काभ्रेका पाँच हजार भूकम्पपीडितलाई लाभग्राही सूचीबाट हटाइयो

डिसी नेपाल
१६ माघ २०७८ १७:५३

काभ्रेपलान्चोक । जिल्लाका पाँच हजारभन्दा बढी भूकम्पपीडितको नाम लाभग्राही सूचीबाट हटाइएको छ ।निजी आवास पुनः निर्माणका लागि राष्ट्रिय पुनः निर्माण प्राधिकरणमा सूचीकृत भई स्थानीय निकायसँग सम्झौता नगरी आवास नबनाउनेको नाम लाभग्राहीको सूचीबाट हटाइएको हो ।

तत्कालीन प्राधिकरणले २०७२ सालको गोर्खा भूकम्पले निजी आवासमा क्षति पुर्याइ पुनः निर्माणार्थ सूचीकृत गरेको तर पटक–पटक गरी २०७८ कात्तिक मसान्तसम्म म्याद थप्दा सम्झौता गर्न नआएकाको नाम लाभग्राही सूचीबाट हटाउने निर्णय गरेको थियो । सोही अनुसार काभ्रेपलान्चोकका पाँच हजार ३७२ भूकम्पपीडितको नाम लाभग्राही सूचीबाट हटाइएको जिल्ला कार्यान्वयन इकाई  (भवन तथा आवास) प्रमुख इन्जिनियर सन्तोष निरौलाले बताए ।

उनका अनुसार प्राधिकरणले जिल्लास्थित गत साल पुसमा आवास पुनः निर्माणमा सूचीकृत भई सम्झौतासमेत नगर्नेको नाम माग गरेको थियो । हालै सहरी विकास मन्त्रालयमार्फत आएको परिपत्रअनुसार आवास निर्माण अनुदानमा म्याद थप गरिएको प्रक्रियाअन्तर्गत सम्झौता गरेको तर आवास निर्माण गर्न बाँकीले मात्रै अब कबुलियत गरी ‘म आउँदो फागुन महिनाभित्र घर बनाउँछु’ भनेर स्थानीय जनप्रतिनिधिसँग प्रतिबद्धता जनाउनुपर्ने भएको निरौलाले बताए ।

उनले भने ‘प्राधिकरणबाट लाभग्राहीमा सूचीकृत भएको तर सम्झौता नगर्नेको पाँच हजारभन्दा बढीको सूची पठाइएको थियो, सोही अनुसार लाभग्राही सूचीबाट हटाइएको हो ।’प्राधिकरणले पुनः निर्माणका लागि पहिलो किस्ता नलिएकाको पनि लाभग्राही सूचीबाटै हटाउने निर्णय गरेपछि उसले पुनः २०७८ साल कात्तिक मसान्तभित्र आवास अनुदान लिएर घर बनाइसक्नु पर्ने गरी गत असारमा म्याद थपेको थियो ।

यसअघि सम्झौता भएका भूकम्पपीडितले मात्रै प्रतिबद्धता जनाएर आवास पुनः निर्माणको प्रथम किस्ताबापतको रु ५० हजार लैजान पाउनेछन् । दोस्रो किस्ताबापत एक लाख ५० हजार तथा तेस्रो किस्ताबापतको एक लाख रकम आवास पुनः निर्माण सकेपछि दिने नीति छ ।हालसम्म जिल्लामा निजी आवास पुनः निर्माणमा सूचीकृत भएका ८४ हजार ६९० भूकम्पपीडित परिवारमध्ये पाँच हजार ३७२ सम्पर्कमा नआएका हुन् ।

जिल्लास्थित भवन तथा आवास कार्यालयका अनुसार ७९ हजार ४४० आवास पुनः निर्माणका लाभग्राहीमध्ये हालसम्म ६५ हजार ८७६ लाभग्राहीले निजी आवास पुनः निर्माण गरेका छन् ।पहिलो किस्ताबापतको रु पचास हजार लिएकामध्ये ८७ दशमलव ३६ प्रतिशत लाभग्राहीले मात्रै दोस्रो र ८३ प्रतिशतले घर निर्माण सकेर तेस्रो किस्ताको रकम लिएका छन् । दुई हजार ४०१ लाभग्राहीले विभिन्न गैरसरकारी संस्थाबाट अनुदान रकम लिएर घर बनाएको निरौलाले जानकारी दिए ।

कार्यालयले तेस्रो किस्ताबापतको रकम भूकम्पपीडितले बुझेको आधारमा काभ्रेपलान्चोकमा ८३ प्रतिशत आवास पुनः निर्माण सकिएको जनाएको छ ।कार्यालयमा हालसम्म स्वेच्छिकरुपमा ५२ जनाले आवास पुनः निर्माणको पहिलो किस्ताबापतको रकम फिर्ता गरेका छन् भने सङ्घ संस्थामार्फत आवास पुनः निर्माण गरेका १६६ जनाको बैङ्क खाताबाट रकम फिर्ता गराइएको छ ।

सङ्घ संस्थाको सहयोगमा निजी आवास पुनः निर्माण गरेकालाई सरकारको आवास अनुदान नदिइने प्रावधान थियो । कार्यालयका अनुसार जिल्लाको भुम्लु गाउँपालिकामा सबैभन्दा बढी आवास पुनः निर्माण भएको छ । छ हजार २६१ लाभग्राहीमध्ये ९३ प्रतिशत अर्थात् पाँच हजार ५६९ ले निजी आवास निर्माण सकेका हुन् । सबैभन्दा कम बनेपा नगरपालिकामा ७१ दशमलव छ प्रतिशतले मात्रै घर निर्माण सकेका छन् ।

यसैगरी, धुलिखेल नगरमा चार हजार ३६२, मण्डनदेउपुर नगरमा आठ हजार ५९, नमोबुद्ध नगरमा पाँच हजार ३५९, पाँचखाल नगरमा आठ हजार १६८, पनौती नगरमा छ हजार ५४८ ले घर निर्माण गरिसकेका छन् ।यस्तै, बेथानचोक गाउँपालिकामा तीन हजार ३४०, चौंरीदेउरालीमा पाँच हजार ४८२, खानीखोलामा दुई हजार ५५२, महाभारतमा दुई हजार ७१९, तेमालमा तीन हजार ९३१ र रोशी गाउँपालिकामा पाँच हजार ५० ले घर निर्माण सकेर अन्तिम किस्ता बुझेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *