हिमालयन शेर्पालाई हराउँदा जावलाखेलको रेलिगेसन टर्यो

डिसी नेपाल
८ फागुन २०७८ १५:३६

काठमाडौं।रुपबहादुर लामा र ओन्गुना जुनियरको गोल प्रेरित जावलाखेल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबलाई २–१ अन्तरले पराजित गरेको छ । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्राप्त जितसँगै जावलाखेलले रेलिगेसन जोनका सम्भावित डर टारेको छ ।

जावलाखेलको जितमा रुपबहादुर र जुनियरले गोल गर्दा शेर्पाका अमृत श्रेष्ठले सान्त्वना फर्काए ।खेलको १५औँ मिनेटमा रुपबहादुरले गोल गर्दै जावलाखेललाई सुरुवाती अग्रता दिलाए । उनको कर्नर प्रहार आकर्षक रुपमा जाली चुमेको थियो । राष्ट्रिय टोलीका गोलरक्षक समेत रहेका दीप कार्कीले उनको प्रहार गोलमा रुपान्तरणा भएको ठम्याउनै सकेनन् ।

७१औँ मिनेटमा अमृतले गोल गर्दै हिमालयनलाई १–१ को बराबरीमा ल्याए । प्राप्त बललाई सिक्स यार्ड बक्समा नियन्त्रणमा लिँदै अमृतले बाइसाइकल गोल गरेका थिए ।

निर्धारित समयको खेल सकिन दुई मिनेटअघि ओन्गुनाले गोल गर्दै जावलाखेललाई २–१ को जित दिलाए ।जितसँगै जावलाखेल १२ खेलबाट १३ अंक सहित नवौँ स्थानमा उक्लिएको छ । समान अंक भए पनि उसले शेर्पालाई हेड टु हेडमा पछि पारेको हो । शेर्पा १०औँ स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *