आइपिएलको लिलामीमा नेपालका १५ जना खेलाडीहरु समावेश

डिसी नेपाल
८ माघ २०७८ १३:०७

काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल)को मेगा अक्सन आगामी फेब्रुअरी १२ र १३ मा बैंगलोरमा हुँदैछ । यस पटक आइपिएलमा १० टिमले भाग लिनेछन् । १० वटै टिमले रिटेन गर्ने खेलाडीको नाम घोषणा गरिसकेका छन् । रिटेन गरिएका खेलाडी एउटा टिममा बढीमा ४ जना मात्र छन् । केहीले ४ जनाभन्दा कम खेलाडी पनि रिटेन गरेका छन् ।

आइपिएलको एक टिमले बढीमा २५ जना खेलाडी आफ्नो टिममा अनुबन्ध गर्न पाउँछन् । यस हिसाबले १० वटा टिमले अझै २०–२२ जना खेलाडीहरु आफ्नो टिममा अनुबन्ध गर्न सक्नेछन् । टिमहरुले खेलाडीहरु आइपिएलको मेगा अक्सनबाट अनुबन्ध गर्नेछन् । आइपिएलको मेगा अक्सनको लागि १ हजार २ सय १४ जना खेलाडीले आफ्नो नाम दर्ता गराएको भारतको क्रिकेट बोर्ड बीसीसीआइले जनाएको छ ।

बीसीसीआइका अनुसार आइपिएलका लागि खेलाडी दर्ता गर्ने प्रक्रिया २० जनवरीदेखि बन्द भएको छ । यो अवधिमा दर्ता भएका १ हजार २ सय १४ खेलाडीमध्ये ८९६ जना भारतीय र ३१८ जना विदेशी खेलाडी छन् । यीमध्ये २७० जना खेलाडी क्याप्ड (टेस्ट मान्यता प्राप्त देशको राष्ट्रिय टिमबाट खेलिसकेका) ९०३ अनक्याप्ड (टेस्ट मान्यता प्राप्त देशका नागरिक तर राष्ट्रिय टिमबाट खेल्न नपाएका) र ४१ जना एसोसिएट (टेस्ट मान्यता नपाएका देश) खेलाडी छन् ।

आइपिएलका लागि दर्ता भएका विदेशी खेलाडीमध्ये टेस्ट मान्यता प्राप्त देशमध्येबाट सबैभन्दा धेरै अस्ट्रेलियाका खेलाडी दर्ता भएका छन् । अस्ट्रेलियाका ५९ खेलाडी आइपिएल लिलामीका लागि दर्ता भएका छन् । यस्तै दक्षिण अफ्रिकाका ४८, वेष्ट इण्डिजका ४१, श्रीलंकाका ३६, इङल्याण्डका ३०, न्यूजिल्याण्डका २९, अफगानिस्तानका २०, बंगलादेशका ९, आयरल्याण्डका ३ र जिम्बाब्बेका २ खेलाडी दर्ता भएका छन् । टेस्ट मान्यता पाएका १२ देशमध्ये पाकिस्तानी खेलाडी आइपिएलमा खेल्दैनन् ।

टेस्ट मान्यता नपाएका एसोसिएट देशबाट कूल ४१ खेलाडी दर्ता भएका छन् । ८ वटा एसोसिएट देशका खेलाडीहरुले आइपिएलका लागि नाम दर्ता गराएका छन् । यी ८ देशमध्ये सबैभन्दा धेरै नेपालका खेलाडी दर्ता भएका छन् । नेपालका १५ जना खेलाडी अक्सनका लागि दर्ता गरिएका छन् । यस्तै अमेरिकाका १४ जना खेलाडी दर्ता भएका छन् । नामिबियाका ५ र ओमनका ३ जना खेलाडी दर्ता भएका छन् । भुटान, नेदरल्याण्ड, स्कटल्याण्ड र युएइका १–१ जना खेलाडी दर्ता भएका छन् ।

बीसीसीआइले कुन देशका कति खेलाडी आइपिएलका लागि दर्ता भएका छन् भन्ने जानकारी सार्वजनिक गरिसकेको भए पनि खेलाडीहरुको नामको सूची प्रकाशित गरेको छैन । यस्तै कुन खेलाडी कति बेस मूल्यमा दर्ता भएका छन् भन्ने पनि आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन । बीसीसीआइका अनुसार यदि सबै फ्रेन्चाइजीले अधिकतम २५ जना खेलाडी अनुबन्ध गरेको अवस्थामा अक्सनमा बढीमा २१७ खेलाडी बिक्री हुनेछन् । बिक्री हुने खेलाडीमध्ये ७० जनासम्म विदेशी खेलाडी हुन सक्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *