नारायणहिटी सङ्ग्रहालयका जीर्ण संरचना मर्मत गर्न मन्त्री आलेको निर्देशन

डिसी नेपाल
२० माघ २०७८ २१:५५

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार सङ्ग्रहालयका जीर्ण संरचना मर्मत गर्न निर्देशन दिएका छन् ।

सङ्ग्रहालयको आज अनुगमन तथा निरीक्षणपश्चात मन्त्री आलेले पर्यटक आर्कषित गर्न तथा दरबारको अस्तित्व जोगाइ राख्नका लागि आकर्षक र सुन्दर बनाउनुपर्ने बताए । उनले भने, “नारायणहिटी ऐतिहासिक दरबार हो, यस्को सुन्दरतामा कमी नहोस्, बजेट आवश्यक परे माग्नुस् ।” निरीक्षण तथा अनुगमनका मन्त्री आलेले सङ्ग्रहालयको अगाडिको घरको छाना मर्मत, दरबारको रङ्गरोगन, दरबार अगाडिको भर्‍याङ मर्मत, भित्रका सरसामानको सफाइ गर्न तथा दिगो राख्न, महेन्द्र मञ्जिलको छानो मर्मत गर्न निर्देशन दिए ।

सो अवसरमा मन्त्री आलेले सङ्ग्रहालयमा रहेका पूर्वराजा तथा विदेशी पाहुँनाका लागि प्रयोग गरिएका गाडीको सरसफाइ र मर्मत गरी प्रदर्शनीका लागि राख्न निर्देशन दिए । बतास कम्पनीले निर्माण गरी भत्काएका संरचना हटाएर बगैँचा निर्माण तथा पहिलाकै अवस्थामा संरचना निर्माण गर्न उनले निर्देशन दिए । मन्त्री आलेले सङ्ग्रहालयको जमिनमा निर्माण गरिएका संरचनाका विषयमा मन्त्रालयले १५ दिन अघि कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेकाले सम्बन्धित निकायलाई कारबाही प्रक्रिया अघि बढाउन पहल गरिने विश्वास व्यक्त गरे ।

मन्त्रालयका सचिव एवं सङ्ग्रहालयका अध्यक्ष महेश्वर न्यौपानेले सङ्ग्रहालयका संरचना र सामग्रीको रेखदेख तथा मर्मत र सरसफाइमा ध्यान दिन त्यहाँ कार्यरत कर्मचारीलाई निर्देशन दिए । सो कार्यका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने उनले बताए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *