दोस्रो खेलमा पनि नेपालको शानदार जीत, सोमबारको खेलमा कुनै दबाब नहुने

डिसी नेपाल
७ फागुन २०७८ १५:०२

काठमाडौं। टि–२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा नेपालले शानदार जीत हात पारेको छ । आज भएको फिलिपिन्सविरुद्धको खेलमा नेपालले १३६ रनको विशाल जीत हात पारेको हो । नेपालले दिएको २१९ रनको लक्ष्य पच्छ्याएको फिलिपिन्स निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ८२ रन मात्र बनाउन सक्यो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको षतिमा २१८ रन बनाएको थियो । नेपालको ओपनिङ पार्टनरसिप भने राम्रो हुन सकेको थिएन । नेपालले पहिलो विकेट दोस्रो ओभरमै गुमाएको थियो । आसिफ शेख शून्यमै आउट भएका थिए । त्यतिबेला नेपालको स्कोर केवल ९ रन थियो । नेपालले ३६ रनको स्कोर बनाउँदा कुशल मल्ल पनि व्यक्तिगत १२ रनमा आउट भए ।
त्यसपछि भने ओपनर कुशल भुर्तेल र दिपेन्द्र सिंह ऐरीले शानदार साझेदारी गरे । उनीहरुले कूल १७१ रनको साझेदारी गरे । कुशल भुर्तेल १०४ रनमा नटआउट रहे । दिपेन्द्र ४७ बलमा ८३ रन बनाएर आउट भए । लोकेश बम ६ रनमा नटआउट रहे । फिलिपिन्सका लागि ड्यानियल स्मिथ, मिग्गी पोडोस्की र गुरभूपिन्दर चौहानले १–१ विकेट लिए ।

२१९ को लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको फिलिपिन्सले २० ओभरमा ८ विकेटको क्षतिमा ८२ रन मात्र बनायो । फिलिपिन्सका लागि जोर्डन अलेग्राले २७ ड्यानियल स्मिथले २०, जोनाथन हिलले ११ रन बनाए । नेपालका लागि सन्दिप लामिछानेले ३ विकेट लिए । गुलशन झा, जितेन्द्र मुखिया, अविनाश बोहोरा, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।

यससँगै नेपालले सेमिफाइनलमा स्थान लगभग पक्का गरेको छ । चमत्कार नै भएको अवस्थामा बाहेक अब नेपालको सेमिफाइनल यात्रा रोकिने छैन । नेपालको ४ अंक छ र नेट रनरेटमा पनि सबैभन्दा माथि छ । क्यानडा र ओमानको २–२ अंक छ । सोमबार नेपालले क्यानडासँग र ओमानले फिलिपिन्ससँग खेल्नेछन् । नेपालले भोलिको खेल हारेकै अवस्थामा पनि सामान्य अन्तरले हारेमा नेपाल शीर्ष स्थानमै कायम रहनेछ त्यसैले सोमबार नेपाललाई खेलमा कुनै दबाब हुने देखिन्न ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *