१७ जना महिलालाई झुक्याएर बिहे गर्ने र करोडौं ठगी गर्ने ठग रमेश कसरी पक्राउ परे ?

डिसी नेपाल
५ फागुन २०७८ ११:४३

काठमाडौं। आफूलाई कहिले डाक्टर कहिले स्वास्थ्यउ मन्त्रालयको बरिष्ठ अधिकारी बताएर १७ जना महिलालाई आफ्नो जालमा फसाएर उनीहरुसँग बिहे गर्ने र पैसा ठग्ने धूर्त व्यक्ति पक्राउ परेका छन् । ६६ वर्षका रमेश चन्द्र स्वाइलाई आइतबार अबेर राती भुवनेश्वरको खंगगिरी इलाकामा रहेको एक अपार्टमेन्टबाट गिरफ्तार गरिएको हो । सोमबार त्यहाँका डिभिजनल ज्युडिशियल मजिस्ट्रेटले उनलाई न्यायिक हिरासतमा पठाएका छन् ।

चिल्ला कुरा गरेर महिलाहरुलाई फसाउने रमेशमाथि ८ राज्यका १७ जना महिलालाई झुक्याएर बिहे गरेको र उनीहरुको पैसा ठगेको आरोप छ । यी १७ जना महिलामध्ये ४ जना ओडिशाका, असमका ३ जना, दिल्लीका ३ जना, मध्य प्रदेश र पंजाबका २–२ जना तथा उत्तर प्रदेश, झारखण्ड र छत्तीसगढका १–१ जना छन् । भुवनेश्वरका डिसीपी उमाशंकर दासले बीबीसीसँग कुरा गर्दै भने ‘रमेशले यी १७ जना बाहेक अरु महिलाहरुलाई पनि आफ्नो जालमा फसाएको सम्भावना अस्वीकार गर्न सकिन्न ।’

उनले भने ‘१७ जनामध्ये ३ जनाको जानकारी हामीले रमेशको गिरफ्तारीपछि पायौं । यी तीनमध्ये एक ओढिशा, एक छत्तीसगढ र एक असमकी हुन् । तीनैजनाले उच्च शिक्षा प्राप्त गरेका छन् । हामी उनलाई रिमाण्डमा लिनेछौं र सोधपुछ गरेर यो पत्ता लगाउने कोसिस गर्नेछौं कि यी १७ जनाबाहेक उनले अरु कुनै महिलालाई पनि आफ्नो जानमा फसाएका त छैनन् ।’ दासका अनुसार रिमाण्डको क्रममा रमेशबाट उनका कर्तुतको धेरै जानकारी हासिल गर्नको लागि भुवनेश्वर महिला थानाका प्रभारीको नेतृत्वमा ३ सदस्यीय टिम बनाइएको छ ।

रमेशको मोवाइल फोनलाई फरेन्सिक जाँचको लागि पठाइनेछ र उनको वित्तिय लेनदेनको बारेमा पनि जाँच गरिनेछ । रमेशको गिरफ्तारीबारे जानकारी दिँदै दासले भने ‘हामी केही दिनदेखि यी व्यत्तिःलाई खोजिरहेका थियौं र समात्नको लागि जाल बिच्छ्याएका थियौं । तर, उनी कैयौं महिनादेखि भुवनेश्वर बाहिर बसिरहेका थिए र मोवाइल नम्बर पनि बदलेका थिए त्यसैले समात्न सम्भव भइरहेको थिएन । अन्ततः आइतबार हामीलाई एक सूत्रबाट उनी भुवनेश्वर आएको थाहा भयो र हामीले त्यही रात खंडगिरीको अपार्टमेन्टबाट समात्यौं ।’

भुवनेश्वर पुलिसले जुन मुद्दामा रमेशलाई खोजिरहेको थियो त्यो उजुरी उनले ठगेका १७ मध्ये एक महिलाले दर्ता गराएकी थिइन् । दिल्लीको एक स्कुलमा पठाउने महिला रमेशकी अन्तिम शिकार थिइन् । आफूलाई स्वास्थ्य मन्त्रालयको उप निर्देशक बताउँदै रमेशले यी महिलासँग नाता जोडे र २०२० मा कुबेरपुरीको आर्य समाज मन्दिरमा उनीसँग बिहे गरे । केही दिन दिल्लीमा बसेपछि रमेश आफ्नी नयाँ दुलही लिएर भुवनेश्वर गए र खंडगिरीमा एक अपार्टमेन्टमा बस्न थाले ।

भुवनेश्वरमा बस्ने क्रममा दिल्लीकी यी महिलालाई कुनै तरिकाले रमेश पहिले नै विवाहित भएको थाहा भयो । यसबारे पूरै पुष्टि गरेपछि उनले ५ जुलाइ २०२१ मा भुवनेश्वरको महिला थानामा रमेशविरुद्ध उजुरी दिइन् र आफू दिल्ली फर्किइन् । भुवनेश्वर पुलिसले उजुरी दर्ता गरेर रमेशको खोजी सुरु गर्यो । तर, रमेशलाई सम्भवतः यो कुराको जानकारी भएपछि उनले आफ्नो मोवाइल नम्बर बदले र भुवनेश्वरबाट भागे । पुलिसका अनुसार भुवनेश्वरबाट भागेपछि उनी गुवाहाटीमा आफ्नी अर्की पत्नीसँग बसेका थिए ।

७ महिनापछि अब यो कुरा सेलायो भन्ने ठानेर रमेश भुवनेश्वर फर्किए तर उनलाई थाहा थिएन कि उनकी दिल्लीवाली पत्नीले त्यहाँ सुराकी लगाइराखेकी थिइन् । यी सुराकीले रमेश खंडगिरीको अपार्टमेन्टमा फर्केर आउनासाथ यी महिलालाई खबर दिए । महिलाले यो सूचना भुवनेश्वर पुलिसलाई दिइन् र अन्ततः वर्षौंदेखि महिलाहरु र पुलिसलाई झुक्याएर भागिरहेका रमेश पक्राउ परे । ओडिशाको केन्द्रापाडा जिल्ला निवासी रमेशको पहिलो विवाह १९८२ मा भएको थियो । आफ्नी पहिली पत्नीबाट उनका ३ छोरा छन् । तीनैजना डाक्टर हुन् र विदेशमा बस्छन् ।

पहिलो बिहेको २० वर्षपछि २००२ मा उनले आफ्नो पहिलो शिकारलाई जालमा फसाएका थिए । पुलिस सूत्रका अनुसार उनको जालमा फस्ने यी महिला झारखण्डकी थिइन् र ओडिशाको बन्दरगाह नगर पारादीपमा एक निजी कम्पनीले चलाइरहेको एक अस्पतालमा डाक्टर थिइन् । केही दिनपछि यी महिलाको सरुवा इलाहाबादमा भयो त्यसपछि रमेश पनि त्यही गएर तिनै पत्नीसँग बस्न थाले र विभिन्न चिल्ला कुरा गरेर ढाँटेर उनीसँगबाट पैसा र गहना लिइरहे ।

भुवनेश्वर पुलिसले अहिलेसम्म पाएको जानकारी अनुसार रमेशले दिल्लीकी आफ्नी शिक्षिका पत्नीसँग १३ लाख र सेन्ट्रल आर्म्ड पुलिसकी एक महिला अधिकारीसँग १० लाख रुपैयाँ ठगेका थिए । उनका अन्य धोकाका कर्तुतबारे पुलिसले जानकारी जुटाइरहेको छ । चतुर रमेश आफ्नो शिकार निकै सावधानीका साथ छान्थे । शिकार खोज्नको लागि उनी धेरैजसो मेट्रिमोनियल साइटको सहारा लिन्थे । उनी यस्ती महिला छान्थे जसको उमेर बढिसकेपछि पनि बिहे भएको छैन वा जसको सम्बन्धविच्छेद भइसकेको छ वा पतिसँग छुट्टिएर बसेकी छिन् । शिकार निश्चित गर्ने क्रममा उनी यो कुराको खास ख्याल गर्थे कि महिला जागिरे र धेरै पैसावाली होउन् ।

आफ्नो लक्ष्य तय गरेपछि रमेश मेट्रिमोनियल साइटबाट उनीसँग सम्पर्क गर्थे । त्यसपछि उनीसँग भेटेर आफ्ना चिल्ला कुराको माध्यमबाट उनको विश्वास जित्थे । रमेश आफूलाई कहिले डाक्टर कहिले केन्द्रीय स्वास्थ्य मन्त्रालयको बरिष्ठ अधिकारी बताउँथे । भुवनेश्वर पुलिसका अनुसार आफ्नो शिकारको मनमा विश्वास उत्पन्न गराउनको लागि उनले कैयौं जाली परिचय पत्र बनाएका थिए । यसका साथै स्वास्थ्य मन्त्रालयको लोगो भएको नक्कली पत्रको पनि प्रयोग गर्थे । रमेशले विधुभूषण स्वाइ र रमणी रंजन स्वाइ नामबाट फर्जी परिचय पत्र बनाएका थिए जो उनको गिरफ्तारीको क्रममा उनको खंडगिरीको अपार्टमेन्टबाट बरामद भए ।

रमेश डाक्टर होइनन् तर उनले कोच्चीबाट पारा मेडिकल, लेबोरेटरी टेक्नोलोजी र फार्मेसीको डिप्लोमा कोर्स गरेका थिए जसबाट उनलाई चिकित्सा विज्ञानबारे केही जानकारी थियो । यो जानकारी महिलाहरुलाई झुक्याउन काम लाग्थ्यो । महिलाहरुसँग झुटो बिहे गरेर ठग्नुका साथै रमेशले कैयौं अरु मानिसहरुलाई पनि ठगेका थिए । उनले मेडिकल कलेजमा भर्ना गराइदिने भनेर देशका कैयौं युवाहरुलाई जालमा फसाए र पैसा ठगे । यस क्रममा उनलाई हैदराबाद पुलिसको स्पेसल टास्क फोर्सले पक्राउ पनि गरेको थियो । तर, धरौटीमा बाहिर आएपछि उनले फेरि ठगीको काम जारी राखे ।

डिसीपी दासका अनुसार यस सम्बन्धमा भुवनेश्वर पुलिसले हैदराबाद पुलिससँग सम्पर्क गरेर थप जानकारी जुटाइरहेको छ । यसका अलावा रमेशले २००६ मा मेडिकल विद्यार्थीलाई शिक्षा ऋण दिलाउनको लागि फर्जी दस्तावेज दिएर केरलका विभिन्न बैंकबाट एक करोडभन्दा धेरै रकम ठगी गरेका थिए । यो मामिलामा पनि उनी गिरफ्तार भएका थिए तर केही समयपछि धरौटीमा रिहा भएका थिए ।

यतिमात्र होइन रमेशले एक गुरुद्वारालाई मेडिकल कलेज खोल्ने अनुमति दिलाउने भन्दै झुक्याएर १३ लाख रुपैयाँ ठगेका थिए । देशका कैयौं राज्यमा यति धेरै मानिसहरुलाई ठगेर २ पटक गिरफ्तार भएर पछि रमेश अहिलेसम्म कानुनको पकडमा कसरी आएनन् र आफ्नो खुराफाती दिमागको प्रयोग गरेर महिलाहरुसँग बिहे गरिरहे र मानिसहरुलाई ठगिरहे यो आश्चर्यमा पार्ने कुरा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *