आइपिएल २०२२ पूर्वनिर्धारित मितिभन्दा चाँडै सुरु हुने, ६ वटा मैदानमा मात्र खेलिने

डिसी नेपाल
७ फागुन २०७८ १६:४४

काठमाडौं। संसारकै महंगो टि–२० क्रिकेट लिग इण्डियन प्रिमियर लिगको २०२२ को संस्करण ६ वटा मात्र मैदानमा खेलिने सम्भावना उच्च देखिएको छ । यीमध्ये ४ वटा मैदान मुम्बइका हुनेछन् । एउटा मैदान पुणेको र एउटा मैदान अहमदाबादको हुनेछ । यसबाहेक आइपिएल पूर्वनिर्धारित समयभन्दा चाँडै हुन सक्ट । यसअघि २ अप्रिलमा सुरु भएर ३ जूनमा सकिने योजना बनाइएको आइपिएल अब एक हप्ता पहिल्यै २७ मार्चमा सुरु गरेर २८ मेमा फाइनल खेल गराउने तयारी गरिएको छ ।

स्पोर्टस्टारले बीबीसीआइ स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार बीसीसीआइले ७० खेलको लिग चरणको लागि महाराष्ट्रका ५ मैदानलाई सर्टलिस्ट गरेको छ । त्यसपछिका प्लेअफ र फाइनल खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा गराउने तयारी गरिएको छ । कोभिड १९ संक्रमणका केसहरु अझै उल्लेख्य रहेकोले लगातार फरक फरक सहरमा यात्रा गर्दा हुन सक्ने जोखिम कम गर्नको लागि यस्तो गर्न लागिएको हो ।

रिपोर्टका अनुसार यो प्रस्तावबारे १० वटै फ्रेन्चाइजसँग गत हप्ता भएको खेलाडीको लिलामीको क्रममा अनौपचारिक रुपमा छलफल समेत भएको छ । बीसीसीआइले पछिल्लो पटक महाराष्ट्रमा ४ वटा मैदान मात्र तय गरेको थियो तर पिच तयार गर्न लाग्ने समयलाई मध्यनजर गर्दै नवी मुम्बइमा रहेको रिलायन्स जियो स्टेडियम पनि थप गरिएको छ । अब बीसीसीआइले दक्षिण मुम्बइका वानखेडे स्टेडियम र ब्राबोर्न स्टेडियम, नवी मुम्बइका डा. डीवाइ पाटिल स्पोर्टस स्टेडियम र रिलायन्स जियो स्टेडियम तथा पुणेको महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा खेल आयोजना गर्नेछ ।

नयाँ थपिएको रिलायन्स जियो स्टेडियम रिलायन्स कर्पोरेट पार्कले बनाएको हो र अहिलेसम्म मुम्बइ इण्डियन्सको प्रशिक्षण केन्द्र रहिआएको थियो । यद्यपि यो स्टेडियममा आइपिएलका खेल संचालन गर्नको लागि सबै आधुनिक सुविधा रहेकोले आइपिएलको आयोजक समूहले अर्को हप्ता यहाँ प्रसारणको परीक्षण गर्न सक्नेछन् । प्रसारण टिकले दिएको सुझावका आधारमा बीसीसीआइले फेब्रुअरी महिनाको अन्त्यतिर आइपिएलको विस्तृत तालिका जारी गर्न सक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *