प्रजनन् केन्द्र कुरेर बस्छ राेनाल्डाे

डिसी नेपाल
१० माघ २०७८ ११:५१

चितवन। चितवनमा जंगली हात्ती भन्ने बित्तिकै सबैको मुखमा झुण्डिने नाम हो रोनाल्डो, ध्रुवे अनि गोबिन्दे। हात्ती प्रजनन् तथा तालीम केन्द्र खोरसोरमा हात्ती प्रजनन्का लागि यिनै जंगली हात्तीहरुकै योगदान रहेको छ।

हात्ती प्रजनन् केन्द्र खोरसोरमा भाले हात्ती छैनन्। जंगली हात्तीको डरले पनि भाले हात्ती प्रजनन् केन्द्रमा राखिँदैन। प्रजनन् केन्द्र भित्र ढोई भनिने पोथी हात्तीहरू छन्। साथमा छावा पनि।

चितवनको हात्ती प्रजनन् केन्द्र खोरसोरमा अहिले सधैं जसो जंगली हात्ती रोनाल्डो आउने गरेको छ। हात्ती प्रजनन् केन्द्र घुम्न आउने पर्यटक जंगली हात्ती रोनाल्डोलाइ प्रजनन् केन्द्रमा देख्न पाउँछन्। ‘रोनाल्डो’ प्राय नजिकैको वनमा भेटिन्छ।

कहिले निकुञ्जभित्रको वनमा त कहिले निकुञ्जसँगै जोडिएका सामुदायिक वनमा। अचेल ‘रोनाल्डो’ प्रायजसो प्रजनन् केन्द्रमा बाँधिएका वा प्रजनन्का लागि छोडिएका ढोईसँग सम्सर्गकाे प्रतीक्षामा रहने गरेको निकुञ्जका कर्मचारी बताउँछन्।

हात्ती प्रजनन केन्द्रमा जंगली हात्तीहरु पोथी हात्तीसँग शारीरिक सम्सर्ग गर्नका लागि आउने गरेका छन्। प्रजनन् योग्य बनाउनमा जंगली हात्ती रोनाल्डो, ध्रुवे र गोविन्देकै योगदान रहेको हात्ती प्रजनन् केन्द्रका नायव सुब्बा मनपुरन चौधरीले बताए।

रोनाल्डो नामको जंगली हात्तीले २०६० सालदेखि स्थानीय बासिन्दालाई दुःख दिन थालेको स्थानीयहरु बताउँछन्। रोनाल्डोले अहिलेसम्म २२ जना मान्छेको ज्यान लिइसकेको छ। निकुञ्जसँग जोडिएका मध्यवर्ती क्षेत्रमा बस्ने बासिन्दाहरुलाई जंगली हात्तीले अहिले पनि दुःख दिइरहेको छ। रातिको समयमा बस्ती पस्ने गरेको यो जगली हात्तीको डर सधैं रहिरहेकाे। यो हात्तीको गतिविधि सजिलै पत्ता लगाउन निकुञ्जले हात्तीको घाँटीमा रेडियोकलर लगाए पनि अहिले हात्तीले फालिसकेको छ।

अहिले जाडो मौसममा कुहिरो लाग्ने भएकाले निकुञ्ज आसपास क्षेत्रमा हिँड्डुल गर्दा जङलि हात्तीको डर बढी छ। निकुञ्ज बाहिर खानाका लागि हात्ती आउने भएकाले पनि स्थानीयमा जंगली हात्तीको डर यथावत छ।

अर्को जंगली हात्ती ध्रुबे पनि बेला बेलामा प्रजनन् केन्द्रमा आउने गरेको छ। एक पटक ध्रुबे हात्तीले मान्छेमाथि आक्रमण गर्ने, धनको क्षति पुर्‍याउने गरेर निकुञ्जको सुरक्षा संयन्त्रलाई नै तनाब दिएको थियो। उसलाई मार्न भनेर सरकारले लाखौं रुपैयाँ खर्च गरे पनि ऊ उम्किएर बाँच्न सफल भएको थियो।

केही दिन अघि जंगली हात्ती ध्रुवेले चितवन राष्ट्रिय निकुञ्जको हेडक्वाटर कसरा नजिकै साइकलमा गस्ती जाँदै गरेका नेपाली सेनाका सैनिकमाथि आक्रमण गरेको थियो। उपचारका क्रममा उनको मृत्यु भयो।

गोबिन्दे भन्ने जंगली हात्ती भने कहिलेकाँही मात्रै आउने गरेको छ। चितवनमा अहिले भइरहेका यी हात्तीमध्ये ध्रुवे रौतहटसम्म पुग्ने गर्दछ भने गोविन्दे र रोनाल्डो चितवन र पर्सा क्षेत्रमा घुम्ने गरेका छन्। ध्रुवे र रोनाल्डो नेपालको पूर्वी क्षेत्रबाट आएको अनुमान गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *