विष्णु सर, अब लण्डनबाट कहिल्यै फर्किनु हुन्न र ?

डिसी नेपाल
१४ फागुन २०७८ १४:१३

विगत पचपन्न घण्टादेखि म निदाउन सकेको छैन किनकि भोलि मेरो परीक्षा छ त्यसमा पनि केमिष्ट्रिको । खाली मेरो दिमागमा पहिले घुमेका ठाँउहरु, वर्थडे सेलिव्रेसन, पार्टीहरु, विद्यार्थी राजनीति गर्दा ताकका रमाइलो अनि सवैभन्दा त +२ देखि पढाएका सरहरु त्यसमध्येमा पनि विष्णु सरको यादले अड्डा जमाइरहेछ ।

चिटिक्क मिलेको शरीर, मुस्कानसँगैको मिलेको पहिरन, सामाजिक चेत, मिठो बोली, मित्रवत व्यवहारसँगै कक्षा कोठा भित्र वा वाहिर दिने मोटिभेसनल स्पिचले गर्दा जो कोहि पनि उहाँको फ्यान नहुने त कुरै थिएन ।

प्रायः मेरा मित्रहरूले उहाँलाई ‘सेलिब्रेटी सर’ को उपनामले पनि चिन्थे । रसायन शास्त्रमा स्नातकोत्तर गर्नुभएको उहाँले अधिकांश शास्त्रहरू पनि अध्ययन गर्नुभएको थियो । कोही भेट्यो कि प्रसंग मिलाई मिलाई श्लोक सुनाएर सबैलाई रल्ल पार्नुहुन्थो ।

वैज्ञानिकका अनुसार यदि कुनै केटी वा केटालाई ८.२ सेकेण्डसम्म लगातार एक अर्कालाई हेर्नुलाई प्रेममा पर्नु भनिन्छ । सायद म पनि यो समयमा पुस्तकहरुको प्रेमको सट्टा विष्णु सरको प्रेममा परेछु क्यारे अनर्थ नलागोस् कि म परेको चाहिँ उहाको विचार एवम् व्यवहारको प्रेम हो है। मेरो विचारमा सायद अधिकांश मान्छेले आफूलाई दवाव एवम् तनाव मुक्त पार्न आफूलाई मनपर्ने कुराको स्मरण गर्छ होला कि ऊ गुज्रिरहेको उक्त अवस्थावाट चाँडै मुक्ति पाइयोस् भनेर । त्यसैले पनि हामी दुःख को वेला ईश्वरको ध्यान गर्छौ होला । यतिखेर मलाई विष्णु सरको स्मरण भइरहेछ ।

एकपटक म प्राक्टिकलको दिन ज्वरोले थिलोथिलो परेथें, र बल्लतल्ल ल्याबमा पुगेपछि सरले सोध्नु भएथ्यो, के भो तिमीलाई ? भनेर । मेरो निधारमा हात लगाउदै हैट ज्वरो पो आएछ । हाजिर गर यहाँ अनि जाऊ रुममा गएर सुत पछि म भाइवामा बोलाउछु भनेर सहानुभूति दिँदा लागेथ्यो उहाँ मेरो गुरु मात्र होइन साक्षात बुवाको अवतार पनि हो ।

परीक्षा पनि सकियो अनि मलाई रिलिफ फिल भयो अनि यसो विचार गरे ह्वाट नेक्स्ट ? मेरो दिमागमा तिनै विष्णु सरको यादले जन्माएका विचारलाई लिपिवद्ध गरुँ कि आउदा दिनहरूमा हाम्रो समाजमा रहेका अधिकांश विष्णु सरहरूको कथा स्वर्ण अक्षरमा लेखियोस ।

वि. सं. २०६२÷६३ को जनान्दोलनको शुरुवातीताका उनले आफ्नो जिन्दगीको मानसिक रुपको आन्दोलन सकेका रहेछन् अर्थात् उहाँको डिग्री सकिएको रहेछ । विदेश जाने पनि सोचेका थिए रे तर त्यतिखेरको परिस्थिति र मनस्थिति मिलेन कि खै के भो भाई भनेर एकदिन त मलाई ग्राफ नै वनाएर देखाएका थिए ।

‘मलाई राज्यले यत्रो लगानी गर्यो भने मैले राज्यलाई किन नगर्ने’ भन्ने सोचले मलाई त्यतिखेर तत्काल विदेश जाने प्रयास बाट रोक्यो । त्यसपछि शुरुवात गरे वागलुङको विद्यामन्दिर उच्च मा.वि मा +२ पढाउन। त्यतिबेला त्यो धवलागिरीमा साइन्स पढाउने पहिलो कलेज थियो विद्यामन्दिर भाई भन्दै बेलिविस्तार लगाउँदै गए ।

मलाई अल्ली वायोग्राफी सुन्न झ्याउ लाग्छ के सर भन्दा उनले जोशिदै ‘हैट भइहाल्छ नि भाइ’ भन्दै मैले बुटवल क्याम्पस पढ्दा एउटी नेवार्नीले धन्न फसाइन नि भाई भन्दै ल हेर म यस्तो झिल्के थिए भन्दै एल्वम पल्टाए अनि आफ्ना कुराहरू सल्टाए । कुरा गर्दा गर्दै के हुन्छ अब, काम बन्छ नि भन्दै आँखाँ सन्काएर हा..हा.. गर्दै जोडले हाँसे भने बहुत खुसी हुन्थे सवै ।

पछि धवलागिरी क्याम्पसमा बि.एस्सी सुरु भएपछि त्यतै पढाउन थालेछन् । केहि समय अध्यापन गराएपछि उनले अहिले सवै छोडेर लण्डन तिर वसाइ सरेछन्। म केहि समय अगाडि क्याम्पस पुग्दा त विष्णु सरले पनि छोडेर जानुभो भनेर धेरैले यसलाई बहसको विषय वनाएका रहेछन् । म त एक्कासी सक पो भएँ । मेरा मित्र कुमारले भने क्या गजब हुनुहुन्थो विष्णु सर जानु भएछ एक्कासी, कलेज पढ्दा उहाँको मैले क्यारिकेचर पनि गरेको थिएँ यार समयले कसलाई कता पुर्याउँदो रहेछ थाहा नहुदो रछ भन्दै गुनासो पोखे ।

त्यतिकैमा वि.एस्सी पढ्ने भाई नविन पनि हामीमाझ टुप्लुक्क आइपुगे । अनि मैले सोधें ‘के भो विष्णु सर त जानुभएछ नि लण्डन तिर के हो कुरो ? भन्दै सोधें जवाफमा मलाई उनले सरको विदाईका क्षणका अनौठा अनुभूतिहरु सुनाए । ‘विदाई कार्यक्रम चल्दै थियो उहाँको प्रशंशा एवम् योगदानको कदर गर्दा गर्दै सबै विद्यार्थी निराश एवम् उहाँका सहपाठीहरुको मन जलिरहेको थियो यो मानेमा कि उहाँसंगसंगै काम गर्न नपाएको भन्दै । त्यसैको बीचमा विष्णु सरका हितैषी प्राध्यापक मनोज सर त झन आँखावाट ह्वार ह्वार आँशु बगाउदै भनेछन् ‘आज म टुहुरो भएँ’ त्यसपपछि सवै जनाको रुवावासीले कार्यकम नै बिथोलियो ।

श्याम प्रभुजी, कहिलेकाही असल शिक्षकले ठाउँ छोड्दाको पीडा समाज एवम् राष्ट्रलाई नै अतुलनीय हुँदो रहेछ । यहाँ हजुरलाई सजीवले मात्र त के भनौ निर्जीव ले पनि सम्झिन्छ भन्दै हुनुहुन्थ्यो विकट गाउँका एक अभिभावक प्रेमजी पनि ।

रसायन शास्त्रका प्राध्यापक नरेन्द्र सर जो वकिल पनि हुनुहुन्छ संगै उहालाई कानुनको प्रतिमूर्ति मान्दा पनि फरक पर्दैन। फ्याक्ट र लजिक बाहेक केही नबेल्ने उहाँलाई बोलीको बेन्चमार्क मान्दा पनि फरक नपर्ला । एक दिन उहाँ र म चिया खाँदै थियौ सरले विष्णु सरसँग टेलिफोन संवाद गर्ने भन्दै कल गर्नुभयो ।

सबै कुरा भइसकेपछी उहाँले विष्णु सरलाई सोध्नु भो, सर हजुर जान लाग्नुभएको हो र ? जवाफमा उहाँले हो सर भन्नु भो फेरी नरेन्द्र सरले दुःख लाग्यो सर भनिरहँदा विष्णु सरले भन्नुभो यस्तै त हो सर जीवन जुट्ने छुट्ने, के खाँचो छ र मास्टरको यहाँ । भन्दा नरेन्द्र सर टक्क रोकिए अनि भने ‘मास्टर त आउला तर हजुर जस्तो त खोई ?’

सन्नाटा छायो वरिपरि अनि अवाक भई फोन काटियो र यसले मेरो मन देखि मष्तिस्कसम्म बाटो बनायो । यसअघि मैले कहिल्यै नरेन्द्र सरको मुखवाट यस्तो सुनेको थिइन । ‘हुरी पनि लाग्यो र विष्णु सरसँगको दुरी पनि बढ्यो ।’

अनि सम्झिए, उहाँले बोलेको वाक्य ‘भाई म म्याडमको सरुवाको प्रक्रियाको कारणले स्खलित भएँ ।’ त्यतिवेला उहाँको चन्द्रवदन जस्तो मुहारमा डढेलो लागेको थियो । भाई, सरुवा गराउन भन्दै एक वर्षयता मैले विभिन्न संघ संगठनका मान्छे यति भेटे भनेर मात्रै करिब १५ मिनेट सुनाए । म छक्क परे अनि सरले भने उनीहरुको चेतना, वैद्धिक स्तर र शैली देखेर म स्खलित भए । श्याम सुन न जुन देशमा कठालाको मयल फाल्न नसक्ने व्यक्तिले देश सफा गर्छु भनेर धाक लगाउँछ यस्तो ठाउँको समाज कसरी विकसित हुन्छ ? तिमी आफै भन भन्दै प्रश्न चिन्ह मेरा सामु खडा गरिदिए जुन प्रश्नले मलाई आजसम्म पनि लगारी रहेछ त केवल पुर्णविराम खोज्नलाई ।

यती लेख्दा लेख्दै मेरो मन काठमाण्डैका कोठामा जी. आर. ई का भोक्याबका किताब भित्र चलमलाई रहेछ त शब्दहरूको सञ्जालमा संगै । किताब खोलेको के थिए एउटा प्रख्यात अंग्रेजी शब्द मेरा सामु देखा पर्यो त्यो हो इन्टेलिजेन्ट अथात् नेपालीमा बुद्धिमान । यसको शाब्दिक अर्थ हुदो रहेछ प्रफेक्ट मेमोरी एण्ड प्रवलम सल्भिङ क्यापासिटी अथात् जोसँग पूर्ण स्मरण शक्ति र समस्या हल गर्नसक्ने क्षमता हुन्छ त्यस्तो व्यक्तिलाई इन्टेलिजेन्ट भनिदो रहेछ । आङ नै सिरिङ्ग भो यो शब्दको गहिराई थाहा पाएर मेरो । विष्णु सर इन्टेलिजेन्ट पो रहेछन् यो थाहा पाएर म पुनः झसङ्ग भएँ ।

सपनामा एकदिन व्रजका ठूला रसिक बाबाले मलाई यस्तो प्रवचन दिए यसरी, पुरातन वौद्धिक सभ्यतादेखि लिए नेपाली समाजसम्म शिक्षकले अग्रणी भुमिका निर्वाह गरेको देखिन्छ । नेपाली समाजमा शिक्षकको राजनैतिक सहभागिताले यस पेशा प्रति मान मर्यादा घटेको त छ नै तैपनि जुन शिक्षक आफ्नो पेशाप्रति वफादार भइरहेका छन् जसलाई राजनीतिमा खासै चासो छैन तिनीहरु नै आज चेपुवामा परिरहेछन् । अनि बढ्दो माग छ यो सेमीनारको संसार भर ‘ह्वाई व्याड थिङ्स ह्यापन्ड टू गुड पिपल’ अथात् राम्रो गर्नेलाई नराम्रो र नराम्रो गर्नेलाई रामो किन हुन्छ ?

म सपना र विपनाको खाडल अध्ययन गर्दा गर्दै विष्णु सरको फोन आयो । शुरुवात हाँसोबाट नै भो, सवै कुराकानी भइसकेपछि मैले सरलाई सोधे विष्णु सर, अब हजुर कहिल्यै बागलुङ फर्किनु हुन्न है ? जवाफमा सरले भाइ, “म त्यस समाजका दिग्गज भनाउँदाहरुको दृष्टिकोण र जनमानसको बुझाईको खाडलमा परेर म धन्न बल्ल तल्ल गरेर फुत्किएको छु म कहाँ फर्किन्छु ?’ यो जन्ममा सम्भव छैन होला सायद । उहाँको उत्तरले मैले खोजेको सपना र विपनाको खाडल थाहा पाए त्यो समाजको मुड (भावना) एवम् सामाजिक चेतना रहेको कुरा थाहा पाए । लाग्यो कि सपनामा प्रश्न सोध्ने र विपनामा उत्तर दिने महन्त यिनै बिष्णु सर पो रहेछन् ।

भन्न त विष्णु सर गफाडी छन् यार गफैमा सबै थोक भुलाई दिन्छन् भन्थे तर अहिले थाहा भो कि उनका दार्शनिक विचारका कस्तुरीहरु बुझ्न पक्कै पनि नेपाली समाजलाई समय लाग्ने छ । फर्किनुहोस न सर प्लिज समाजको अवधारणाको घुम्टो हाल्न संगै भावना र विचारका दुरीहरु घटाउन । हजुरलाई थाहा छ मेरा आधाबाटे विचारहरूले पुनर्जन्म लिइसके, अब फर्किनुहोस न किनकि हामीहरूलाई जीवनको गोलचक्करबाट वाहिर निस्कन धेरै कुरा जान्नु छ, हजुरको विचार मान्नु छ ।

मान्छेको जीवनका सीमा रेखाहरूले हरेकलाई बाँध्दो रहेछ । जनान्दोलन देखि नै अज्ञानताको बंकरमा आक्रमण गर्दा गर्दै हेर न तिमीलाई आज समयको बंकरमा लुकेर शक्तिले फायरिङ गरिरहेको । तिमीले बम विज्ञान त पढ्यौ तर विद्यार्थीमा कहिल्यै परीक्षण गरेनौ त्यसैले आज तिमो विद्वताको कस्तुरी जताततै फैलिरहेछ । यो समाजमा त नफर्किनु होला हजुर तर कथम कदाचित अर्को जन्म लिने अवसरमा मल्टिपल च्वाईस कोइस्चन आएछ भने म १. नेपाली समाज, २. नेपालको राजनीती, ३. नेपाली भूभाग, ४. माथीका सबै, अप्सन राख्न पहल गर्नेछु । के तपाई अप्सन नं ४ क्लिक गर्ने तयार हुनुहुनेछ ? म मिर्मिरेको उज्यालोमा पुष्प गुच्छा सहित प्रतिक्षारत रहनेछु, यसो साइडमा हेरेर केवल आँखा मात्र सन्कानु म हजुरको भाषा बुझ्नेछु । विष्णु सरको तर्फवाट सम्पूर्ण इन्टेलिजेट शिक्षकहरुमा नमन ।

ताराखोला गा.पा.१ माझखर्क, वागलुङ्ग
अनुसन्धान सहायक, डा. कोइराला रिसर्च इन्सटिटयूट फर वायोटेक्नोलोजी एण्ड वायोडाइभर्सिटी




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *