स्थानीय तह निर्वाचन मिति बिहीबार टुंगो लाग्ने

डिसी नेपाल
५ माघ २०७८ ६:२१

काठमाडौं। सत्तारूढ दलहरू स्थानीय तहको निर्वाचन स्थानीय तह जनप्रतिनिधिविहीन हुनुअगावै गर्न तयार भएका छन् ।

निर्वाचन आयोगको निरन्तरको दबाबपछि सत्ता गठबन्धनमा आबद्ध रहेका दलहरू स्थानीय तहको निर्वाचन ५ जेठअघि नै गर्न तयार भएका हुन् । ५ जेठ २०७९ बाट स्थानीय तहतर्फ निर्वाचित जनप्रतिनिधिको पदावधि सकिँदै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको गठबन्धनको बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समयमा नै स्थानीय तहको निर्वाचन गर्ने विषयमा बैठकमा सहमति बनेको बताए ।

‘स्थानीय तहको पदावधि सकिनुअघि नै निर्वाचन गर्ने विषयमा सत्ता गठबन्धनमा सहमति जुटेको छ, मितिको विषयमा अर्को बैठकमा निर्णय हुन्छ,’ सरकारका प्रवक्ता मन्त्री कार्कीले भने ।

नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले स्थानीय तहको निर्वाचन वैशाखमा नै गर्ने विषयमा प्रधानमन्त्री प्रतिबद्ध रहेको र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीले मनाएपछि निर्वाचन वैशाखमा नै हुने तय भएको जानकारी दिए ।

‘कांग्रेस स्थानीय तहको पदावधि सकिनुअगावै निर्वाचन गर्न तयार थियो, गठबन्धनमा केही मतभिन्नता थिए तर प्रधानमन्त्रीले ती मतभिन्नतालाई तोडेर स्थानीय तहको पदावधि सकिनुअगावै वैशाखमा नै निर्वाचन गर्ने विषयमा सबैलाई सहमत गराएपछि सहमति बन्यो,’ प्रधानमन्त्री देउवानिकट रहेका नेता विश्वकर्माले राजधानीसँग भने ।

उनका अनुसार बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मितिको टुंगो लगाउने सम्भावना छ । निर्वाचन एकै चरणमा गर्ने विषयमासमेत प्रधानमन्त्री तयार देखिएको उनले बताएका छन् ।

‘स्थानीय तह निर्वाचन एकै चरणमा हुन्छ, त्यसका लागि केही निर्वाचन कानुन संसद्बाट पास गर्नुपर्नेछ । अब प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि त्यसका लागि सहयोग गरेर संसद् सुचारु गर्नुपर्छ, त्यसपछि देश निर्वाचनमा जान्छ,’ विश्वकर्माले अघि थपे ।

निर्वाचन आयोगले भने ९ पुसमा नै सरकारसमक्ष एकै चरणमा सम्भव भए १४ वैशाख र दुई चरणमा गर्नुपर्ने अवस्था आए १४ र २२ वैशाखको मिति स्थानीय तहको निर्वाचनका लागि प्रस्ताव गरिसकेको छ । राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *