व्यंग्य : माल हत्याउने चाल

डिसी नेपाल
१५ फागुन २०७८ ७:०८

सरकार, सदन र सडक तीनवटै ठाउँमा एकैचोटी निस्किने र संबिधानलाई रद्दीको टोकरीमा फालेर देश र जनतासित चुत्थो तरिकाले जिस्किने अति राम्रो छुटसहित सबैतिर लुट मच्चाउँदै दलभन्दापनि त्यसभित्र अझ फाइदाजनक गुट चलाउने दलहरुले यी सबैथोक जनताको लागि नै गरेका हुन्।

गठबन्धन कायम राखेर सरकारमा बस्ने, एमसीसी संसदमा टेबल गर्नपर्छ भनेर गठबन्धन बैठकमा चिप्लो घस्ने, संसदमा टेबल गर्दा बिरोधको लागि एउटा सांसदमार्फत चर्को स्वर निकालेर मुठ्ठी कस्ने र यस कार्यको बिरुद्धमा सडकमा कार्यकर्ताहरु उतारेर ढुंगामुढा गर्ने काममापनि आफैं पस्ने नाटक गर्दा प्रहरीको लाठी मुक्का लात्ती टियर ग्यास रबर बुलेट आदि खान कार्यकर्ताहरु फस्ने सारै राम्रो तरिका अपनाएकोेमा जनता ज्यादै प्रभावित भएका छन्।

एकैपल्ट सबैतिर छाउन, गठबन्धनदेखि सडकसम्म धाउन, सबैतिरबाट सोचेजस्तो फाइदा पाउन र छेपारोलाईपनि माथ गरेर जहाँ जस्तो आवश्यक पर्छ त्यही अनुसारको रङ बदलेर मुख बाउन सक्ने शिर्ष नेतृत्व पाउनु जनताको लागि ठूलो भाग्यको कुरा हो।

अमेरिका, उत्तरी छिमेकि, दक्षिणी छिमेकी, जनता, कार्यकर्ता र अन्य सबै सरोकारवालाहरुलाई खासै श्रम नगरिकन एकसाथ भ्रम पार्न र यसमार्फत आफूलाई चाहिएको चिज झार्न सक्नु अनि जति ठाउँमा पुग्यो त्यति नै थरिको कुरा बक्नु त अझ ठूलो क्षमता हो ।

कुनैपनि हालतमा एमसीसी सँसदबाट पास गराउने सरकार प्रधानको धोको भएको हुनाले उनि त्यहि पोको बोकेर कहिले कता कहिले कता अन्य दलका नेताहरुलाई भेट्दै र त्यसलाई जसरि हुन्छ पास गराउने प्यास मेट्दै हिँडेका छन्।

सत्ता गठबन्धनका पँचमुखे शिर्षहरुसित धेरै पटक यहि बिषयमा भएको छलफलमा एमसीसी संसदमा टेबल गर्न दिने र बाहिर यो सँशोधन गरेर वा कुनै हालतमा पास गर्न हुँदैन भनेर जन समर्थनपनि लिने दोहोरो चाल चलेको कारणले सबैतिर आगो बलेको हो कि जस्तो देखिन्छ।

सरकार प्रधानले प्रमुख प्रतिपक्षी दलका नेता बालकोटे कामरेडसितपनि डेट लिएर उनको निबासमै पुगेर वा बालुवाटारमा भेट गर्दापनि उनको स्वार्थको पेट भरिन नसकेर हो कि वा अरु कुनै कारणले हो अहिलेसम्म उनिसित सरकार प्रधानको रेट मिल्न सकेको छैन।

यही बिषयलाई हतियार बनाएर गठबन्धनका मुख्य मतियार ठानिने स्वघोषित महान नेता खुमलटारे कामरेड र स्वघोषित अत्यन्त नैतिक नेता कोटेस्वरे कामरेडलाई धोती न टोपी बनाउने र आगामि चुनावमा सबैभन्दा ठूलो दल हुनको लागि सबैलाई मनाउने दाउ छोप्न अहिले केहि नबोली भाउ बढाएर सरकार प्रधानलाई गाल्ने अनि यही बिषय मार्फत आफ्ना बिरोधीहरुलाई ढाल्ने किसिमको कदम चाल्ने यिनको तरिका जनतालाई ज्यादै मन परेको छ।

अहिले फूलेजस्तो र खासै वास्ता नगरेर अन्तै डुलेजस्तो अनि कहिलेकाँहि अलिअलि खुलेजस्तो गरेपनि आफैं सरकार प्रधान हुँदा एमसीसी सँसदमा लगिएको चाहिँ यिनले भुलेजस्तो गरेपनि सबैले कुरा बुझेकै छन्।

सडक पेटीमा ओछ्याइएको ब्लक उप्काएर प्रहरीलाई हान्ने र बाँदरको ब्यबहारमात्रै जान्ने कार्यकर्ताहरुको रचनात्मक क्षमतालाई सबैले मान्ने भएका छन्। जस्ता गुरुहरु उस्तै चेलाहरु उत्पादन हुन्छन् भनेको सही नै रहेछ।

आफूले चाहे जसरी खुमलटारे र कोटेश्वरे कामरेडहरुलाई सरकारबाट बाहिर निकालेर फाइदा लिन सके चुनावमा सबैजना आफूसित डराउने, ती दुई कामरेडहरु मूल राजनीतिबाट हराउने र मौकामा बुद्धि पुर्‍याउन सकिएन भनेर पछुतो मानेर कराउने अबस्था आएमा अन्तिम समयमा कुनै न कुनै तरिका अपनाएर सरकार प्रधानलाई सहयोग गर्ने मनस्थिति बनाएका छन् भन्ने धेरैको अड्कल छ।

केही समय यसरी फुल्नु र खास मौकामा झ्याप्प निर्णय गरेर कसैले नसोचेको फाइदा आफ्नो पोल्टामा हुल्नु अनि यो सहयोग ज्यादै महत्वपूर्ण भन्दै एमसीसीको पक्षमा खुल्नु खासै नौलो नहुन सक्छ। जसलाई जे गर्न मन लाग्छ त्यही गर्दा कसैले औँला ठड्याउन र मुद्दा लगाएर अदालतको कठघरामा लगेर अड्याउन नसक्ने ठाउँमा कसैको कुनै डरभर नभएको हुनाले अन्तिम अबस्थासम्म कसकसले केके गर्छन् थाहा पाउन सकिन्न।

अरु दलहरुको अबस्थापनि उही नै हो, केही फरक छैन। बिरोधपनि नितान्त ब्यक्तिगत स्वार्थकै लागि हो र समर्थनपनि नितान्त ब्यक्तिगत स्वार्थको लागि नै हो। यसमा देश, जनता, सिद्धान्त, नैतिकता, आदर्श आदि जस्ता शब्दहरुको कुनै काम छैन। भनेको चिज हात पर्‍याे  र भनेजति माल झर्यो भने अरु सबैथोक आपसेआफ गौण हुन जान्छन् भन्ने पटक पटकको अनुभवले बताइसकेको अनि यसैले धेरै बर्षसम्म सबैलाई सताइसकेको हुनाले जति नै सबैको कन्चट तताइसकेको भएपनि जनताको खासै बिरोध हुँदैन भन्नेमा शिर्ष नेताहरु ढुक्क छन्।

कुरै नबुझी के-के न बुझेको भ्रममा ढुँगामुढामा उत्रने कार्यकर्ता र सामाजिक सँजाल हेरेर आफ्नो कमेन्टले ठूलो जँजाल तोड्न सक्ने अनि यही माध्यमबाट दुबै हातले मह चाटिरहेका नेताहरुको उद्देश्यलाई मोड्न सक्ने कल्पना गर्ने जनतालाई नेताहरुले दिनदिनै र छिनछिनै उल्लु बनाइरहेका हुनाले अलिकति बिचार पुर्‍याउनु राम्रो होला जस्तो देखिन्छ।

यो मामलामा सबैभन्दा राम्रो देखिने र भबिष्यमा सुनौला अक्षरमा लेखिने कार्य त खुमलटारे कामरेडले नै गरेका छन्। बालकोटे कामरेडले बिघटन गरेको संसद पुनस्र्थापनाको लागि गरेको एउटा आन्दोलनमा आफैंले उचालेका सारा कार्यकर्ताहरुले एमसीसी बिरोधी नारा लगाउँदा यिनले दारा देखाएर त्यहाँबाट भागेको देख्दैमा सबैले यिनको पारा लगभग बुझिसकेका थिए।

एमसीसी पाँच महिना पछि संसदबाट पास गराउने प्रष्ट आशयको पत्रमा सरकार प्रधानसँगै दस्तखत गरेर पठाइ सकेको अबस्थामापनि यो कुनै हालतमा पास गर्न हुँदैन भन्दै जनतालाई अन्यौलमा राखेर बकेको कुरा पत्र सार्बजनिक भएपछि सबैले थाहा पाए। देश, जनता, दल, कार्यकर्ता, मित्रराष्ट्रहरु, एमसीसी, सरकार, सहकर्मी, सहधर्मी, बिरोधी आदि सबैलाई लामो समयसम्म झुक्याउन खोज्दा र अरुले सोचेभन्दा धुर्त देखिने बाटो रोज्दा पोल खुलेपछि आफूले ओढेको नक्कली राष्ट्रवादीको खोल खुलेर झोलमा डुब्ने अबस्था आउँदापनि आफूले चालेका सबै कदमहरु सोह्रै आना सही भएको ढोल पिट्न सक्नुलाई अचेल ज्यादै ठूलो नेतृत्व क्षमता मानिने रहेछ भन्ने जनताले राम्ररी बुझ्न पाए।

कुनैपनि हालतमा सरकारी गठबन्धनलाई फुटाउन र यसलाई टुटाउन हुँदैन भनेर चुनावमा जिताउने ग्यारेन्टीसहितको सहयोग जुटाउन गठबन्धन नभइ नभएकोले गठबन्धनको बैठकमा सबै प्रस्ताबहरुलाई मान्नु बाहेक अर्को उपाय छैन।

त्यहाँबाट बाहिर निस्केपछि दलका नेता कार्यकर्ता र अहिलेसम्म झुक्किइरहेका जनतालाई उस्तैगरी झुक्याउने र त्यसैका माध्यमबाट कनिका बुक्याउने कामको लागि बैठकभन्दा ठ्याक्कै उल्टो नबोली सुखै छैन। संसदमा एमसीसी बिधेयक आफ्नो दलका मन्त्रीले पेश गरेर अपजस खान पर्ला भन्दै डराएर बिभागीय मन्त्रीलाई बिरामीको बहानामा अनुपस्थित गराएर उनी नआएपछि सञ्चार मन्त्रीले पेश गरे।

अहिलेसम्म एमसीसी संसदमा दर्ता गर्नुभन्दा गोली खाएर मर्न तयार छु भनेर चर्चित अभिव्यक्ति दिने र कार्यकर्ताहरुको स्याबासी लिने सभामुखले दलका अध्यक्षकै निर्देशनबाट एमसीसीको फाइल लुसुक्क बुझेर खुसुक्क टेबल गरिदिए।

प्रमुख प्रतिपक्षीहरुको चर्को नारा र बिरोधको स्वरको बीचमा दर्ता भयो भनियो र टेबल भएको जनियो। प्रतिपक्षले नारामा के भन्यो र सभामुखले माइकमा केके भने राम्रोसित नबुझिएपनि काम फत्ते भयो।

गठबन्धनकै एकदुई जना र अरु एकदुई जनाले बिरोधमा बोलेर र सबैको सामु आफ्नो बिचार खोलेर निकै क्रान्तिकारी देखिने नाटक मन्चन गर्न भ्याए। त्यसबेला गठबन्धनका मुख्य हर्ताकर्ता खुमलटारे र कोटेश्वरे कामरेडहरु केही नबोली, कतै नहेरी अलिअलि तर्सेजस्तो, डराएजस्तो र अलमलिएजस्तो देखिएका थिए रे भनेर केही जान्नेसुन्नेहरुले कमेन्ट गरेको र त्यसैमा ढुक्क परेको देख्दा अहिलेसम्म कति झुटो बोलेर हिँड्दा त केही फरक नपरेको नेताहरुलाई यसले कुनै असर गर्ला वा कुनै प्रभाव पर्ला भन्ने जनतालाई चाहिँ पटक्कै लागेको छैन।

यहीबीचमा एमसीसीको बिरोधमा कार्यकर्ता उचालेर संसद भवन नजिकै प्रहरिसित ढुंगामुढा र हानाहानसहितको तानातान गराउने कार्य त जारी छँदैछ। सडक पेटीमा ओछ्याइएको ब्लक उप्काएर प्रहरीलाई हान्ने र बाँदरको ब्यबहारमात्रै जान्ने कार्यकर्ताहरुको रचनात्मक क्षमतालाई सबैले मान्ने भएका छन्। जस्ता गुरुहरु उस्तै चेलाहरु उत्पादन हुन्छन् भनेको सही नै रहेछ।

आफैं सरकारमा बसेर सरकारको प्रस्ताब बिरुद्ध संसदमै बोल्ने, सरकारकै प्रहरी बिरुद्ध कार्यकर्ता परिचालन गर्ने र आफ्नै काम देखेर आफैं दंग पर्ने नेताहरु अन्यत्र पाइँदैनन् होला। यसमा पनि गिनिज रेकर्ड हुनसक्ने सम्भावना भएको हुनाले सगौरब त्यसको प्रयास गर्न राम्रो हुनेमा कुनै शंका छैन। बिहानदेखि बेलुकासम्म यति गरी थकित भएर बेलुका घर पुगेपछि एमसीसीको बिरोधमा सामाजिक संजालमा खुमलटारे कामरेडले पठाएको सन्देशबाट सबैजना चकित परे रे।

अब त छेपाराहरुलेपनि एउटा बृहत भेला गरेर आफ्नो महान गुरु फेला परेकोमा खुशियाली मनाउने र यिनीभन्दा सक्षम गुरु अर्को हुनै सक्दैन भनेर प्रतिबद्धता जनाउने भइसके रे भनेको सुन्दा यिनका कार्यकर्ताहरुको भुइँमा खुट्टा छैन रे। यसबाट स्वघोषित नै भएपनि त्यसै महान नेता नभइने रहेछ भनेर सबैले बुझेका छन्।

कोटेश्वरे कामरेडको दलले एमसीसीलाई समर्थन नगर्ने र पक्षमा मतदान गर्न अघि नसर्ने निर्णय नै गरेको सुनेर सबैजना खुसी भए भनेको सुनियो। सबैजना खुसी भए भनिएपनि सरकारमा भाग पाएका र मन्त्री खानकै लागि बालकोटे कामरेडलाई छोडेर आएका कामरेडहरु भने बेखुसी छन् रे भन्ने हल्लापनि सुनिन्छ।

मन्त्री भइरहेकाहरु चाहिँ छँदाखाँदाको दल छोडेर, मन्त्री बन्न पाइन्छ भन्दै उतातिर सबै नाता तोडेर, ठूलो धनराशी बुझाउँदै मन्त्री बनाइदेउ भन्दै हात जोडेर र केही समय मन्त्री हुन पाए रामै्र कमाइ गरिन्थ्यो भन्दै अरु सबैतिरबाट आफूलाई यता मोडेर भेट्टाएको मन्त्री पद यही एमसीसीले लैजाने पो हो कि भनेर डराइरहेका छन् रे भनेको कसैले पत्याएका छैनन्।

गठबन्धनको त्यान्द्रो नभए मन्त्री पदको साथै अदालत र संसदबाट एउटा सामान्य फैसला भइदियो भने सांसद पदपनि अमान्य भएर कता जाने र कहाँको मन्त्री खाने भन्ने पिर पर्नु त स्वाभाबिकै हो। त्यही भएर कोटेश्वरे कामरेडका मन्त्रीहरुले सानै स्वरमा भएपनि मन्त्री भएर सरकारको प्रस्ताब बिरुद्धमा जान र त्यसरी मन्त्री खान मिल्दैन भनेको सुनिएको छ।

आफू स्वघोषित अति नैतिकतावाला नेता भएकोले कोटेश्वरे कामरेडले सरकारी गठबन्धनमा अड्किएर बसेपनि एमसीसीको पक्षमा मतदान नगर्ने भन्दै कड्किएर अरुलाई थर्काएको सारै राम्रो देखिएको हुनाले कार्यकर्ता उचालेर सडकमासमेत यसलाई चर्काएको सारै सुहाएको छ। यिनको पनि थप नाँगिने कुनै ठाउँ अब बाँकि नभएको हुनाले यसै गरिगरि राष्ट्रिय राजनीतिमा अझ बढि झाँगिने सोच ज्यादै उच्च स्तरकै छ।

पुराना धेरै दलहरुमा सम्मिलित भएपनि कतै नटिकेका र देश र जनताको कुनै काम गर्न अहिलेसम्म नसिकेका अनि राजनैतिक चोके परेको अबस्था बाहेक अघिपछि सरकारमा नबिकेका जसपा नामक दलका बिगतमा अन्य दलबाट सरकार प्रधान र उपप्रधानसमेत भएर डकारिसकेका नेताहरुका मन्त्रीहरु अहिलेपनि सरकारमै छन्।

यिनीहरुलाईपनि एमसीसीले अप्ठ्यारो पारेको र सोचनीय अबस्थामा झारेको छ। कोही आँखा चिम्लेर पास गर्न पर्ने र कोही पास गर्न नहुने भनेर बाँडिएको अनि यसबाट नेताहरु भाँडिएको बेलामा सबैको ध्यान चाहिँ यो बिषयमार्फत ठूलै भाग हसुर्नेमै केन्द्रित छ।

एमसीसीको बिरोधमा सामाजिक संजालमा खुमलटारे कामरेडले पठाएको सन्देशबाट सबैजना चकित परे रे। अब त छेपाराहरुलेपनि एउटा बृहत भेला गरेर आफ्नो महान गुरु फेला परेकोमा खुशियाली मनाउने र यिनीभन्दा सक्षम गुरु अर्को हुनै सक्दैन भनेर प्रतिबद्धता जनाउने भइसके रे भनेको सुन्दा यिनका कार्यकर्ताहरुको भुइँमा खुट्टा छैन रे।

यिनीहरुलाई आफ्नो पद सुरक्षित हुन्छ र ज्यानले मन्त्रीको कुर्सी छुन्छ भने जुनसुकै निर्णय गर्नपनि गाह्रो पर्दैन। पद फुस्क्यो भने मात्रै देश र जनताको सम्झना आउने र हामी तपाइँहरुकै मान्छे हौँ भनेर धाउने यिनीहरुको पुरानो बानी सबैलाई थाहा छ। स्वार्थ अनुसार टुटफुट भइरहने र मौका पर्नासाथ सरकारमा गइरहने यिनीहरुकै चोइटो लोसपाकोपनि स्थिति त्यही हो।

सक्कली सिक्वेन्स देखाइ सकेपछि अरुमा जोकर लगाएर बाजी मारेजस्तो र निकै माल पारेजस्तो अनि एकैचोटि ठूलो नाफा झारेजस्तो यिनीहरुको भूमिका जहिलेपनि सक्कली सिक्वेन्सभन्दा जोकरवाला सिक्वेन्स सरहमात्रै हुने गरेको छ।

यि दुबै थरिलाई मालदार मन्त्रालय दिन्छु मात्रै भन्ने हो भने जसको सरकारमापनि आँखा चिम्लेर भाग लिन्छु भन्दै दायाँबायाँ नहेरी हुर्रिएर समाबेश हुने चलन पुरानै हो। यिनीहरुको राजनैतिक आदर्श र सिद्धान्त भन्नु नै मौका पर्नासाथ मालदार मन्त्रालय समाउने अनि लाज घिन शरम आदि सबै बिर्सेर भ्याएसम्म कमाउने र देश जनताको लागि ठूलो योगदान गरेको अटुट गफ छोडेर रमाउने मात्रै हो भन्ने मुर्खहरुको कुरा जताततै सुनेपनि पत्याउन चाहिँ हुँदैन।

अर्को जनमोर्चा नामक गुटमापनि सडक सदन र सरकारमा एकसाथ देखा परेर जग हँसाइ गर्ने र नेतृत्वले नरोके सरकारमा जान अनि बिरलै आउने मन्त्री पद खान मरिहत्ते गर्ने महानुभावहरुको कमी नभएपनि देखावटी सिद्धान्त अड्काउने हुनाले मुटुमाथि ढुँगा राखी हाँस्नु पर्या छ भनेजस्तो मात्रै हो। के गर्दा जनतालाई भ्रममा पार्न सकिन्छ र बिरोध गरेजस्तो गर्दै सरकारबाट केके र कतिसम्म झार्न सकिन्छ त्यही अनुसारको ब्यबहार गरेको जनताले थाहा पाएका छैनन् भन्ने यिनीहरुको सोचाइमा सत्यता भएजस्तो देखिन्छ।

अहिलेसम्म खासै नखुलेको जस्तो गरेपनि अन्तिममा गर्नै पर्ने काम नभुलेको भनेर बालकोटे कामरेडलाई सरकार प्रधानले निकै भाउ दिएका छन्। यिनले सरकार प्रधानलाई समर्थन गरिदेलान् र एमसीसी पास गर्नेमा झरिदेलान् भनेर खासगरी खुमलटारे र कोटेश्वरे कामरेड डराएका छन्।

यिनले पास गर्ने शर्तमा केही गरि गठबन्धन टुटाए र सरकार फुटाए भने यि दुईको स्थिति कल्पना गर्न नसकिने हालतमा पुग्छ भनेर केही मुर्खहरुले भनेपनि त्यस्तै अबस्था आइपर्यो भने एउटा गतिलो शब्दजालले भरिएको र जानेसम्मको भ्रम छरिएको बिज्ञप्ति निकालेर सरकार प्रधानकै लाईनमा आएर सहयोग पुर्‍याए भने कुनै आश्चर्य हुने छैन।

हदैसम्मको लचकता अपनाएर स्वदेशी बिदेशी सबैलाई एकैचोटि रिझाउने र जनतालाई बिझाउने कार्य भएपनि परिस्थितिको बाध्यता मानेर सबैले माफी दिनेमा यिनीहरु सँधैझैं यसपालीपनि ढुक्क छन्।

यहाँ जति चर्को कुरा गरेपनि उत्तर दक्षिणका सामान्य कर्मचारीको हप्काइपनि कुनै झर्को नमानिकन सुन्ने बाहेक अर्को उपाय नभएका यहाँका शिर्षहरुको औकात बारे धेरै अघिदेखि प्रष्ट भएका युरोपेली र अमेरिकनले नोटको गड्डी मुठो पारेर कुन्नि के जातिलाई हड्डी फाले जसरी पालेर राखेका प्याधाहरुलाई कसरी मुन्ट्याएर समर्थन लिने भन्ने थाहा नपाएका होइनन्।

सुरुदेखि नै प्रष्ट नबोलेर देश र जनतालाई अन्यौलमा राखेर ध्रुबिकरण नगरेमा सरकारमा टिक्न र चुनावमा बिक्न गाह्रो पर्ने हुनाले हरेक बिषयलाई राजनीतिकरण गरेर खेलाउने अनि त्यसबाट प्राप्त हुने ब्यक्तिगत फाइदामात्रै केलाउने सुकार्य गर्दागर्दै र त्यसमा चर्दाचर्दै राम्रो काम तर्फ ध्यान पुर्‍याउने बानी नै हटिसकेको हो कि जस्तो देखिन्छ।

जसले जस्तो किसिमको कुरा काम गतिबिधि आदि गरेपनि र जस्तोसुकै भ्रम छरेपनि यिनिहरु कोहिभन्दा कोहि कम छैनन्। जुन भाषा र शैलीमा देश र जनताको जतिसुकै दुहाइ दिएपनि यिनिहरुको रुवाइ पद प्रतिष्ठा र नगद कमाइकै हो भन्ने सबैले सम्झेपनि यिनीहरुले देखाएको ब्यबहार र चर्तिकला हेर्दा त्यो भन्दा अझ बढि जस्तो लागेपनि जनताले त्यस्तो सम्झेका छैनन् रे भन्ने यिनिहरुको भनाइ ठिकै हो।

जे भएपनि एमसीसीलाई सबैले आआफ्नो स्वार्थ अनुसार प्रयोग गरेर भरपुर फाइदा र आनन्द लिने साधन बनाउन खोजेको हुनाले यिनीहरुको अहिलेसम्मका सबै काम हेर्दा दरिलो माल हत्याउने चाल बाहेक अरु केही होइन भन्नेहरुको कुरा पत्याउने काम गर्न हुँदैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *