मोहम्मद महबूब, जो स्नेहालाई बचाउन दौडिरहेको ट्रेनमुनि गए

डिसी नेपाल
५ फागुन २०७८ १२:०५

काठमाडौं। मध्य प्रदेशको राजधानी भोपालका ३७ वर्षका मोहम्मद महबूब पेशाले सिकर्मी हुन् जसले सहरको बडखेरी क्षेत्रको एक पसलमा काम गर्छन् । तर, पछिल्ला केही दिनमा उनको जीवन बदलिएको छ । उनलाई कैयौं ठाउँमा सम्मान गरिएको छ र बधाइ दिनेहरु लगातार उनको घर पुगिरहेका छन् । महबूबले ५ फेब्रुअरीमा आफूलाई खतरामा पारेर रेलवे ट्रयाकमा फसेकी एक युवतीको ज्यान बचाएका थिए । युवती ट्रयाकमा रोकिएको मालगाडी मुनिबाट ट्रयाक पार गरिरहेकी थिइन् त्यही बेला ट्रेन चल्यो ।

युवतीले सहयोगका लागि गुहार मागिनन् र नजिकै रहेका महबूब तत्काल ट्रेनमुनि गए । उनले युवतीलाई अँठ्याएर राखे । यसबीच उनीमाथिबाट बालगाडीका कैयौं डिब्बा गए । ट्रेन गएपछि महबूब र युवती दुवै सुरक्षित रहे । महबूबले भने ‘यो काम अल्लाहले गराइदिनुभयो । उनले सहयोग माग्दा म करिब ३० फिट टाढा थिएँ । करिब ३०–४० जनाले हेरिरहेका थिए । तर मैले महसुस गरें कि सहयोग गर्नुपर्छ र मैले त्यही गरें ।’

उनका अनुसार घटना ५ फेब्रुअरीको हो तर उनले धेरै कम मानिसहरुलाई यसबारे बताएका थिए । उनी आफैं पनि यसबारे अरुलाई थाहा होस् भन्ने चाहँदैनथे । उनको बहादुरीबारे शायद मानिसहरुले थाहा पनि पाउँदैनथे यदि उनको भिडियो भाइरल हुँदैनथ्यो । त्यहाँ भिडमा रहेका कसैले उनको भिडियो बनाएर ११ फेब्रुअरीमा शेयर गरे र भिडियो भाइरल भयो । त्यसपछि महबूब भोपालमा मानिसहरुको चर्चाको विषय बने ।

महबूबलाई ती युवतीबारे धेरै थाहा थिएन । उनले बचाएपछि युवती रुँदै त्यहाँ भएका एक व्यक्तिको साथमा गइन् । महबूब तीन वर्षकी छोरीका पिता हुन् । उनीसँग उनका मातापिता पनि बस्छन् । महबूबका अनुसार यो कुरा उनले मातापिता र पत्नीलाई बताउँदा उनीहरुले राम्रो काम गरेको भने । तर, जब शनिबार महबूबले भाइरल भएको भिडियो पत्नीलाई देखाए त्यसपछि मात्रै उनकी पत्नीलाई महसुस भयो कि उनले कति ठूलो काम गरेका थिए ।

जुन युवतीलाई महबूबले बचाए उनको नाम स्नेहा गौर हो र उनी भोपालमा एक निजी संस्थानमा सेल्सको काम गर्छिन् । स्नेहाले अहिलेसम्म महबुबलाई भेटेकी छैनन् तर उनले महबुबले नै आफ्नो ज्यान बचाएको बताइन् । स्नेहालाई लिन उनका दाजु आएका थिए जो ट्रयाकको अर्कोतर्फ थिए । स्नेहाका अनुसार उनी आफ्ना दाजुलाई आफू सुरक्षित भएको बताउन चाहन्थिन् त्यसैले पटक पटक टाउको उठाइरहेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *