गैंडा मृत्यु प्रकरणः घटनाको छानबिन गर्न कार्यदल गठन, कार्यदलले १० दिनमा प्रतिवेदन दिने

डिसी नेपाल
११ माघ २०७८ १७:२२

चितवन । निर्माणाधीन छ लेनको गोन्द्राङ–पुलचोक सडकमा बनाइएको नालीमा फसेर गैंडाको मृत्यु भएपछि सरकारले त्यसको छानबिन गर्न कार्यदल गठन गरेको छ । टिकौली जंगल नजिकै सडक नालीको छेउमा खनेर छाडिएको खाल्डोमा फसेर आइतबार एउटा भाले गैंडाको मृत्यु भएको थियो ।

निकुञ्जको मध्यवर्ती क्षेत्रमा सडक विस्तारको क्रममा खनिएको खाल्डोमा फसेर दुर्लभ एकसिंगे गैंडा मरेपछि वन तथा वातावरण मन्त्रालयले घटनाको छानबिन गरी प्रतिवेदन पेश गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको हो ।

मंगलबारको मन्त्रिस्तरिय निर्णयबाट १० दिनभित्र यथार्थ विवरणसहितको प्रतिवेदन पेस गर्ने गरी पाँच सदस्यीय कार्यदल गठन गरिएको छ । वन तथा भू(संरक्षण विभागका उपमहानिर्देशक डा राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी जनाएको हो ।

कार्यदलको सदस्यमा वन तथा वातावरण मन्त्रालयका उपसचिव (कानुन) रामजी दनाई, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका योजना अधिकृत दिलबहादुर पुर्जा पुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख सरंक्षण अधिकृत हरिभद्र आचार्य र डिभिजन वन कार्यालय चितवनका डिभिजन वन अधिकृत पदमराज नेपाल रहेका छन् ।

कार्यदलले स्थलगत छानबिन गरी घटनाको यथार्थ विवरण पेस गर्नेछ । त्यस्तै, सडक निर्माण गर्दा भएको वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृतिको अवस्था, सडक निर्माणका क्रममा को कसको कस्तो जिम्मेवारी, गैंडाको मृत्यु हुनेगरी भएको लापरबाहीको को जिम्मेवारी र कारबाही गर्नुपर्ने भए सोको राय सहितको सुझाव पेस गर्न कार्यदललाई भनिएको छ ।

हात्तीको गोबरसहित विवेकशील साझाको विरोध

सरकारी लापरबाहीका कारण दुर्लभ एकसिंगे गैंडाको मृत्यु भएको भन्दै विवेकशील साझाले मंगलबार भरतपुर महानगरपालिकाको मूख्य गेटमा हात्तीको गोबरसहित विरोध प्रदर्शन गरेको छ ।

विवेकशीलका नेता कार्यकर्ताले महानगरको गेटमा हात्तीको गोबर र ब्यानरसहित गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो । वन्यजन्तुको संरक्षणको माग गर्दै शान्तिपूर्ण रुपमा गरिएको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले बताए ।

‘शान्तिपूर्ण प्रदर्शनमा आएर प्रहरीले हात हाल्ने र धकेल्ने काम गर्‍यो । हामीले त्यसको प्रतिवाद गर्‍यौँ र क्षेत्राधिकार बाहिर नजान आग्रह पनि गर्‍यौँ’, उनले भने ।

प्रहरीले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर आफूहरूको शान्तिपूर्ण प्रर्दशनमा हस्तक्षेप गरेको उनको भनाइ छ । शान्तिपूर्ण आन्दोलनमा आएर हात हाल्ने र धकेल्ने काम प्रहरीले गर्न नपाउने उनी बताउँछन् । विवेकशीलले ‘फ्रिडम फर अल, जस्टिस फर एनिमल्स’ र ‘विकास कार्यमा वन्यजन्तुको संरक्षण’ लेखिएको ब्यानरसहित प्रदर्शन गरेको हो ।

प्रहरीको हस्तक्षेपका बीच विवेकशीलले महानगरकी उपमेयर पार्वती शाह ठकुरीलाई ज्ञापनपत्र बुझाएको छ । लापरबाहीका कारण दुर्लभ वन्यजन्तुको मृत्यु हुनु दुखद् भएको बताउँदै ठकुरीले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने उनले प्रतिबद्धता व्यक्त गरिन् ।

चितवन राष्ट्रिय निकुञ्जले पनि सडक निर्माणकर्ताको लापरबाहीकै कारण गैंडा मरेको बताएको छ । गैंडा मरेको स्थान निकुञ्जको मध्यवर्ती क्षेत्रसमेत भएको र त्यहाँ भौतिक संरचना निर्माण गर्दा निकुञ्जको स्वीकृति र अनुमति केही नलिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताएका छन् ।

गैंडा मर्नुमा सडक डिभिजन र ठेकेदार दुवैको लापरबाही रहेको निकुञ्जले औँल्याएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *