जिपीमा हड्डीको सफल शल्यक्रिया, जिल्लावासीलाई राहत

डिसी नेपाल
१ माघ २०७८ १८:३७

काठमाडौं । जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा हड्डीको सफल शल्यक्रिया भएको छ । अस्पतालले शल्यक्रिया सेवा दिन थालेपछि तनहुँ, गोरखा, लमजुङ र कास्की जिल्लाका केही आसपास क्षेत्रका नागरिकलाई राहत मिलेको छ ।

सामान्य शल्यक्रियाका लागि पोखरा, चितवन र काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य भएको अस्पतालका निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए । हड्डीको सफलरूपमा शल्यक्रिया गर्न थालिएपछि जिल्लावासी खुशी भएका छन् । उनले भने, “हप्तामा दुई दिन सोमबार र बिहीबार नियमितरूपमा शल्यक्रिया सञ्चालन गर्दै आएका छौँ ।”हातको समस्यासहित उपचारका लागि पुगेका बिरामीको शल्यक्रियामार्फत हातमा प्लेट राख्न सफल भएको हो ।

डा विद्याभूषण ताम्राकार र डा रमेश घिमिरेले अस्पतालमा रहेको सिआर्म मेसिनको माध्यमबाट शल्यक्रिया गरेका हुन्। “अस्पतालमा अन्य सेवा सुविधा थप गर्ने तयारीमा छौँ”, उनले भने, “पछिल्ला समयमा अत्याधुनिक सेवासहितका आधुनिक उपकरण अस्पतालमा जडान गर्ने कार्य गरिएको छ ।”

चालु आवभित्र विशेषज्ञसहितका श्वासप्रश्वाससम्बन्धी उपचार सेवा सुरु गर्ने तयारी भइरहेको डा श्रेष्ठले बताए । नेपाल सरकार र स्थानीयवासीको सहयोगले काम गर्ने थप ऊर्जा मिलेको छ । उनले भने, “सेवा र सुविधाका दृष्टिकोणले नमूना अस्पतालका रूपमा विकास गर्ने लागिएको छ ।”गत आवमा नेपाल सरकारबाट रु सात करोड विनियोजन भएकामा अक्सिजन प्लान्ट, एचडीयू बेड, भेन्टिलेटरसहितको आइसीयूकक्ष र आवश्यक भौतिक पूर्वाधार निर्माण गरिएका जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका लेखा अधिकृत वासुराज दाहालले जानकारी दिए ।

यसवर्ष पनि ओपिडी भवन निर्माणका लागि रु एक करोड ५४ लाख विनियोजित भएकामा ई–टेण्डर खोलिसकिएको उनले बताए।स्व गिरिजाप्रसाद कोइरालाको स्मृतिमा उक्त राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा स्थापना गरिएको हो । विसं २०६७ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको स्मृतिमा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।

सरकारको निर्णयानुसार सोही ठाउँमा रहेको सेतीगङ्गा सामुदायिक अस्पतालको स्वामित्व हस्तान्तरण गरी विसं २०७३ साउन १ गतेदेखि औपचारिकरूपमा श्वासप्रश्वास उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *