व्यंग्य : अरुमा अनेकता खाने कुरामा एकता – Dcnepal

व्यंग्य : अरुमा अनेकता खाने कुरामा एकता

अहिलेको झण्डै तिन सय बर्ष अगाडि एउटा सानो राज्यमा जन्मेका एकजना राजाले एकताको बाजा बजाएर र देशलाई एक सुत्रमा सजाएर छाडेर गए भन्ने कुरा भजाएर खानेहरुलाई बर्तमानमा सबैलाई कजाएर खाने विद्वानहरुले पत्याउने सवालै हुँदैन।

उहिले जन्मेका राजा, न स्कूल देखे न कलेज गएर नलेज बढाए न बाबु बाजेले बिदेश पठाएर पढाए खाली दाल भात खुवाएर यतै सढाए। त्यस्ता मुर्ख अनपढ देश र दुनियाँ नदेखेका अनि पढेर एक अक्षरपनि नलेखेका तिनको के को बुद्धि के को ज्ञान?

तिनले देशलाई एक सुत्रमा बाँधेर र उत्तर दक्षिणका ठूला राज्यहरुसितसमेत शत्रुता साँधेर भएपनि तिनीहरुलाई यता छिर्न दिएनन् रे भनेको सुन्दा जनताले पत्याउने कुरै भएन। त्यति नचाहिँदो काम वा नकाम गर्ने र सामन्ति सोचसहितको काममा अघि सर्ने राजाले गरेका सबै कामहरु पक्कापनि अति सामन्तिभन्दा अरु केही होइन।

बाँचुन्जेल लडाईँ मात्रै गरेर र देशलाई एक बनाउने बहानामा लड्दा लड्दै मरेर गएकोले तिनको आत्मा तरेर पुग्न पर्ने ठाउँमा नपुगेको हो कि भनेर एकथरी मान्छेहरु तिनकै गुनगानमा अघि सरेर हिँडिरहेका देखिन्छन्।

ती राजा अति मुर्ख असभ्य अनपढ अधर्मी निर्दयी लोभी पापी आदि सबै दुर्गुणहरुले भरिपूर्ण थिए रे भनेर अहिलेका अति सुयोग्यहरुले बताएर जनताले थाहा पाए।

तीनको तस्बीर बोकेर बर्षको एकचोटी सानो जुलुस र सभा गर्ने अनि अहिलेका अति सुसंस्कृत छोटे राजाहरुलाई आँखा तर्ने काममा अघि सर्ने गरेको देख्दा राष्ट्रिय ढुकुटीमा चर्ने मौका पाइन्छ कि भनेर हिँडेको भनेर आक्षेप लगाउनेहरु सिंहदरबारतिर सात समुद्र पारितिरका महापुरुषहरुको तस्बीरमा माल्यार्पण गरिरहेको अपूर्व दृश्य देखिनु ज्यादै राम्रो कुरो हो।

ती राजाले उ बेलामा बोलेका र दिब्य उपदेश भनेर मनपेट खोलेका कुरा अहिले अति नै असान्दर्भिक देखिएका छन्। तीनले राज्यशक्तिका श्रोतहरुको सही पहिचान र सन्तुलित प्रयोग, तीनको तयारी उपयोग जगेर्ना र सुरक्षाका बारेमा बोलेका कुरा, सन्तुलित परराष्ट्र सम्बन्ध र नीतिहरुका बारेमा बोलेका कुरा, भ्रष्टाचार रोक्न र भ्रष्टाचारीलाई नराम्रोसित ठोक्न दिएका अर्ति, आफ्नो कला संस्कृति परम्परालाई कायम राख्ने र बढावा दिनपर्ने कुरा, उद्योग र आर्थिक उपार्जनका अर्ति उपदेश,जनताको समृद्धिका कुरा आदि सबै हावादारी नै रहेछन् भन्ने जनतालाई अहिले आएर छर्लङ भयो।

तीनले मुर्ख किसिमले एउटै ठूलो देश छोडेर नगएको भए अहिले भूमाफियाको ल्पटिङ शैलीमा देशको लागि होइन नेताहरुको लागि अति आवश्यक रहेको संघीयता जस्तो आयातित ब्यबस्था लागू गर्न अरुको जमिन सापट वा भाडामा लिनपर्ने र त्यसको लागि ज्यादै ठुलो मूल्य दिनपर्ने हुनसक्थ्यो होला। हुनत अहिलेपनि संघीयताको लागि ठूलै मूल्य चुकाएको र भित्री वास्तबिक कुरा चाहिँ गुपचुप गरेर लुकाएको सबैलाई थाहा भइसकेको छ।

अनपढ र मुर्खले जहिले गरेका भएपनि ती कामको कुनै महत्व नहुने र त्यसले जनतालाई कतैबाटपनि नछुने रहेछ भनेको सोह्रैआना सही रहेछ भन्नेपनि सबैलाई थाहा भयो। आफू मुर्ख अनपढ र बुद्धिहीन भएकैले तिनले देशलाई एकीकरण गरेछन् र भविष्यका सन्ततिपनि आपूmजस्तै मुर्ख भएर बसुन् भनेर काम न काजको उपदेश भन्ने अर्तिबुद्धि दिएर मरेछन्।

यो भन्दा गलत र नचाहिँदो काम अरु हुनै सक्दैन अनि यस्ता हावादारी कामले जनताको मनमष्तिस्कलाई छुनै सक्दैन। तिनले एकीकरणको लागि राम्रोसित समन्वय गरी प्रयोग गरेका भनिएका र उत्कृष्ट रणनीतिमा गनिएका कुटनीति सूचना सैनिक र आर्थिक पक्ष त झनै हावादारी रहेछन् भन्नेपनि अहिलेका बुद्धिजीविहरुबाट थाहा भयो।

तीनले यो मुर्खतापूर्ण काम गरेर देशलाई एकीकरण नगरिदिएको भए तिनले लड्दालड्दै मर्न र अनेक खाले दुख गर्न पनि पर्दैनथ्यो अनि अहिलेका पठित शिक्षित सुसंस्कृत बुद्धिजीबि आदिबाट अति सामन्ति र मुर्ख भन्ने शब्दपनि झर्दैनथ्यो।

राजा भएर दरबारमा मोजमस्ति र कहिलेकाहिँ घुमघामसहितको रमाइलो गस्ती गरेर जीबन बिताएको भए अहिलेको पुस्ताले चिताएको सबै रमाइला कार्यहरु भोगेर आरामले गइन्थ्यो र ज्यादै असल राजा भइन्थ्यो भनेर नबुझ्नु नै यिनको सबैभन्दा ठुलो मुर्खता हो।

सानासाना र धेरै टुक्रामा टुक्रिएको देशलाई यिनले एकीकरण हो कि खोसखास पारेर अनि धेरै राजाहरुलाई सिंहासनबाट झारेर अत्याचार नगरेको भए अहिलेका शासक र विद्वानहरुलाई यस्तो दुख पर्ने नै थिएन।

त्यसो नगरिदिएको भए अहिलेका जान्नेसुन्ने र मान्नेगुन्ने भनिएका र ठूलाठालुमा गनिएका सबैले दक्षिणका शहरहरुमा आफ्नो क्षमता अनुसारको मजदुरी गरेर त्यताका सेठ र महाजनहरुको लातमुक्का खाँदै शानदार जीवनयापन गरिरहेका हुन्थे होलान्।

अहिले बिदेशीहरुसित भएको लम्पसारवादी चरित्र देखाउन पर्ने र आफूजस्तो राष्ट्रवादी अर्को कोही छैन भनेर लेखाउन पर्ने आवश्यकता नै पर्दैनथ्यो। आधार कार्ड र राशन कार्ड बनाउन र म पनि त्यसको हकदार हुँ भन्ने जनाउन भनसुन र चाकडी गर्दै हिँड्न पाइन्थ्यो।

आफ्नै पासपोर्ट आफ्नै नागरिकता भनेर सबैतिर ठाडो शिर पारेर हिँड्ने बेकारको झन्झट पनि आइ पर्दैनथ्यो। दक्षिणकै माइबापहरुले लादेको राजनैतिक भारी बोकेर उनैले छादेको आदेश र निर्देशनलाई शिरोपर गर्दै सधैंभरी त्वंशरणम् मुद्रामा भित्रभित्र लम्पसार पर्ने अनि त्यतै फर्केर गाली गरेजस्तो नाटक गर्ने कामपनि गर्न पर्दैनथ्यो।

छुट्टै देशको कुन्नि केके हैसियतमा इज्जत पाउनुभन्दा उतैको सामान्य रैती भएर हिँड्न पाउँदा छाती फुलेर ठूलो पार्दै मन लागे अनुसार सरकारी नगद खल्तीमा हुलेर ठूला कुरा गर्दै लाज शरम पचाएर सबैलाई धम्काउन तर्साउन पाइँदैनथ्यो होला। त्योपनि एउटा दुख नै हो।

जतिसुकै पढेपनि र क्षमता बाहिर कृत्रिम तरिकाले जतिमाथि बढेपनि यिनीहरुको औकात बुद्धि ब्यबहार अनुसार उताको गोठाले हैसियतभन्दा माथि जबरजस्ती चढेपनि त्यसको सबै आधार तिनै मुर्ख राजाले आर्जन गरेर जोगाइदिएको माटो नै यी सबैको बाटो हो भन्ने प्रतिगामीहरुलाई जनताले दपेट्न पर्ने प्रष्ट देखिन्छ।

ती राजाले राष्ट्रलाई एकसुत्रमा बाँधे र राष्ट्रिय एकतालाई मजबुत पारे भन्ने गफपनि हावादारी नै रहेछ भनेर जनताले बल्ल चाल पाए। देशमा एकताको कुनै आवश्यकता र जरुरी रहेनछ भन्ने त अहिले आएर सबैलाई छर्लङ भयो अनि देश जोडतोडकासाथ त्यतैतिर गयो।

देशको कुरै छोडौँ घरमापनि एकता नचाहिने बस्तु रहेछ भन्ने सबैले बुझे यो बुझाउन सक्ने र यो नै सही काम हो भनेर दिनदिनै बक्ने काम अहिले शासन चलाउने आसनमा रहेर सरकारि रासन खाइरहेका, खाइसकेका र भविष्यमा खानका लागि मुख आँ पारेर बसेका सबैले गरिरहेका छन्।

एउटै घरका परिवारका सदस्यहरुपनि बिभिन्न दलहरुमा बाँडिएको हुनाले पारिवारिक एकतासमेत सबैतिर भाँडिएको देख्ने मुर्खहरुलाई प्रजातान्त्रिक ब्यबस्थाको ज्ञान नहुनु बाहेक अरु केही होइन।

यहाँपनि गठबन्धन टुट्ला र बल्लबल्ल अनेक तरिकाको सेटिङबाट हात लागेको कुर्सी छुट्ला अनि बिरोधी तत्वले त्यसको मजा लुट्ला भन्ने डर बाहेक केही छैन। कुर्सीको मोहले जुटाएको एकतालाई नै अहिले सबैभन्दा बलियो राष्ट्रिय एकता मान्ने र यसैलाई देश र जनताको लागि अपरिहार्य ठान्ने सद्बुद्धि सबैलाई आएकोमा जनता धन्य भएका छन्।

एउटै परिवारका सदस्यहरु बिभिन्न बादमा विभक्त हुनुपनि स्वाभाविकै हो। व्यक्तिगत सोचाइ जेसुकै भएपनि परिवार मिलेर बसेकोभन्दा एकतालाई निलेर घर झगडाबाट फाइदा उठाउनेहरुले यसलाई ज्यादै ठूलो उपलब्धि मानेका छन् र यसलाई अझ बढी भत्काउन सकिन्छ भनेर राम्ररी जानेका छन् अनि टाठाबाठाले यही सद्बुद्धिलाई भजाएर बिदेशीबाट मनग्य नगद तानेका छन्।

जसरी भएपनि नगद कमाउनु र त्यसैमा रमाउनुलाई मूल पेशा बनाएकाहरुलाई यसबाट सारै राम्रो भएको छ। यिनीहरुको दृष्टिकोणबाट हेर्दा ति राजा साँच्चिकै मुर्ख ठहरिन्छन्।

उनले उहिले सानासाना राज्यहरुलाई समेटेर एउटै ठूलो देश बनाएर आफ्ना उत्तराधिकारीलाई बुझाएर गएका हुनाले अहिले ल्पटिङ शैलीमा अंशबण्डा गरेर थैली भित्र्याउन पाइएकोमा सबैले गर्व गर्नपर्छ।

आफ्ना बाबुबाजेले कमाइदिएर छोडेर गएका जग्गा जमिन अहिलेका भाग्यमानी पुस्ताले टुक्र्याएर बेच्दै खाँदै गरेर बाबुबाजेलाई सम्पत्तिको सदुपयोग गरेर मोज गर्न नजान्ने मुर्खको कोटीमा नतान्ने कोही नभए जस्तै हो।

तीनले मुर्ख किसिमले एउटै ठूलो देश छोडेर नगएको भए अहिले भूमाफियाको ल्पटिङ शैलीमा देशको लागि होइन नेताहरुको लागि अति आवश्यक रहेको संघीयता जस्तो आयातित ब्यबस्था लागू गर्न अरुको जमिन सापट वा भाडामा लिनपर्ने र त्यसको लागि ज्यादै ठुलो मूल्य दिनपर्ने हुनसक्थ्यो होला। हुनत अहिलेपनि संघीयताको लागि ठूलै मूल्य चुकाएको र भित्री वास्तबिक कुरा चाहिँ गुपचुप गरेर लुकाएको सबैलाई थाहा भइसकेको छ।

राष्ट्रिय एकताको कुरा गर्दा दल, आयातित बाद, बिचार, सिद्धान्त, स्वार्थ, उक्साहट, नक्कल आदिका कारणले कतिपय घरमै बाबुछोरा दाजुभाइ दिदीबहिनी श्रीमानश्रीमती आदिको बीचमापनि एकता नभएर र एउटै बिचारमा नगएर सारै उत्कृष्ट खालको अभ्यास गराउन सफल शासक र बुद्धिजीविीहरुलाई सबैले बधाइ र धन्यबाद दिनैपर्छ अनि उहाँहरुले यति ठुलो प्रयास गर्दै घरबाटै बिचारहरुको प्रतिनिधित्व गराएकोमा संसारकै सबैभन्दा बुद्धिजीविको रुपमा लिनैपर्छ।

यही सिलसिलामा पालिकाहरुमा एकताको तालिका हेर्ने हो भने भित्रभित्र सारै राम्रो चित्र देख्न पाइन्छ। प्रमुख वा अध्यक्ष एउटा दलको, उपप्रमुख वा उपाध्यक्ष अर्कै दलको, सदस्यहरु बिभिन्न दलको, कर्मचारीहरु बिभिन्न दलका आदि भएकाले र सबै एकअर्काको खुट्टा तान्नेतर्पm गएकाले एउटाले उद्घाटन गर्ने अर्कोले बिरोध गर्ने।

एउटाले शिलालेख राख्ने अर्कोले मेटाउने वा उखेलेर मिल्काउने। एउटाले कामको सुरुवात गर्ने अर्कोले तालाबन्दी गरेर दुनिया हँसाउने अद्भुत दृश्यहरु देख्न पाएर जनताले राम्रोसित रमाइलो गर्न पाएका छन्।

प्रदेशहरुमापनि त्यस्तै रमाइलो भएको सुनिन्छ। प्रदेशहरुमा जनताको लागि कुनै काम भएको समाचार सुन्न नपाएपनि प्रदेश प्रमुखहरु र मुख्यमन्त्रीहरु बारम्बर फेरिएको समाचार वर्षमा एकदुइ चोटी सुन्ने सौभाग्य पाउँदा जनता धन्य भएका छन्।

अझ मुख्यमन्त्रीको कुर्सी जोगाउने जस्तो पबित्र र जनवादी कामको लागि चाहेजति मन्त्रालय फुटाउने र माननीयहरुको लागि मन्त्री पदको कुर्सी जुटाउने कार्यलाई त जनताले ज्यादै क्रान्तिकारी कदमको रुपमा लिएका छन्।

यसो हेर्दा संसदको अबधि सकिने बेलासम्म अलि बरिष्ठ सबै माननीयहरु मुख्यमन्त्री र अरु सबै माननीयहरुले मन्त्री पद पड्काउने अनि शानदार तरिकाले इतिहासमा आफ्नो नाम अड्काउनेमा खासै शंका गर्न पर्दैन होला।

सबै प्रदेशमा दलहरु, सरकार, माननीयहरु, सरकार बाहिरका नेताहरु, सरकारका अरु अंगहरु आदि कसैमापनि एकताको आवश्यकता नभएको सबैले महसुस गरेको हुनाले त्यहाँपनि एकताको खासै जरुरत रहेनछ भन्ने सबैलाई लागेको र यही मूल आधारमा प्रदेशहरु जागेको देख्न पाउनु ज्यादै राम्रो कुरा हो।

यहाँपनि मुख्यमन्त्री एउटा दलको मन्त्री अर्को दलको भएर बेलाबेलामा हैरानी बेहोर्न परेपनि र उनिहरुले मनलाग्दी निर्णय गरेपनि जसरी हुन्छ कुर्सी टिकाउने र जुनसुकै शर्तमापनि आफ्नो बोली बिकाउने अनि सबैको झोली भरिदिएर भएपनि सबै दलका टोलीलाई दामासाही भागबन्डा गरेर मिलाउनुलाई नै कुर्सी बचाउने अचुक गोली मान्ने काम ज्यादै प्रजातान्त्रिक कार्य अन्तरगत पर्ने रहेछ भन्ने जनताले बुझेका छन्।

प्रदेश सरकारले खाने खुवाउने र एकअर्कालाई समस्यामा पारेर रुवाउने बाहेक अरु कुनै काम गर्न नपर्ने रहेछ भन्नेपनि जनताले राम्ररी थाहा पाइसके जस्तो छ। प्रदेशको सरकारमा बसेर केन्द्रको गठबन्धनको नक्कल गर्ने बाहेक अरु अक्कल आउने कुरै पनि भएन। प्रदेश सभामा भएका र केन्द्रमा भाग नपाएर त्यता गएका माननीयहरुलाई आफ्नै ब्यबस्था मिलाउने कामबाटै फुर्सद नभएको बेलामा जनताको लागि केही दिलाउने कल्पना गर्नु राम्रो होइन।

केन्द्रीय सरकारको पनि हालत र अबस्था उही नै छ। पाँच दलीय गठबन्धनको परमादेशीय सरकार एकातिर फर्केको छ, आफ्ना अत्यन्त जनप्रिय मागहरुसहित प्रमुख प्रतिपक्ष महिनौँसम्म संसद अबरुद्ध गरेर चर्केको छ, दलहरु भित्रपनि गुट उपगुट एकअर्का बिरुद्ध झर्केको छ, खाने पाउने मौका नपाएका नेता कार्यकर्ताहरु नेतृत्वसँग तर्केको छ, खाइखेली गर्न पाउने र नपाउने उल्टोउल्टो दिशातिर फर्केको छ र जति प्रजातन्त्रको गुड्डी हाँकेपनि निरंकुश नेतृत्वसँग सबैजना थर्केको छ।

यहाँपनि गठबन्धन टुट्ला र बल्लबल्ल अनेक तरिकाको सेटिङबाट हात लागेको कुर्सी छुट्ला अनि बिरोधी तत्वले त्यसको मजा लुट्ला भन्ने डर बाहेक केही छैन। कुर्सीको मोहले जुटाएको एकतालाई नै अहिले सबैभन्दा बलियो राष्ट्रिय एकता मान्ने र यसैलाई देश र जनताको लागि अपरिहार्य ठान्ने सद्बुद्धि सबैलाई आएकोमा जनता धन्य भएका छन्।

भित्रभित्र केलाएर हेर्यो भने सरकारमा भएका गठबन्धनका शिर्ष नेताहरु एकअर्कालाई भेट्दा हाँसेको मिलेको देखिएपनि मौका पर्नासाथ एकअर्कालाई पल्टाएर ठूलो भाग खान थुक निलेको सबैलाई राम्ररी थाहा छ।

ती पुराना राजाले होली वाइनवालेहरुलाई पनि देश निकाला गरेको हुनाले धर्म संस्कृती बेचेर खाने बरिष्ठ र शिर्ष भनौँदाहरुलाई चोट परेको भएपनि अहिले यसैबाट उनिहरुको सबै इच्छा आकांक्षा टरेको हुनाले ती पुराना राजाको उछित्तो काट्न अघि सरेको हो रे भन्ने हल्लामा जनताको ठ्याम्मै बिश्वास छैन।

बिदेशीको जुठो पुरो होली वाइनलाई अमृत सरह मानेर बिभिन्न तरहका स्तुती गर्न पाउनुलाई अहोभाग्य मान्न पर्नेमा त्यसको बिरोध गरेर सनातन धर्मलाई प्रश्रय दिनु ति राजाको ठूलै गल्ती हो। तीनले त्यसो गरिदिएको र उनीहरुकै शरणमा परिदिएको भए उनलाई अहिलेका होलीवाइनवालाहरुले पनि तारिफयोग्य ठान्थे र आफ्ना गुरु मान्थे होलान्।

अहिले सरकार, प्रतिपक्ष, संसद, अदालत, प्रशासन, प्रदेशका सबै संरचना, स्थानीय तह, पेशागत संघ संस्थाहरु, टोल छिमेक, समाज, परिवार आदि सबैमा एकताको खडेरी परेको देखिएतापनि देशलाई ल्पटिङ गरेको घडेरी जसरी टुक्याएर बाँडचुँड गरि फेरि उही पुरानो भुरे टाकुरे राजाहरुको उदय भएपछि हाम्रो भविष्यको ग्यारेन्टी नहुने कुरै भएन।

देश जनता र अन्य बिकास निर्माणको कामहरुमा दलीय लुछाचुँडी हानथाप दलगत र ब्यक्तिगत निहीत स्वार्थआदि देखिएर एक आपसमा मेलमिलाप र एकता नभएर अनेकता जस्तो देख्दा ती पुराना राजाको आत्माले शान्ति पाएजस्तो देखिन्न।

तर कुर्सीको बाँडफाँड, सरकारी बजेट खर्च गर्ने ठाउँ, मनग्गे कमिशन हात पर्ने ठाउँ, शिर्ष नेताहरुका परिवार र नजिकका नातेदारहरुलाई नियुक्ति दिने कुरा, कमिशनखोर घुसखोर बिचौलियाहरु आदिलाई सुबिधा दिने र त्यसबाट मनग्गे फाइदा लिने कुरा, सुरा सुन्दरी र सांसदहरुको किनबेचका कुरा, चुनावमा टिकट र पछि मन्त्री पद बिक्री बितरणका कुरा, सबै ठाउँका सबै तहका सरुवा बढुवाका कुरा आदि जस्ता बिषयहरुमा यिनीहरुको ज्यादै राम्रो एकता सद्भाव र अद्वितीय सहयोगको आदान प्रदान भइरहेको कुरा थाहा पाउँदा चाहिँ ती पुराना राजाको आत्मा प्रफुल्ल भएको हुनपर्छ।

त्यही भएर अरु सबैतिर अनेकता देखिएपनि खाने र ब्यक्तिगत फाइदा हुने कुरामा सबैको बलियो एकता बिकास हुँदै गएको देखेर जनतापनि सन्तुष्ट छन्।

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो