राजनीति, सोच र बिचार – Dcnepal

राजनीति, सोच र बिचार

राजनीति जे छ त्यो संसारमा छैन। सबै छल छाम, भय र त्रास देखाई पैसाको खोलो बगाएर नेता बन्ने प्रचलन संसारभर हावी हुन थालको छ। र, त्यसरी नेता बनेकाहरु नै निर्वाचनमार्फत निर्वाचित भएर आउँछन् अनि राज्य संयन्त्रमा बसेर मनपरी गर्न थाल्छन्।

तर राजनीतिको उपनिषदमा बेग्लै व्याख्या छ। यसको अर्थ ‘राज्यको नीति’ जसले राज्यलाई राम राज्य बनाउन सफल नियम कानुन बनाइन्छ। तर भ्रष्ट, अनैतिक, असंवैधानिक नेताहरुले जब देश हाँक्ने जिम्मेवारी आफ्नो हातमा लिन्छन्, त्यस बेला उनीहरु उल्लुको जस्तै दिनमा केही नदेख्ने, रातमा मात्र देख्ने हुन्छन्।

समय समयमा संसारका धेरै मुलुकले राजनेता पाएका छन्। तर राजनेता जब जब आफूलाई सर्वोपरी ठान्छन् तब उनीहरु बाहिरी तवरले चाहिने भन्दा बढी महत्वकांक्षी बन्दछन्, जसबाट उनीहरुमा रिस, राग र घमण्ड पैदा हुन्छ। घमण्डबाट हत्त्या हिंसाको ढोका खुल्न जान्छ र हत्या हिंसाबाटै देशको राजनीतिले कोल्टो फेर्न थाल्छ र संचालन पनि त्यसरी नै सुरु हुन्छ।

उल्लु बेसै भए पनि उसले दिनमा पटक्कै देख्दैन भने गधा दिनमा देख्ने भएपनि उ गधाको गधा नै बिचार लिएर हिँडेको हुन्छ। यसै कारणले आज यो संसारको राजनीति हिंश्रक र जाइ लाग्ने किसिमको भएर आएको छ। कुन त्यस्तो देश छ जहाँ एकले अर्कोलाई नदबाई, डर नदेखाइ, धम्की नदिइ र मान्छे नमारी नेता बनेका छन्? यो एउटा आजको राजनीतिको डरलाग्दो रुप हो।

मान्छेले मान्छेलाई तर्साइ, मान्छेले मान्छेको चाकरी गरी, लोभ लालच देखाए, केही नभए ज्यानै समेत मार्ने धम्की दिएर राजनीति गर्नेहरुमा भित्रैदेखि तिरस्कार गर्नुपर्छ।। देशको सही नेतृत्व लिन सक्ने र देशलाई स्वर्ग बनाउने र देशबासीलाई सधैं आफ्नो शिरमाथि राख्न्ने व्यक्ति नै असली नेता हो। हुन त मान्छेको नरसंहार नगरी राजनीतिको इतिहास कहाँ र कहिले बनेको छ र?

सत्य युगमा देवासुर संग्राम पनि भएकै हो। त्रेता युगमा रामले पनि रावण जस्तो बुद्धिमान लंकाको राजालाई मारेकै हो। बिचरा बालीलाई पनि मारेकै हो र द्वापर युगमा पनि भगवान श्रीकृष्णले महाभारतको युद्ध नगरेको कहाँ हो र? त्यस्तै यो कलियुगमा पनि पुरानो इतिहास पल्टउँदा बिशाल मानिसहरुको हत्या नभएको कहाँ हो र? तर हत्याकोपछि लाग्ने होइन।

राजनीति चर्काउने चीज होइन। यो त एक नफुटेको ऐना सरह हुनु पर्दछ। फुटेको ऐनामा आफ्नो अनुहारपनि चर्किएकै देखिन्छ, न कि स्पस्ट र सफा। अतः आफ्नो हैसियतमा बाच्न सिकौं। आफूलाई साधारण र सरल बनाउन सिकौं र सम्पूर्ण समाजलाई पनि सिकाउन सफल हुन सक्नुनै राजनीतिको उत्किृष्ट नामुना हो। अपराध, लोभ, मोह इष्र्या र दम्भले कसैको राजनीति सफल हुन सक्दैन।

हत्यालाई पन्छाइ शान्तिको बाटो खोज्दै जाने हो। हत्या राम्रो चीज होइन। यसले सम्पूर्ण समाजलाई ध्वस्तको बाटोतिर लैजाने निश्चित छ। मानिसको मन जीतेर देश निर्माण गरि सम्पूर्ण मानिसको कल्याण गरी देश चलाउनु नै उत्कृस्ट राजनीति मानिन्छ।

तर यसमा अहंकार, दम्भ, लोभ, मोह, डाह र इष्र्या होइन, करुणा र प्रेम, दया, साम दाम दण्ड जस्ता कुरालाई मध्यनजर राखी आफैंलाई सधैं आत्म परक दर्शाउनुनै प्रत्येक राजनेताहरुको अमूल्य गुण ठहरिनछ।

राजनीति चर्काउने चीज होइन। यो त एक नफुटेको ऐना सरह हुनु पर्दछ। फुटेको ऐनामा आफ्नो अनुहारपनि चर्किएकै देखिन्छ्र न कि स्पस्ट र सफा। अतः आफ्नो हैसियतमा बाच्न सिकौं। आफूलाई साधारण र सरल बनाउन सिकौं र सम्पूर्ण समाजलाई पनि सिकाउन सफल हुन सक्नुनै राजनीतिको उत्किृष्ट नामुना हो। अपराध, लोभ, मोह इष्र्या र दम्भले कसैको राजनीति सफल हुन सक्दैन।

हिटलरको राजनीति, स्टालिनको राजनीति, माओको राजनीति, पोलपोटको राजनीति, बोकाशाको राजनीति, र हजारौं मान्छे मारी नेता बन्ने राष्ट्रघाती नेताहरुको राजनीति के राजनीति? निर्धा निमुखा मानिसहरुको ज्यान लिई राजनीति गनेहरुको नामहरु आज कुन सुनौलो नामले अक्षरमा लेखेको छ र? कुन शीला लेखमा लेखिएको छ र?

राजनीति यस्तो होस् जुन आदर्श मुलक होस्, प्रेरणादायी होस् र जन्म जन्मान्तर सबैले सम्झिरहुन।। यही हो राजनीतिको उत्तम नीति। यसै कुरालाई मनन् गरी आज संसारको राजनीति र हाम्रो देश नेपालको राजनीति यसरी नै फलोस फुलोस र फैलिओस भन्ने कामना।

राजनीतिलाई नकारात्मक सोचतिर लिंदै जाने हो भने फेरि तेस्रो बिश्व युद्ध हुने निश्चित छ। मानिस शान्तिको लागी युद्ध गर्दछन्। तर यसबाट मानिसलाई कहिले शान्ति प्राप्त हुनदिन्न। यसबाट मृत्यु मात्र अगाडि बढ्छ। यसमा धर्म अगाडि हुनु पर्दछ।

धार्मिक शाशन राजनीति हुनु पर्दछ जसमा महत्वकांक्षा नहोस। घमण्ड बिल्कुल नहोस। विकाश हदसम्मको हुनुपर्दछ। मानिस हराउने विकास, मानिस अल्मलिने विकास, मानिसलाई घमण्ड ल्याउने विकास र मानिसको दिमाग भुट्ने विकास र सारा प्रकृतिको विनाश गरी गरेको विकास के विकास?

त्यस्तै ठूलठूला  सिद्धान्तको विकास तर झन् झन् मानिस गरिब हुँदै जाने विकास के विकास ? अस्थायी विकासले केही हुने वाला छैन। सबै भन्दा मानिसको आत्म विकास हुनु नै बास्तबिक विकास हो।

संसारको राजनीतिज्ञ भएर राजनीति गर्नुपर्छ। परिवार, समाज र राष्ट्रलाई बिगार्ने राजनीतिज्ञको राजनीति यहाँ के काम? सबैले छि छि र दूर दूर गर्ने नेता हुने कि बुद्ध जस्तो संसार जित् हासिल गर्ने महमानव हुने?

राजनीतिको बिचार धार्मिक चित्तताको बिचारले हुनुपर्दछ। राजनीति चिरा चिरा परेको होइन, त्यसमा स्पस्ट राम्रो पेन्टिङ भएको हुनुपर्दछ, जसमा बिद्रोह र क्लेश पटक्कै नहोस। पार्टी मै भएपनि पार्टी भन्दा माथि उठी राष्ट्रको हित बारेको चिन्तन सधैं रहोस।

यही हो भित्र मनको राजनीति। गलत काम कहिले नगर्नु, केही गरि भैदिएमा त्यसको आत्म आलोचना गर्ने बानी बसाल्नु पर्दछ। जनताको मनोवैज्ञानिक अबस्थाको घनीभूत बिचार गरिनु पर्दछ, एउटा राजनीति गर्ने व्यक्तिले। नत्र राष्ट्रमा आधा आत्मा रोएका हुन्छन् र आधा मानिस मनोबैज्ञानिक डाक्टरहरुको बास हुनेछ भन्ने कुरा घाम झैं छर्लंग छ्र अनि त्यो बेलामा खै राजनीतिको मूल सिद्धान्त र आदर्श?

विषेश गरी विकसित मुलुकमा सुख सुविधा भएतापनि मानिसको आन्तरिक आनन्द भने ठूलो ह्रास आएको छ। जे मनमा आयो त्यही गर्ने बानी छ। लगाम नभइ बेलगाम भएकोछ। यसले मानिसको आन्तरिक विकास हुन सक्दैन।

प्रेम मनमा आयो, प्रेम गर्ने, रिश मनमा आयो आफ्नै पत्नीलाई पनि छोड्ने। मनलाग्दो गरी हिँड्ने। यो प्रेम हैन, द्वेष हो। यो नैतिक शिक्षाको कमी हो। मनमा द्वन्द्व हैन प्रेमको भावना लिनु पर्दछ जसले सबै नकारात्मक तत्वलाई प्रेममा समाहित गर्न सफल हुन्छ।

तसर्थ राजनीति गर्ने, चलाउने नेताहरुले आफ्नो भित्र मनमा केवल अढाई अक्षरको प्रेमको ज्वाला निकाल्नु अत्यन्त श्रेयष्कर हुन्छ, जसबाट सारा टुटे फुटेका मनका बस्तुहरु प्रेममा समाहित हुन गई जीवन उत्सर्गमा प्रवेश गर्दै अरुलाई पनि स्वस्थ जीवन बिताउन मद्दत मिल्नेछ।

खरीपाटीमा लेखिएको अस्थिर र ढुलमुले राजनीति र खरीको रुखमा झुन्ड्याएको जस्तो राजनीति नेपालले मागेको हैन। यो देशले स्थीर द्वन्द्वरहित, क्लेशरहित डाहरहित र बदलाको भावनारहितको राजनीति खोजेको हो।

नेपाली जनताले १०४ वर्षको राणा शासनको राजनीति फाले। २००७ साल पछिको प्रजातन्त्र फाले। २०१७ साल पछिको राजनीतिलाई फाले। २०४६ सालको प्रथम खुल्ला प्रजातान्त्रिक राजनीतिलाई पनि जबर्जस्ती फाले। २०६२/०६३ हुँदै अन्त्यमा २०७२ को नया संबिधान अनुरुप नया राजनीतिको उदय भयो।

तर राजनीतिको शैली भने उही पुरानै, नेताहरु उही पुरानै, शैली उही पुरानै, सोचाई उही पुरानै हुन पुग्यो। ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भने जस्तो भयो। खासै परिवर्तन कुनै राजनीतिक ब्यबस्थाले राजनीतिमा ल्याउन सकेन र यो देश जहाँको त्यही नै जस्तो रहन पुग्यो। भोका नांगा बढेकै छन्। गरिबी बढेकै छ, ऋणको भार प्रत्येक नेपालीमा बढेको बढ्यै छ।

उद्योग छैन, कारखाना छैनन्, बन्द ब्यापार बन्द छ। नेताहरु उही एकै स्वरमा तेरो र मेरोको रुन्चे स्वरको ओठे सवाल जवाफमा मस्त छन्। अनेक कुरा जनतालाई थाहा नै नदिई गरिरहेका छन्। खोइ राजनीति? सुकेको पात जस्तो राजनीति। कहिले भारत उडी जाने, कहिले चीन उडी जाने त कहिले पश्चिमा मुलुक र युरोप अमेरिका उडेर जाने यो कस्तो राजनीति? अब बुझ्न नसकिने भएको छ।

यसरी देशको राजनीति कतिन्जेलसम्म चल्ने हो? जनताले कति र केके सहनु पर्ने हो अझै थाहा छैन। कति उही नेता र कार्यकर्ताले र दलालहरुले मात्र राज गर्ने हो? खै जनताको र जनमुखी राजनीति जहाँ प्रेम, करुणा, दया माया र जनतासँग समर्पित राजनीति र नेताहरु? यहाँ राजनीति बास्तवमा छैन।

त्यसको बदलामा राक्षस नीति भएर निरन्तर देशबासीहरुलाई पिरोलिरहेको छ। तसर्थ राजनीतिको आवरणमा राष्ट्रघाती नीति लिइ बिरालो र मुसाको हिंसात्मक राजनीतिलाई तोडी संसारकै सबैभन्दा बलियो राजनीति बनाउने काममा सबै नेता, कार्यकर्ता र सम्पूर्ण राष्ट्र सेवक र सर्वसाधारण लाग्नुपर्छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो