सुजलको गोलमा मछिन्द्रको जित

डिसी नेपाल
७ फागुन २०७८ १९:२७

काठमाडौं । इन्जुरी समयमा प्राप्त पेनाल्टीलाई कप्तान सुजल श्रेष्ठले सदुपयोग गरेपछि सहिद स्मारक ‘ए’ डिभिजन लिगको १२औं चरणअन्तर्गत शनिबार लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले थ्री स्टार क्लबले १–० ले पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा सुजलको उक्त पेनाल्टी गोल नै मछिन्द्रको जितमा निर्णायक बन्यो ।

थ्री स्टारका जिवन गुरुङले अभिषेक गुरुङलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि मछिन्द्रले इन्जुरी समयमा पेनाल्टी पाएको थियो । जसमा सुजलले कुनै गल्ती गरेनन् ।

त्यसअघि सुरुआती १० मिनेटसम्म दुबै टोलीले गोलका गतिला अवसर बनाउन सकेनन् । थ्री स्टारका रफाइल रिमले १७औं मिनेटमा प्रहार गरेको फ्रिकिक पोस्टको दिशा लिन सकेन ।

खेलको १९औं मिनेटमा थ्री स्टारका आयुश घलानले दिएको पासमा हेमन्त थापामगरले गरेको प्रहार विशाल श्रेष्ठले पन्च गरिदिए ।

मछिन्द्रका २२औं मिनेटमा उत्सब राईको कर्नरमा सोनम भुटियाले गरेको लोअर हेडरलाई थ्री स्टारका गोलकिपर प्रिसोले बाहिर फ्याकिदिए ।

मछिन्द्रका अभिषेक रिजालले २४औं मिनेटमा अग्रताको सुन्दर मौका खेर फाले । मछिन्द्रका डिफेन्डर रजिन धिमालको लामो प्रहारमा थ्री स्टारका निशान खड्का हेडमार्फत गोलकिपरलाई दिएको ब्याक पास दिन्छन् । तर, त्यसलाई भेट्टाउदै अभिषेकले प्रहार गरे पनि निशानले नै गोललाइनबाट क्लियर गर्दै थ्री स्टारको संकट टारेका थिए ।

इन्जुरी समयमा अभिषेक राईले गोलको अर्को सुन्दर मौका खेर फाले । बुद्ध राईलाई उपलब्ध गराएको पासमा अभिषेकले थ्री स्टार गोलकिपरलाई वान भर्सेस वानको अवस्थामा बिट गर्न सकेनन् । त्यसअघि बुद्धलाई डिफेन्सबाट उत्सब राईले लामो पास दिएका थिए ।

थ्री स्टारका हेमन्त थापामगरले ४८औं मिनेटमा १८ बक्स बाहिरबाट गरेको फ्रिकिक प्रहार पोस्टको केही इन्चमाथिबाट बाहिरियो ।

थ्री स्टारका घनिफो रोमाहले ५१औं मिनेटमा १८ यार्ड बक्सबाट गरेको प्रहार सेकेन्ड बारको नजिकैबाट बाहिरियो । ७४औं मिनेटमा आयुश घलानले क्रसलाई रितिक खड्काले फाइनल टच दिन सकेनन् ।

८८औं मिनेटमा थ्री स्टारका सञ्जोक राईले मध्य मैदानबाट उपलब्ध गराएको पासमा गोलकिपरसँग वान भर्सेस वान रहँदा विजय भुजेलले बललाई पोस्टका दिशा दिन सकेनन् ।

तालिकामा १२ खेलबाट ३२ अंक जोडेर शीर्ष स्थानमा रहेको मछिन्द्रले अपराजित रहँदै लिगको उपाधि जितिसकेको छ ।

यस्तै, समान खेलबाट १८ अंक जोडेको थ्री स्टार तालिकाको चौथो स्थानमा यथावत् छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *