राष्ट्रिय भूकम्प सुरक्षा दिवस : समयमा उद्धार र राहत मिलोस् – Dcnepal

राष्ट्रिय भूकम्प सुरक्षा दिवस : समयमा उद्धार र राहत मिलोस्

२०७२ सालको महाभूकम्पमा पंक्तिकार डिल्लीबजार भिक्टर राणाको घरमा थिएँ। महाभूकम्प म र हामी सबैको लागि एम्बुस भयो। हिँड्डुल, चल्न चटपटाउन नदिने एम्बुस। म ३ / ४ घण्टा डिल्लीबजार अड्किएँ।

बालुवाटारको घरमा मेरो भर्खर जन्म भएको नाति र सुत्केरी भान्जी बुहारी थिइन्। नव शिशुको पिर। पितामाताको पनौती कुसाहा देवीको एउटा घरकाे पाखो फ्याँकिदियो भूकम्पले, उहाँहरुकै पिर। श्रीमती पोखरा सेमिनारमा उनकै पिर।

संयोगले साथमा भिक्टर राणाका पिता श्रद्धेय पर्लजंग राणा हुनुहुन्थ्यो। उहाँले १९९० को माघ २ गते गएको महाभूकम्पलाई यो भूकम्पसँग तुलना गरेर आफ्नो अनुभव सुनाउनु भयो ‘ बस्ती बस्तीमा धुलो धुवाको मुस्लो देखिन्थ्यो। माटोका घर भएकाले धुलो उड्नु स्वभाविकै थियो। तर अहिलेको भूइँचालो ज्यादै ठूलो, विनासकारी आतंक मच्याउने खालको छ, खतरा छ।’

मैले उहाँको कथा ध्यानपूर्वक सुन्दै गएँ। ९० वर्ष स्वस्थ, रसिक, मायालु करुणाका धनी बुबाले २ महाभूकम्पबाट बचेको उपलक्ष्यमा मलाई मिठो वाइन र स्वादिष्ट लञ्च बाहिर चौरमा राखेर खुवाउनु भयो। अनि गर्वसाथ भन्नुभयो ‘धरहरा भत्कियो, आधुनिक घरहरु भत्किए। ल हेर्नुहोस्, मैले उ जमानामा आफैंले बनाएको वालसिष्टमको मेरो साधारण घर भत्किएन, कही चर्किएन पनि।’

नेपाल प्राकृतिक विपतको उसै उच्च जोखिममा अरेको सुन्दर तर नाजुक मुलुक हो। हिमाल पहाड तराई नछोइ हरियो बनस्पती भरेर जस्ताको त्यस्तै राख्नु पर्ने देशलाई घाँटी, छाती, कट्टी, नलीखुट्टा काटिदिँदा विपद् बहुलाउदँछ। शक्तिशाली भएर उपद्रो मचाउदँछ। महाभूकम्पको दुई वर्षपछि २०७४ को बाढीले यो क्षति गरेर देखाइसकेको छ। अब धेरै अट्टेर नगर्ने कि? प्रकृतिको दोहन र बिनास तत्काल बन्द गर्नु मनासिव हुनेछ।

बुबाको कुरा सुनेर म भाबुक भएँ। माघ २ को कठ्यांग्रिने महाचिसो थियो। थिचिने च्यापिनेलाई कति जाडो भयो होला? घाइते, घरविहीनलाई उद्धार, राहत ब्यबस्थापन कति कष्टप्रद भयो होला? धन्य, यो वर्ष बैशाख १२ गते दिउँसो भूकम्प आएर उद्धार राहत सहज बनाइदियो।

त्यही माघ २ को महाभूकम्पको दिन पारेर आजको दिवस मनाइन्छ। हरेक वर्ष भूकम्प सुरक्षा ड्रिल गर्दै आएको र पछिल्लो महाभूकम्पमा केन्द्रीय उद्धार इन्चार्ज भएर उद्धार तथा राहतमा योगदान गर्न अवसर पाएको हुनाले आफ्नो अनुभवलाई यो आलेखमा उतारेको छु। मेरो यो आलेखको उद्देश्य र मर्म महाभूकम्पमा परी ज्यान गुमाउनेहरुलाई श्रद्धासुमन अर्पण गर्नु र भावी पिँढीलाई सुरक्षित रहन सुझाव पेश गर्नु रहेको छ।

वरिपरिको भयावह दृश्य

आफूलाई भर्ति गरेको, हुर्काएको, बढाएको, पढाएको जंगी अड्डा चिराचिरा परेर भत्किएको थियो। छेउमा सगौरव खडा सुन्दर राष्ट्रिय स्तम्भ धरहरा गर्लम्मै ढलेर भुइँभरी पोखिएको थियो। अस्तव्यस्त राजधानीका घरहरु भत्किएर धुवाधुलोका मुस्लो उडिरहेको थियो। घरभित्र च्यापिएका मान्छेहरु निस्सासिएर रोइरहेका कराइरहेका थिए।

काठमाडौँ घेर्ने पहाडहरु गोर्खा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, काभ्रेका भिर पाखाहरु थर्कीरहेका उफ्रिरहेका र काँपिरहेका थिए। पहाडका ढुंगा र चट्टानहरु खोला र बेसीतिर हाम फालिरहेका थिए। हिमालयमा हिमपहिरो जाँदा मसरुम आकारका हिम छाताहरुले आकास छेडिरहेका थिए।

हिमाली, पहाडी राष्ट्रिय निकुञ्जका दुर्लभ वन्यजन्तुहरु पहाड चट्टान खसेर लाग्दा ठहरै भएका थिए। कोही भिरबाट पल्टेर घाइते भइ मलमपट्टीको प्रतिक्षामा थिए। भिर पहिरोले सयौं वर्ष लगाएर हुर्केका रुख बिरुवा वन तल खोल्सामा पुर्‍याएर थुपारिदिएको थियो। प्रकृति, वन्यजन्तु, मानवको मिश्रित रोदनले मेरो मन मुटु छियाछिया परेको थियो।

आफू ४ दिन अगाडि सानो जर्नेलमा बढुवा भएर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशक भइटोपलेको थिएँ। मानव जतिकै प्रकृति र वन्यजन्तुको उद्धार संरक्षण गर्नु मेरो प्रमुख जिम्मेवारी हुन्थ्यो नै। मलाइ के खोज्दछन् काना आँखा भयो। जब म केन्द्रीय उद्धार इञ्चार्ज तोकिए। त्यसपछि संकटै संकटको भुमरीमा मेरो हात, खुट्टा र मनको घडीको सेकेन्ड सुई अबिश्राम चलिरहे। मैले असली पंखा रुप धारण गरेँ।

गौरवको सास

छिनमा जङ्गी अड्डा परिसरमा सयौं टेन्टहरु खडा भए। हाम्रा कार्यालय, समिक्षालय, शौचालय सबै पाल भित्र सारिए।  भाग्यले बिमानस्थल बचेको थियो। बत्ति, बाटो, पानीको अवरुद्ध शीघ्र चालु गरियो। नेपाली सेनाका हवाइसाधनहरु साबुत र अपरेशनल थिए।

विपद्मा रमाउने र कमाउने हाम्रो सरकारको नियत छ त्यसको दुखी प्रत्यक्षदर्शी म स्वयम् हु। त्यसैले प्रकृति रक्षा आफू रक्षा हो। प्रकृतिकको दुश्मन पनि सरकार र सरकार संरक्षित सेण्डिकेटहरु हुन। यति ओम्नी बतास जस्तै। भाबी समूहहरुको नाम चट्याङ , बारुद, बम रकेट हुन सक्लान्। विपद्ले दक्ष र देशबासीलाई छियाछिया बनाउँछ। सरकार र सरकार नियन्त्रण गर्ने यी समूहहरुले विपद्लाई भजाएर बेचेर दम कमाउँछन्। मुलुकमा प्रतिबद्ध त्यागी राजनेता र सुशासन नआएसम्म यो दुर्भाग्य दोहोरीरहनेछ। त्यसैले हामी जनता विपद् विश आफै हौँ। उद्धारकर्ता आफैं हौँ।

झन्डै बाथरूममा च्यापिएका प्रधानसेनापतिले दोस्रो जीवन पाए। टेन्टको बास टेन्टको कार्यालयबाट उनले अकल्पनीय उर्जाशील सक्रियता देखाए। उद्धारमा सारा श्रोतसाधन र जनशक्तिलाई हाँसी हाँसी परिचालन गरे।

हिरा जस्ता सिपाहीहरुले घर, परिवार, आफू नभनेर स्वस्फूर्त उद्धारमा हाम फालेको देखेर मैले गौरबको सास फेर्न पाएँ। आफूलाई भाग्यमानी ठानेँ। नेपाली सेनासँगै अन्य सुरक्षा निकायको सक्रियता देखेर नेपालको उज्जल भविष्य देखेँ।

राजनीतिक शून्यता

जताततै नेपाली सेना। नेपाल प्रहरी र सशस्त्र प्रहरी। मिलाप बिच्छेद भएपछि घटनास्थलमा सबै उपस्थित र सबै सक्रिय। सानदार समन्वय र सहकार्य। उत्साहजनक परिणाम पनि। हेर्दाहेर्दै विदेशी उद्धार टोलीहरुको ओहिरो। केन्द्रीय समन्वय कक्ष जंगी अड्डाको पाल विदेशीले भरिभराउ।

फिल्डमा नेपाली सेनाको इन्जिनियर्स फौज, स्पेसल फोर्स, रेञ्जर्स, सिग्नल, एभिएसन, मेडिकल, इन्फ्यान्ट्रीको उच्चतम परिचालन। हाम्रा हवाईसाधनको उद्धार जोड हिमाली र पहाडी क्षेत्रमा थियो।

सास फेर्न फुर्सद नपाउने। मैले ३ हप्तासम्म १ जना राजनीतिक नेता देखिन। ब्युरोक्र्याटस् देख्न पनि दुर्लभ थियो। राजनीतिक शून्यतामा उद्धार कार्य जाँगर र तदारुकताका साथ भइरहेको थियो। मलाई लाग्यो ‘उहाँहरुको रक्षा होस्, पछि पुनर्निर्माण र देश विकासमा उहाँहरुको भूमिका सर्वोपरी हुनेछ।’

रहस्यमय स्वर्गको टुक्रा

विपद निहु बन्यो। संसारका उद्धारकर्मीहरु छिनमा हाम फालेर नेपाल आए। हामीले तिनका हवाइ साधन हेर्न पायौं। उद्धार सामाग्री, क्षमता र परिणाम देख्न पायौं। पश्चिममा मुलुकले उत्तरी सिमामा उद्धार गर्न माग गरे। चीनलाई लुम्बिनी पठाउने न्यारेटिभ तयार गरे।

तर दूरदर्शी र साहसिक सैनिक नेतृत्वले राष्ट्रिय तथस्ठता, राष्ट्रिय धर्म र स्वाभिमानलाई मध्यनजर राखेर उद्धार नियन्त्रण गरे। उत्तर माग्नेलाई दक्षिण पठाए र दक्षिण माग्नेलाई मध्य पहाडमा सीमित राखे। उत्तरी सीमा उद्धार कार्य हामीले आफ्नै हवाईसाधन र आफ्नै अनुभवी पाइलटको सदुपयोग गरेर फत्ते गर्‍याैं

एउटा अमेरिकी हेलिकप्टरले बाटो बिराउँदा दुर्घटनाग्रस्त भयो। उत्तरी सिमानालाई ‘नो गो जोन’ घोषणा गरेर हामीले अरु दुर्घटना रोक्यौँ। तत्कालीन प्रधानसेनापतिले ब्रिटिश जहाजलाई भारतबाट ठूलो अडान कसेर फिर्ता पठाए। म आजसम्म उहाँको त्यो साहसिक कदमकाे कृतज्ञ छु।

विश्वको लागि नेपाल रहस्यमय स्वर्गको टुक्रा रहेछ भन्ने ज्ञानको आँखा मेरो त्यतिबेर खुल्यो, जब यहाँ उद्धार र राहतका नाममा सर्भिलेन्स जहाज, ड्रोन र बाइबलका ठेली ओरालिन थालियो।

राहतमा जात्रा

उद्धारको चरण समाप्त हुनु र राहत वितरण गर्नुमा ओभरल्याप भयो। हराएर भूमिगत भएका मन्त्रीगणहरुको राहत सामाग्री वरिपरी एक्कासी जात्रा लाग्यो। एक दुई पोको राहत समातेर मन्त्री र उहाँहरुका आफन्तजनहरुको भोट ब्यांकमा जाने रस्साकस्सी चल्यो।

सारै उदेक लागेपछि बिमानस्थलमा उद्धार र राहत केन्द्र खोलेर बसेको म इञ्चार्जले संगठन प्रमुखलाई रिपोर्टिङ गरेँ ‘मन्त्रीहरुलाई राहत र हवाईसाधन दिने गाईजात्रा तत्काल बन्द गरौं। र, एकद्वार प्रणालीबाट भोट ब्यांक होइन वास्तविक पीडितहरुलाई औषधि र पछिपछि गास, बास र कपासको राहत सामग्री पुर्‍याउँ। अन्यथा राहत भाडमा जाने र नेपाली सेनाको बदनाम हुने अवस्यम्भावी  छ।’ अर्को दिन प्रधानमन्त्रीको निर्देशन आयो। ‘मन्त्रीहरुलाई राहतको नाममा हवाई साधन र उड्न नदिनु’

म फेरि एकपटक प्रधानसेनापतिप्रति अनुग्रहित भएँ। प्रधानमन्त्री मलाइ राजनेता लाग्यो।

पुनर्निर्माणको पाटो

जब पुनर्निर्माणको चरण सुरु भयो, मेरो सरुवा धनकुटा हिलेस्थित २ बहिनी अड्डामा भयो। दाम कामको लोभी पापी कामबाट टाढा प्रकृतिले सिंगारिएको सुन्दर पहाडमा भएको सरुवालाई मैले आफ्नो उद्धार कार्यको इनाम भन्ठानेँ । हिलेमा प्रकृतिसँग रमाएर प्रकृतिको सेवामा सगौरव दत्तचित्त लगाएँ।

महाभूकम्प आएको ६ महिनासम्म घर जान नपाएका र प्रिय परिवारजनलाई सम्पर्क गर्न नपाएका सैनिकहरुलाई प्राथमिकताका साथ बिदा पठाएँ। घरबास भत्केकाहरुको लिखत उतारेर तिनीहरुलाई घर बनाउन लामो छुट्टी पठाएँ।

राष्ट्रिय पुनर्निर्माण कार्यक्रम माथि कति राजनीतिक हस्तक्षेप भयो भन्नै परेन।

नेपाली सेनाबाट गोर्खा लगायत धेरै ठाउँमा आर्थिक मितब्ययिता अपनाएर शीघ्र तयार गरिदिएका बस्तीहरु पीडितहरुलाई उपहार भए।  धुर्मुस सुन्तली जस्तो त्यागी र तपस्वी फाउन्डेसनको जन्म भयो। उनीहरुको सक्रियतामा नमुना बस्तीहरु बने र पीडितहरुलाई हस्तान्तरण भए।

देखेको र सिकेको कुरा

१९९० को महाभूकम्पले धुलो धुलो पारेको धरहरा रेट्रोफिटिङ गरिदिएको भए भत्किँदैन थियो कि मेरो ब्यक्तिगत अनुमान।

मनपरी बनेका राजधानी का घरहरुमा इञ्जिनिर्यसले रातो टिका लगाइ दिए। कतिलाई रेट्रोफिट गर्न सुझाए।  तर दुखका साथ भन्नु पर्दछ हामीले त्यो सुझाव पालना गरेनौं। अथवा २–४ किला काँटी ठोकेजस्तो गरेर भाडा खान सुरु गर्‍याैं। हरेक ६०–७० वर्षमा दोहोरिने अवस्यम्भावी विपद बोल्दैन, देख्दैन। तर बिपदलाई ठग्दा कतै हामीले आफ्ना भावी सन्ततीहरुलाई त मार्दै छैनौं?

राजधानीको नयाँ भवन निर्माणको ताल हेर्दा र जिल्लाका सदरमुकामहरुमा एम्बुलेन्स र दमकलको बाटो मिचेर बनाइएका क्यान्डिलिभरवाला गगनचुम्बी कुरुप घरहरु हेर्दा हामी भावी विपद् र भावी सन्ततीप्रति पटक्कै सम्बेदनशील छैनौं भन्ने प्रमाणित हुन्छ।

टुँडिखेल, खेल मैदानहरु, पार्कहरु, खुल्ला क्षेत्रहरु हरेक गाउँ बस्ती टोलमा अनिवार्य हुनुपर्ने रहेछ। ब्यारेकका परेड ग्राउण्डहरुले सैयौं पाल टाँगेर समुदायलाई गुन लगाउन सकेकोमा गौरव महसुस भएको थियो।

धार्मिक, संस्कृतिक र ऐतिहासिक सम्पदा नेपालका पहिचान हुन्। गहना हन्। ती सम्पदा ढल्दा नेपाल आमालाई दुख्छ। नउठ्दासम्म मातृभूमिको मुटु थिचिरहन्छ। बिदेशी अतिथिहरुको अगाडि मातृभूमिलाई नग्न बनाए झैं लाज लागिरहन्छ। ती सम्पदालाई तसर्थ उच्च प्राथमिकताका साथ उठाइहाल्नु पर्दछ।

पश्चिममा मुलुकले उत्तरी सिमामा उद्धार गर्न माग गरे। चीनलाई लुम्बिनी पठाउने न्यारेटिभ तयार गरे। तर दूदर्शिता साहसिक सैनिक नेतृत्वले राष्ट्रिय तस्पता, राष्ट्रिय धर्म र स्वाभिमानलाई मध्यनजर राखेर उद्धार नियन्त्रण गरे। उत्तर माग्नेलाई दक्षिण पठाए र दक्षिण माग्नेलाई मध्य पहाडमा सीमित राखे। उत्तरी सीमा उद्धार कार्य हामीले आफ्नै हवाईसाधन आफ्नै अनुभवी पाइलाको सदुपयोग गरेर फत्ते गर्‍याैं

नेपाल प्राकृतिक विपद्को उसै उच्च जोखिममा रहेकाे सुन्दर तर नाजुक मुलुक हो। हिमाल पहाड तराई नछोइ हरियो बनस्पती भरेर जस्ताको त्यस्तै राख्नु पर्ने देशलाई घाँटी, छाती, कट्टी, नलीखुट्टा काटिदिँदा विपद् बहुलाउदँछ। शक्तिशाली भएर उपद्रो मचाउदँछ। महाभूकम्पको दुई वर्षपछि २०७४ को बाढीले यो क्षति गरेर देखाइसकेको छ। अब धेरै अट्टेर नगर्ने कि? प्रकृतिको दोहन र बिनास तत्काल बन्द गर्नु मनासिव हुनेछ।

विपदको उच्च जोखिममा रहेकाे मुलुकले आफ्नो राष्ट्रिय उद्धार, राहत र पुनर्निर्माणको क्षमता अनिवार्य रुपमा बढाउनुपर्दछ। सिप, तालिम, अभ्यासले उद्धारकर्माीलाई माझेर टल्काएर राख्नु पर्दछ। ससानो राहतको लागि हात फैलाउनु हुँदैन बरु राष्ट्रिय स्वाभिमान उच्च राख्न आफूले दिन सक्नुपर्दछ।

अस्ट्रेलियामा २ वर्ष अगाडि कहालीलाग्दो आगलागी नियन्त्रणमा एक वा आधा ल्पाटून फायर फाइटर पठाउन नेपाली सेना र नेपाल सरकारलाई अनुनय विनय गरें। तर पार लागेन।

नेपाली सेनाको अदभ्य साहस र त्याग विपदमा जुटेको देखेर गौरव महसुस गरेँ। यती संबेदनशील र उत्साहित फौज संसारमा कहीँ छैन भन्ने आत्माविश्वास पलायो।

अन्त्यमा सुझाव

यो जनताले बनाएको सजाएको बिचित्र सुन्दर मुलुक हो। जनता नेपालका सबैभन्दा ठूलो शक्तिको स्रोत हन्। नेपालको हकमा परिवर्तन, प्रतिभा र साहसका स्रोत पनि हुन्। त्यसैले महाभूकम्प लगायत विपद्को जानिफकार र उद्धारकर्ता जनता आफैं हुनुपर्दछ।

दूरदराजका १ /२ घर राज्य र सुरक्षाकर्मीका आँखाबाट धेरै टाढा छन्। पहिलो शर्त हामी जनता प्रकृति प्रेमी हुन अपरिहार्य छ। हिमाल पहाड तराईलाई ताछ्ने, खुइल्याउने उदिन्ने झिक्ने बेच्ने प्रकृति बिरोधी काम हामी जनताले रोक्नुपर्दछ।

दोस्रो, हामीले भूकम्प प्रतिरोधी बासस्थान निर्माण गरेर सन्तानको भविष्य सुरक्षित गरिदिनुपर्दछ। आज हाम्रा घरमा भविष्यका कर्णधार च्यापिएर पुरिएर मर्नु हुँदैन।

तेस्रो, महाभूकम्पको सुरक्षा ड्रिल अनिवार्य गर्नु गराउनुपर्दछ। सपनामासमेत देख्ने गरेर। वास्तविक महाभूकम्पमा हामी सबै लाटो मुढा जस्तो हुन्छौं अक्क न बक्क। यो गर्नु कि त्यो गर्नु हुन्छ। कष्ठस्थ सुरक्षा ड्रिलले आड लिन सिकाउँदछ।

चौथो र अन्तिम,  उद्धार सामग्री, फस्र्टएड किट्, खानपिनको ‘गो ब्याग’ को पूर्व इन्तजामले जीवन रक्षा गर्न मद्दत पुर्‍याउदँछ। राजनीतिक रुपमा मुलुक जर्जर र असफल भइसकेको छ। त्यसो हुनुमा हामी जनता धेरथोर हिस्सेदार छौं।

विपद्मा रमाउने र कमाउने हाम्रो सरकारको नियत छ त्यसको दुखी प्रत्यक्षदर्शी म स्वयम् हु। त्यसैले प्रकृति रक्षा आफू रक्षा हो। प्रकृतिको दुश्मन पनि सरकार र सरकार संरक्षित सेण्डिकेटहरु हुन्। यति ओम्नी बतास जस्तै। भाबी समूहहरुको नाम चट्याङ , बारुद, बम रकेट हुन सक्लान्।

विपद्ले देश र देशबासीलाई छियाछिया बनाउँछ। सरकार र सरकार नियन्त्रण गर्ने यी समूहहरुले विपद्लाई भजाएर बेचेर दाम कमाउँछन्। मुलुकमा प्रतिबद्ध त्यागी राजनेता र सुशासन नआएसम्म यो दुर्भाग्य दोहोरिरहनेछ। त्यसैले हामी जनता विपद् विज्ञ आफै हौँ। उद्धारकर्ता आफैं हौँ।

‘सेफ्टी सेक्युरिटी फस्र्ट’ भनेर बृद्धबृद्धा र भविष्यको कर्णधारहरुको जीवन रक्षा गर्न आफैं स्वस्फूर्त अघि सरौँ। आजको दिवसले हामी सबैलाई यही शिक्षा र प्रेरणा दियोस्।

 

 

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो