झण्डीडाँडाबाट सफल भयो प्याराग्लाइडिङको परीक्षण उडान

डिसी नेपाल
१२ माघ २०७८ १६:५५

काठमाडौं ।पर्यटकीयस्थल पदमार्गबाट गरिएको प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । इलामको रोङ गाउँपालिका– ६ स्थित करसोङ पदमार्ग गरिएको प्याराग्लाइडिङ परीक्षण उडान सफल भएको हो ।

सो पर्यटकीयस्थलमा परीक्षण उडान सफल भएपछि स्थानीय तथा पर्यटन व्यवसायी उत्साहित भएका छन् । तराईसँग नजिकै रहेको करसोङ पदमार्गमा प्याराग्लाइडिङको आनन्द लिन पाउने भएपछि विशेष गरी वडामा पर्यटक भित्रिने भन्दै यसले थप हौसला थपेको रोङ–६ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मणिकुमार स्याङ्बोले बताए।

उनले पदमार्गमा पर्यटकको सङ्ख्या वृद्धि हुन सुरु हुँदै नयाँ आनन्द लिन पर्यटकले पाउने भएपछि उत्साह थपिएको बताए । झापाको तिरिङ– इलामको पाटापुर– लाङ्केप–सलकपुर– झण्डि–हुँदै हाँस पोखरी हर्कटेबाट इलामको अर्को पर्यटकीय स्थान कन्याम जोड्ने पदमार्ग क्षेत्रमा प्याराग्लाइडिङ उडान परीक्षण सफल भएको बताइएको छ । पर्यटकीय क्षेत्र झण्डिडाँडाबाट प्याराग्लाइडिङ उडान परीक्षण गरिएको थियो ।

रोङ–६ को झण्डिडाँडाबाट बालविकास आधारभूत विद्यालय झापाको मेचीनगर– १ सम्म प्याराग्लाइडिङ परीक्षण उडान गरिएकामा सफल भएको वडाध्यक्ष स्याङ्बोले बताए । यस उडानले झापालगायतका बासिन्दालाई नजिकैबाट नै यसको आनन्द लिन मिल्ने भएपछि खुसी थपिएको बताइएको छ । परीक्षण उडानपछि अब व्यावसायिक उडान गरिने छ । यसका लागि गाउँपालिकाले समेत पहल सुरु गरेको छ । जिल्लाका विभिन्न स्थानबाट समेत यसअघि परीक्षण उडान सम्पन्न भएका छन् । व्यावसायिक उडान भने खासै हुन सकेको छैन । यसै वर्षदेखि कन्यामबाट यसको सुरुआत भने भएको छ । साथै झण्डीडाँडाबाट यसको परीक्षण उडानपछि व्यावसायिक उडान सुरु हुने जिल्लावासीले आशा गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *