व्यंग्य : अरु कमाउने, जनता रमाउने

डिसी नेपाल
२ माघ २०७८ ८:४२

देशैभरिका जनताको भलो गर्ने खलो भनेर चिनिएको प्रतिनिधिसभा नामको थलो बन्द भएर सबै काम मन्द भएको धेरै समय भयो रे भनेर हल्ला चलाउनेहरुलाई बालकोटे कामरेडले राम्रैसित ठिक पारिरहेका र सबैको पसिना झारिरहेका अनि सरकारबाट निक्लन परेको रिस यसैमार्फत  मत्थर पार्दै एक्लै बाजी मारिरहेका छन्।

यो प्रतिनिधिसभा दुईदुई पल्ट बिघटन हुँदै अदालतको आदेशबाट व्यूँतदै आएपनि र त्यहाँ भएका माननीयहरु तलब भत्ता र सुबिधा बुझ्को लागि मात्रै त्यहाँ धाएपनि झण्डै बिगत दुई वर्षदेखि त्यसलाई काम गर्न दिइएको छैन रे।

यसो लाटो हिसाबले हेर्दा त त्यो सभाको कुनै काम नै रहेनछ भन्ने पो जनतालाई लागेको र जनताको लागि त्यसको औचित्य नै भागेको जस्तो पो देखिन्छ। हुन पनि हो कोरोनाको समयमा हात्ती पाल्ने पर्यटन ब्यबसायी र अहिले सांसद पाल्ने जनताले अर्को चुनावको बारेमा सोच्न थाल्ने बेला आइसक्न लाग्दापनि बर्तमान सांसदहरु वर्षैसम्म काम न काजसित जनताकै नाममा हल्लिएर दिन कटाएको र सबै मिलेर आफ्नै मर्यादा घटाएको देख्दा जनता अलमलिएका छन्।

यस्तो काम गर्नै नपर्ने र सुबिधा बुझ्ने बाहेक अरुथोकमा अघि नसर्ने बेकामे जमातलाई ठूलो तामझामसहितको चुनावमार्फत चुनेर ल्याउनुको उचित कारण नदेखिएकोले आँखा थुनेर हिँड्न पर्ने अबस्था छ भन्दै नचाहिँदो हल्ला गर्न खोज्नेहरुसित जनता ज्यादै रिसाएका छन्। जे भएपनि आफूले छानेका, आफूले मानेका र चुनावको समयमा उहाँहरुको कुरा सुन्दा आफ्नो लागि सबैथोक गर्ने मान्छे भन्ने ठानेका महानुभावहरुलाई जसले जे पायो त्यही भनेको जनतालाई चित्त बुझ्ने कुरै आएन।

नयाँ चुनाव गरेर र साबिकमा पाएकोभन्दा अझ बढी सिट ल्याउन अघि सरेर बालकोटे कामरेडको सनकमा दुईदुइै चोटी बिघटनको दनक भेटेरपनि उनका हितैषी बाहेकका माननीयहरुको जोडबल सहितको सेटिङले दुबैचोटी बौरिएको प्रतिनिधिसभा नभए त देशै चल्दैन र जनताको लागि केही कुरै फल्दैन अनि यो नभए त कसैकोपनि चुल्हो बल्दैन भनेजस्तो सबैलाई लागेकोमा कुरा त्यसो होइन रहेछ। संसद नभएपनि केही फरक नपर्ने रहेछ भन्ने त अहिले बैठक सुरु हुनासाथ एकथरीले बहिष्कार र अबरोध गर्ने अनि अरु बाँकि सबै रमिता हेर्नेमा पर्ने गरेको घटना दिनदिनै र छिनछिनै हुने भएकोले सबैलाई त्यस्तो लागेको हुनसक्छ।

हुन त संसदमात्रै किन महिनौंसम्म सरकार गठन नभएपनि, महिनांँसम्म मन्त्रीहरु पूरा नभएपनि, महिनौसम्म सर्वोच्च न्यायालय नचलेपनि र अरु महत्वपूर्ण भनिएका अनि नभइ नहुनेमा गनिएका निकायहरु बर्षौंसम्म खाली रहेपनि देश आफ्नै गतिमा चलिरहने रहेछ।

खाली भएका संबैधानिक नियुक्तिहरुमापनि आफ्ना मान्छेमात्रै राख्ने र उनीहरुमार्फत त्यसको सबै मजा चाख्ने अलिखित नियम अनुसार सबै ठाउँमा बालकोटे कामरेडले आफ्ना आसेपासेहरुलाई अध्यादेशको सहारामा भर्ना गरेकोमा अरुले जतिसुकै धर्ना दिन खोजेपनि केही सिप लागेनछ।

दलहरु भित्र जति गुट भएपनि, ती गुटहरु बीच जति फुट भएपनि, तिनीहरुबाट जति लुट मच्चाएपनि र तिनीहरुले जति झुट बोलेपनि आफ्नो कुर्सी धरापमा नपरेसम्म केही नहुने रहेछ भनेर सुनेको ठिकै रहेछ कि क्या हो। यही काममा भरपुर सहयोगको लागि चाहिने रहेछन् यती, ओम्नी, बतास, अधिकारी, प्रसाईं, दुगड, अग्रवाल, चौधरी आदि जस्ता महान हस्तीहरु भन्नेपनि अहिलेको अधिबेशनहरुबाट अलिअलि प्रष्ट भएजस्तो छ।

यसको बिरोधमा सर्बोच्च न्यायालयमा दिएको रिटपनि न्यायमूर्तीहरुको खल्तीमा राम्ररी नगद फिट हुन नसकेर हो कि प्रधान न्यायमूर्तीलेपनि भागबन्डा भेटेको हुनाले हो अहिलेसम्म बिट मार्ने काम हुन सकेको छैन। संबिधानलाई धोती लगाइ दिँदै परमादेशबाट बनेको गठबन्धनको सरकारले पुरानालाई निकालेर आफ्ना मान्छेहरुलाई जागिर दिन निकै बल गरेपनि अदालतको कारणले कुनै फल हात लाग्न पाएन भन्ने हल्लामा अरुको त थाहा भएन जनताको चाहिँ पटक्कै बिश्वास छैन।

आफ्नो पालामा भर्ना गरिएका संबैधानिक पदहरुलाई कुनैपनि हालतमा अदालतबाट खाली गर्न नदिने र कोटेस्वरे कामरेडसहित चोइटिएर गएका चौधजना सांसदहरुलाई संसदबाट बाहिर ननिकालेसम्म संसद अबरोधबाट बिश्राम नलिने अठोटकासाथ अघि बढेका बालकोटे कामरेडलाई अहिलेको पञ्चतत्वले बनेको गठबन्धनलाई तोड्ने, यही तरिकाबाट यिनीहरुको स्वार्थपूर्ण एकतालाई फोड्ने र त्यसबाट आउन सक्ने फाइदालाई आफूतिर मोड्ने अनि यसैको माध्यमबाट आगामी चुनावको लागि शक्ति जोड्ने ज्यादै पबित्र बिचार रहेको देखिन्छ।

सुख र समृद्धिको गफ दिँदा दिँदै संसद बिघटन गरेर नयाँ चुनावमार्फत दुईतिहाइ ल्याउने र अरुलाई ढिम्किनै नदिइ सबैतिर एक्लै भ्याउने ज्यादै उच्च सद्बिचार सहित अघि बढेर भुइँको टिप्न खोज्दा पोल्टाको गुमेको थाहै नहुने अबस्थापनि देखिने रहेछ। त्यही कारणले छँदाखाँदाको त्यति बलियो समर्थनको आफ्नो सरकार गयो र आफ्नो नाममा रहेको प्रदेश सरकारहरुपनि अरुकै भयो। देश र जनताको हित चिताएर र त्यसैमा पुरै समय बिताएर लाग्न खोज्दापनि सरकार प्रधानको कुर्सीदेखि अरु धेरै थोक गुमाउन परेपछिपनि कुनै हरेश नखाइकन अझ दुई तिहाइ बहुमत ल्याउने उद्देश्य राखेर हिँड्नु सारै असल कुरा हो।

धेरैजसो दलहरुले आफ्नो इच्छाभन्दापनि निर्बाचन आयोगबाट मान्यता नपाइला र भबिष्यमा यसैगरी नखाइला भन्ने डर भएकोले करले अधिवेशन सक्ने र योभन्दा प्रजातान्त्रिक हो कि लोकतान्त्रिक अधिबेशन त हुनै सक्दैन भनेर बक्ने काम पूरा गरेर यसपालीको कर्मकाण्ड सिध्याए। यसो हेर्दा को बढी प्रजातन्त्र हो कि लोकतन्त्रवादी हो भनेर छुट्याउन जनतालाई ज्यादै गह्रो पर्यो। उ हेर्यो उही त्यस्तो, अर्को हेर्‍याे अर्कै त्यस्तो। कोही भन्दा कोही कम छैन।

सबै एकसेएक। दलहरु भित्र जति गुट भएपनि, ती गुटहरु बीच जति फुट भएपनि, तिनीहरुबाट जति लुट मच्चाएपनि र तिनीहरुले जति झुट बोलेपनि आफ्नो कुर्सी धरापमा नपरेसम्म केही नहुने रहेछ भनेर सुनेको ठिकै रहेछ कि क्या हो। यही काममा भरपुर सहयोगको लागि चाहिने रहेछन् यती, ओम्नी, बतास, अधिकारी, प्रसाईं, दुगड, अग्रवाल, चौधरी आदि जस्ता महान हस्तीहरु भन्नेपनि अहिलेको अधिबेशनहरुबाट अलिअलि प्रष्ट भएजस्तो छ।

शिर्ष नेताहरुलेपनि खाली राजनीति मात्रै गरेर र जनताको काममात्रै गर्न अघि सरेर कसले पत्याउने? बिभिन्न ब्यापारिक समूह र ब्यक्तिहरुलेपनि शिर्ष नेताहरुलाई खाली सहयोगमात्रै गरेर कसरी गुजारा चलाउने र एकको दश बिस फलाउने? दुबैले दुबैको समस्या बुझेर हिसाब किताब बराबर गरेपछि र एकअर्काको भर परेपछि बल्ल जनताको चाहना अनुसारको राजनीति सफल हुने रहेछ भन्ने कुरो सबैले बुझ्न पर्ने रहेछ।

यही कारणले त हिजोअस्तीसम्म मुस्किलले चप्पल पड्काउने औकात भएकाहरु हेर्दाहेर्दै करोडौँ र अरबौँमा आफूलाई अड्काउने, छानीछानी मन लागेकोलाई छड्काउने र अर्कोले त्यसैगरी खाला भनेर दाताहरुलाई भड्काउने ध्याउन्नमामात्रै लागेको देखिन्छ।

अहिले चालु रहेको सरकारी गठबन्धनलाई तोडफोड पारेर र सबैलाई आफ्नो असली औकातमा झारेर अनि उनीहरुका कमजोरीहरुलाई जनताको अगाडि सारेर र त्यसबाट बाजी मारेर पहिलेको भन्दा जोडदार तरिकाले सुख र समृद्धिका गफ चुट्ने कार्यलाई कायम राखेर सबैतिर लुट्ने योजना कार्यान्वयन हुनैपर्छ। बालकोटे कामरेड सरकार प्रधान हुँदा अरु केही नभएपनि गफ सुनेर रमाइलो गर्न पाएका जनता अहिले त्यसबाट बचिन्त हुन परेकोमा ज्यादै दुखी भएका छन्।

अहिलेका सरकार प्रधान न गफ गर्छन् न काम गर्छन्। दुबै नभएपछि जनतालाई देशमा सरकार प्रधान छन् कि छैनन् भन्नेपनि राम्ररी थाहा नहुने र यस्ता कुराले कसैलाई नछुने रहेछ। सरकार प्रधानले गफै गरेनन् र जनता उनको गफ सुन्न पाउनेमा परेनन् अनि उनीपनि आफ्नो चिरपरिचित आदतबाट तल झरेनन् भन्दाभन्दै मन फुकाएर गफ गर्न सरकार प्रधान हालसालै बालकोटे कामरेडसमेत भनिने प्रमुख प्रतिपक्षि दलका नेतासित गफ गर्न गएछन्।

उनको गफको बिषय संसदको अबरोध हटाएर परमादेशीय जागिरलाई अलि सजिलो पारिदिन पर्यो भन्ने रहेछ। यसमा बालकोटे कामरेडले देश र जनताको भलाईको लागि आफूबाट फुटेका र सभामुखको संबिधान प्रतिको प्रतिबद्धताको कारणले अहिलेसम्म कारबाहीबाट छुटेका चौधजना सांसदहरुलाई संसदबाट निकाला नगरि संसदको अबरोध हट्दैन अनि त्यो नमानेमा आफ्नो दल सहयोगमा डट्दैन भन्ने गफ सुनाएर पठाएछन्।

आफैं गएर केके न गर्छु भन्दै बालकोटे कहाँ धाएका, उनको जवाफबाट अलमलिएर आएका र उनको भनाइ माग र गठबन्धनको अबस्था देखेर चकित खाएका सरकार प्रधानलाई पनि समस्या नै छ। बालकोटेको भनाइ मानौँ र उनलाई नजिक ठानौँ भने गठबन्धनवालाहरुले आफैलाई मिल्काएर अर्कै नसोचेको बाटो पहिल्याउलान् भन्ने डर।

नमानौँ भने संसद सुचारु गरेर अहिलेजस्तै केही गर्न नसकेपनि त्यहाँ एमसिसिको बारेमा एकदुई शब्द बोलेर र आफ्नो बिचार खोलेर अमेरिकालाई अलिअलि भएपनि रिझाउने प्रयासको पोको फुकाउन पाइन्थ्यो भन्ने धोको होला। यो गठबन्धनले भित्र बाहिर कतैबाटपनि कुनै किसिमको फाइदा लिन र कसैलाई केही दिन नसकोस् भन्ने बालकोटेको पबित्र बिचारलाई यसले सहयोग नै गरेको छ। हुनत शिर्ष भन्ने जति सबैको एमसीसी पास गरेर आफू

बिदेशीकै दास भएको प्रमाणित गर्ने र उताको जुठोपुरोमा अझ जोडसित चर्ने बिचार भएपनि बिगतमा आफैंले सानोतिनो प्राबिधिक त्रुटी गरेर र सोझासाझा जनताको अगाडि गफ दिएर ठूलो हुन खोज्दा योजनामा दुलो पर्न गएको मात्रै हो भनेर सोच्ने मुर्खहरुको ओखती के नै हुन सक्छ र? संसद चलेपनि वा चल्दै नचलि अबधि सकिएर ढलेपनि उहाँहरुलाई केही मतलब छैन।

एकताका नेपाल ट्रष्टको अत्यन्त महंगा जग्गाजमिनहरु कौडीको भाउमा यती समूहलाई भाडामा दिएर बालकोटे कामरेड र उनका आसेपासेहरुले देश र जनताको भलाइमा फड्को हाने भनेर अरुले अड्को थापेको सुनिएको थियो। त्यसपछि ओम्नि नामक समूहलेपनि त्यहि उद्देश्य पूरा गर्ने कुरा सुरु गर्दा त्यस्तै हल्ला सुनियो।

अहिले बतास समूहको कारोबारले अरु समूहहरु हतास हुने हुन् कि भन्ने अबस्था देखिएको छ। यसरी देखिने र नदेखिने समूहहरु हरेक दलहरुमा हजारौँको संख्यामा होलान् र यिनीहरुले यसरी सबै छेउटुप्पो मिलाएर काम गर्न नपाए शिर्ष नेताहरु नै धुरधुरु रोलान् भनेर जनता चिन्तित छन्।

सरकारलाईपनि जनताको न्याय पाउने वा संबिधानमा तोकिएका मौलिक हकहरु उपभोगमा आउने काम गर्नुभन्दा आफ्ना अन्नदाता जस्तो घनिष्ट नाता पर्ने प्रधान न्यायमूर्तीलाई चलाउनु भन्दा अरु कामहरुमा जस्तै लाज शरम पचाउँदै चुपचाप लागेर सबैलाई गलाउनु र प्रधान न्यायमूर्ती समेतको भागबन्डाबाट यथेष्ट माल फलाउनु नै धेरै राम्रो कार्य हो भन्ने जनतालाई पनि लागेको छ।

आफूलाई पत्रकार भन्नेहरुलेपनि यस्ता समाचारहरुलाई त गोप्य राखिदिन र त्यस बापत साबिक अनुसार पत्रम पुष्पम चाखिदिन पर्छ नि। प्रहरी, पत्रकार, नेता, कार्यकर्ता, हाकिम, डन आदि सबैलाई खल्तीमा राखेर यस्ता काम गर्नेहरुको गल्ती कहिँकतै देखिँदैन।

यो त यसो कहिलेकाहीँ दशा लागेर वा शक्तिको नशा लागेर मात्रै बाहिर आउने हो। यसमा सत्तापक्ष, प्रतिपक्ष वा यो पक्ष उ पक्ष त्यो पक्ष भनेर भेदभाव गर्ने, यतिमात्रै हुन् भनेर भर पर्ने र एकदुई वटा समाचार आएको भरमा यस्ता पबित्र क्रियाकलापहरु टर्ने भनेर सोच्ने मुर्खता गर्न हुँदैन।

मुहान दुषित भएपछि तलतिर संग्लो पानी खोज्ने र समाचारको भरमा रोक्ने बाटो रोज्ने काम नै गलत छ। अहिले एउटा मन्त्रीले मिहिन तरिकाले केलायीे, त्यत्रा शक्तिशालीलाई अप्ठ्यारो पार्छु भनेर केही दिन खेलायी र उसकोपनि खल्ती गरम भएपछि यो किस्सा सेलाइ भन्ने खबर पढ्न जनताले धेरै दिन कुर्न नपर्ने पक्का छ।

प्रधान न्यायमूर्तीलाई राजस्नामाको मार हान्न खोज्ने बारका पदाधिकारीहरुको आन्दोलनलाई सरकार लगायत सम्बन्धित कसैलेपनि ओठे आश्वासन र कोठे सद्भावमात्रै देखाएर अलपत्र पारेकोमा बारलाई चित्त दुख्नु स्वाभाबिक हो।

दुई मध्ये को ठूलो बिचौलिया भन्ने प्रतिस्पर्धामा आफूहरुलाई प्रधान न्यायमूर्तीले धेरै पछाडि पारेर जितेको र त्यसबाट महिनामै करोडौँको आमदानी बितेको चरम रिसले सबैखाले शरम पचाएर र हुँदै नभएको इज्जत अलिअलि बचाएर दुबैथरिले आआफ्नो तर्फबाट दुनियाँ हसाउने कामलाई कायम राखेर सम्पूर्ण न्यायिक क्षेत्र र न्यायिक इतिहासलाई समेत संसारभरि फिजाउने फैलाउने कार्य गर्न सकेकोमा हामी सबैले गर्व गर्न पर्छ।

निष्पक्ष न्यायको भावना प्रकट गर्नको लागि सर्बोच्च न्यायालय रहेको सडकलाई रामशाह पथ नाम दिइएकोमा बार र प्रधान न्यायमूर्तीले यो भावनालाई पछिसम्म यादगार रहने गरि कीर्ति कायम गर्न र यो हदसम्म तल झर्न सक्नु सबैको लागि ज्यादै खुसीको कुरा हो। यो स्तरको ब्यक्तिलाई प्रधान न्यायमूर्तीको रुपमा नियुक्त गर्नसक्ने र उनकै हातबाट समेत मनग्गे माल खाने काममा अघि सर्नसक्ने नेतृत्व जत्तिको संसारको बिरलै अति सक्षम नेतृत्व पाउनु हामी जनताको अहोभाग्य नै हो।

सरकारलाईपनि जनताको न्याय पाउने वा संबिधानमा तोकिएका मौलिक हकहरु उपभोगमा आउने काम गर्नुभन्दा आफ्ना अन्नदाता जस्तो घनिष्ट नाता पर्ने प्रधान न्यायमूर्तीलाई चलाउनु भन्दा अरु कामहरुमा जस्तै लाज शरम पचाउँदै चुपचाप लागेर सबैलाई गलाउनु र प्रधान न्यायमूर्ती समेतको भागबन्डाबाट यथेष्ट माल फलाउनु नै धेरै राम्रो कार्य हो भन्ने जनतालाई पनि लागेको छ।

अहिले यसो हेर्दा सबैतिर सेटिङ गरेर माथि देखि तलसम्मका सबैजना संबिधान, नियम कानुन, परम्परा, संस्कार, आचरण, नैतिकता, लाज घिन शरम आदि सबैलाई धोती लगाइ दिएर जसरी हुन्छ कुनै मेहनत र दुख नगरी आफ्नो लागि मोती फलाउने चक्करमामात्रै हिँडेका देखिन्छन्।

यसबाट जनतालाई चाहिँ उही हल्का रमाइलो भनेजस्तो मात्रै भएको देखिन्छ। त्यसैले अहिलेको अबस्थालाई सर्सती हेर्दा समग्रमा अरु सबैजना मजाले कमाउने अनि जनता चाहिँ त्यसैको खबर समाचार र हल्ला सुनेर देखेर नबुझेपनि धेरै बुझेर त्यसैत्यसै खुसी भएर औधी रमाउने गरेको देख्दा जनताले सुख र समृद्धिको अनुभव गर्न सुरु गरिसकेको देखिन्छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *