमा राखी अगाडि बढ्न दिएनन् र उनले ठिगंनबाट नै युद्धको सुपरिवेक्षण र निर्देशन दिएका थिए।

मकवानपुर युद्धमा उनका भाइ मोहद्दाम कीर्ति शाह, बशंराज पाँडे, केहरसिंह बस्न्यात, नाहरसिंह बस्न्यात, अभिमानसिंह बस्न्यात, रामकृष्ण कँुबर, रन्या (बाङ्या) बस्न्यात आदिहरुले नेतृत्व प्रदान गरेका थिए। वि.सं. १८१९ को पुष २७ गतेदेखि माघ १० गतेसम्म बंगालकानवाफमिर कासिमको ठूलो फौज विरुद्ध गोर्खालीहरुले मकवानपुरमा भिषण युद्ध गरेका थिए।

मकवानपुरका राजा दिग्बन्धन सेन र मन्त्री कनक सिंह बानियाँको अनुरोधमा मिर कासिमले गुरगीन खाँको नेतृत्वमा गोर्खालीहरु विरुद्ध मकवानपुरमा सेना पठाएका थिए। त्यस युद्धमा पनि गोर्खालीहरुले १७ सय मुस्लिम सेनालाई मार्न सफल भए भने अरु बाँकी सेनालाई लखेटी भगाएका थिए। उक्त युद्ध सकिएको भोलिपल्ट नै युद्धस्थल निरीक्षण गरी पृथ्वीनारायण शाहले आफ्नो सेनाको हौसला बढाएका थिए। सबैलाई युद्ध जितेकोमा धन्यवाद दिँदै सरदार बाङ्या बस्न्यातलाई पुरस्कार पनि दिएका थिए।

काठमाडौँ विजय

वि.सं.१८२५ असोज १३ गते इन्द्रजात्राको दिन भएको यस आक्रमणमा गोर्खाली सेनाले तीन तिरबाट आक्रमण गरेको थियो। एउटा टुकडीले नरदेवी तिरबाट, अर्को टुडिखेल तिरबाट र अर्कोले भिमसेनस्थान तिरबाट आक्रमण गरेको थियो। भीमसेन स्थानतिरबाट आएको सैनिक टोलीको नेतृत्व स्वयं पृथ्वीनारायण शाहले गरेका थिए।

काठमाडौं विजय भएपछि राजा जयप्रकाश मल्ल आफ्नो ३०० नगरकोटी सेनासहित राति वाग्मती नदी तरेर पाटनतिर भागेका थिए। ज्योतिष कुलानन्द ढकालले दिएको साइत अनुसार पृथ्वीनारायण शाहले हिन्दु संस्कृतिलाई सम्मान गरी देवीकुमारीलाई पुजा गरी ढोगेर काठमाडौँको राजसिंहासनमा बिहान ३ बजे विराजमान भएका थिए भनी ऐतिहासिक दस्तावेजमा लेखिएको पाइन्छ। राजा आफैंले सेनाको नेतृत्व गर्नु एउटा जोखिमपूर्ण कार्य थियो।

भक्तपुर विजय र पृथ्वीनारायण शाहलाई मार्ने षड्यन्त्र

यसैगरी वि.सं.१८२५ असोज २४गते पाटन विजय भयो र त्यसको १३ महिनापछि अर्थात १८२६ मंसिर १ गते भक्तपुर विजय भएपछि नेपालमा ३७५ वर्ष अघिदेखि चल्दै आएको मल्ल वंशको राज्यसत्ता काठमाडौँ उपत्यकाबाट सदाका लागि समाप्त भएको थियो।

भक्तपुरमा जम्मा तीन दिन अर्थात् कार्तिक २९ र ३० गते तथा मंसिर १ गतेसम्म लडाइँ भएको थियो। जसमा पृथ्वीनारायण शाह आफ्नो कान्छा भाइ शुरप्रताप शाहले नेतृत्व गरेको सैनिक समूहसँगै दोश्रो दिन कात्तिक ३०गते शनिबार राति ९ बजेतिर भक्तपुरको पूर्वी ढोकाबाट भक्तपुर प्रवेश गरेका थिए। भक्तपुर विजय हुँदा उनी भक्तपुरभित्र नै थिए र आफ्ना सेनालाई निर्देशनहरु दिइरहेका थिए भन्ने कुरा पुष्टि हुन्छ।

हालसालै यस सन्दर्भमा ग्रन्थकार श्री देवीचन्द्र श्रेष्ठको “भक्तपुरमा गोर्खाली हमला” शीर्षकको कितावमा उल्लेखित राजा रणजीत मल्लको सहायक गरुड नारायणले वि.स.१८४६ मा लेखेको ऐतिहासिक दस्तावेजबाट प्रष्ट हुन आएको छ। राजापृथ्वीनारायण शाहनै विपक्षीहरूको मुख्य किल्ला भित्र छिर्नु एउटा जोखिम युक्त घटना थियो जसमा उनको सजिलै ज्यान जान सक्थ्यो।

पृथ्वीनारायण शाहबाट मल्ल वंशका सबै राजाहरुलाई परास्त गरी काठमाडौँ उपत्यकामा अधिपत्य जमाएपछि काठमाडौंका राजा जयप्रकाश मल्लले मन्दिरका गरगहना र गजुरसमेत बेची धेरै तलव दिएर राखेका कुमाउ, गडवालदेखि काँगडासम्मका ३०० नगरकोटी सेनाहरु बेरोजगार भइ पाटन र भक्तपुरतिर बसिरहेका थिए।

तिनीहरूलाई भक्तपुरका राजा रणजित मल्लका ल्याइतेपट्टिका छोरा अभद्यूत सिंह र चौदण्डीका राजाकर्ण सेनले आफ्नो हातमा लिइ पृथ्वीनारायण शाहको हत्या गरी नेपालमा उथलपुथल गरी सत्ता हत्याउन षडयन्त्र गरेको पाइएको थियो। पृथ्वीनारायण शाहले यस कुराको छनकपाई आफूले सुबेदारमा नियुक्त गरेका चौदण्डीका पुराना भारदार स्वरुप सिंह कार्कीको पनि यस षड्यन्त्रमा हात हुन सक्छ भनी बुझ्न भक्तपुर गएका थिए।

तत्कालै श्रीहर्ष पन्थले तरबारले हानी भवानी सिंहलाई घाइते बनाई नियन्त्रणमा लिइ हाले। यो देखेर आफ्नो ज्यान जोगाएका काजी श्रीहर्ष पन्थलाई बिजुली चम्केको जसरी तुरुन्तै भवानी सिंहलाई सख्त घाइते बनाई नियन्त्रणमा लिएको देखेर उनलाई ‘बिजुलीपन्थ’ भनेर प्रशंसा गरी नाम राखिदिएका थिए। यस घटनामा पृथ्वीनारायण शाहको ज्यान झण्डै गएको थियो। यस घटनाको पूर्णरुपमा जाँचबुझ गरेपछि करिब २०० नगरकोटी सेनाहरु नेपाली सेनाहरुद्वारा मारिएका थिए।

उनी भक्तपुरबाट वि.सं.१८२७ चैत्र ११ गते काठमाडौंतर्फ पाल्कीमा बसी फर्कँदै थिए। उनी काजी श्रीहर्ष पन्थसँगै केही सैनिकहरुका साथमा थिए। त्यही समयमा भक्तपुरको सिद्धपोखरीनिर रहेको ह्वाँह्वाँपाटीमा आइपुग्दा घोडामा केही नगरकोटी सैनिकहरुकासाथ तिनका सरदार भवानी सिंहसमेत आइरहेको देखियो।

पृथ्वीनारायण शाहले श्रीहर्ष पन्थलाई सचेत गराइहाले। सरदार भवानी सिंहले नजिक आई पृथ्वीनारायण शाहमाथि अकस्मात तरबारले आक्रमण गरेर उनले हानेको तरबारको मार पाल्कीको माथिल्लो काठमा लाग्यो। तत्कालै श्रीहर्ष पन्थले तरबारले हानी भवानी सिंहलाई घाइते बनाई नियन्त्रणमा लिइ हाले।

यो देखेर आफ्नो ज्यान जोगाएका काजी श्रीहर्ष पन्थलाई बिजुली चम्केको जसरी तुरुन्तै भवानी सिंहलाई सख्त घाइते बनाई नियन्त्रणमा लिएको देखेर उनलाई ‘बिजुलीपन्थ’ भनेर प्रशंसा गरी नाम राखिदिएका थिए। यस घटनामा पृथ्वीनारायण शाहको ज्यान झण्डै गएको थियो। यस घटनाको पूर्णरुपमा जाँचबुझ गरेपछि करिब २०० नगरकोटी सेनाहरु नेपाली सेनाहरुद्वारा मारिएका थिए।

उपसंहार

यस्ता किसिमका घटनाहरु राजा पृथ्वीनारायण शाहको जीवनकालमा अन्य पनि घटेको पाइन्छ । वनारस भ्रमणको बेलामा गुण्डाहरुले दुःख दिँदा १०–१५ गुण्डाहरुलाई काटेको घटनादेखि गोमतीको किनारमा रहेका मुस्लिम भन्सार अधिकृतहरुले गोर्खालीहरुले ल्याएको हतियारहरु जफत गर्न खोज्दा ती अधिकृतहरुलाई छपाछप काटी गोरखपुर हुँदै बुटवल पुगेका घटनाहरु पनिछन्।

त्यसैगरी युवराज हुँदा आफ्नो डोला लिन मकवानपुर जाँदा जुत्ता नफुकाली सलाम गरेको झोकमा ती सिपाहीलाई मारी दिएको डरलाग्दो घटना पनि छ। यस घटनामा त्यहाँका युवराज दिग्बन्धन सेन र मन्त्री कनक बानियाँले पृथ्वीनारायण शाहलाई मार्न खोजेका थिए। तर राजा हेमकर्ण सेनले जस्तै भएपनि आफ्नो ज्वाइँ भएकोले मार्न हुन्न भनी ती दुवैलाई सम्झाएका थिए।

हालसम्म नेपालमा राज्य गरेका थुप्रै लिच्छवी,मल्ल र शाह राजाहरु मध्ये पृथ्वीनारायण शाहमात्र यस्ता राजा देखिन्छन् जसले राजनैतिक दाउपेच, आर्थिक मामलामा नियन्त्रण, प्रभावकारी गुप्तचर सञ्चालनदेखि लिएर राज्यका सेना परिचालनजस्ता हरेक संस्थाहरुमा आफ्नो पकड राखी युद्ध सञ्चालनसमेतको नेतृत्व प्रदान गरेका र नेपाललाई एकीकरण गर्न सफल भएका थिए।

उनलाई राम्ररी बुझ्न नसक्नु हामी नेपालीहरु खासगरी नेताहरुकै कमजोरी हो भन्दा अतिशयोक्ति नहोल। यस्ता पराक्रमी, यशश्वी व्यक्ति नेपालमा नजन्मिएका भए आज हामी नेपालीको विश्वसामु कुनै परिचय हुने थिएन भन्न सकिन्छ। यस्ता महापुरुष महान् व्यक्तित्वलाई उहाँको ३०० औंं जन्म दिवसमा शतशत नमन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *