युक्रेनमाथि रुसको आक्रमणको विषयमा चीनमाथि गम्भीर आरोप

डिसी नेपाल
१९ फागुन २०७८ १२:३२

काठमाडौं। एक इन्टेलिजेन्स रिपोर्टमा चीनले रुसलाई युक्रेनमाथि गरिने आक्रमण केही दिन पछि सार्नको लागि आग्रह गरेको दावी गरिएको छ । रिपोर्टका अनुसार चीनका अधिकारीहरुले रुसी समकक्षीहरुसँग भेटेर युक्रेनमाथि गरिने आक्रमण शीतकालीन ओलम्पिक सकिएपछि मात्रै गर्न आग्रह गरेका थिए । र, सोही अनुसार रुसले पनि ओलम्पिक सकिएपछि आक्रमण गरेको दावी गरिएको छ ।

अमेरिकी अखबार न्यूयोर्क टाइम्सले एक इन्टेलिजेन्स रिपोर्टको हवाला दिँदै लेखेअनुसार चीनलाई रुसले युक्रेनमाथि आक्रमण गर्ने कुरा आक्रमण सुरु हुनुभन्दा पहिल्यै थाहा भइसकेको थियो । चीनका बरिष्ठ अधिकारीहरुलाई रुसको योजनाका विषयमा जानकारी प्राप्त भएको थियो र उनीहरुलाई रुसले युक्रेनको विषयमा ठूलो कदम उठाउने जानकारी भएको थियो । समाचारमा इन्टेलिजेन्स रिपोर्टले यही कुरा इशारा गर्ने दावी गरिएको छ ।

यो दावीका विषयमा अमेरिकामा चिनियाँ दूतावासका प्रवक्ता लियु पेंग्युले यो रिपोर्ट आधारहीन भएको बताएका छन् । उनले यो केवल अनुमानकारिता भएको र यसको उद्देश्य चीनलाई बदनाम गर्नु भएको बताएका छन् । यद्यपि यो इन्टेलिजेन्स रिपोर्टमा अमेरिकाको विदेश विभाग, सीआइए र ह्वाइट हाउस नेशनल सेक्युरिटीले प्रतिक्रिया दिन अस्वीकार गरेका छन् ।

खास कुरा यो हो कि पश्चिमी नेताहरुले हप्तौंदेखि युक्रेनमा रुसले आक्रमण गर्न सक्ने चेतावनी दिइरहेका थिए । २४ फेब्रुअरीमा एकैचोटी युक्रेनमाथि ३ तिरबाट आक्रमण सुरु भयो । यो आक्रमण शीतकालीन ओलम्पिक सकिएको ठिक १ दिनपछि सुरु भएको थियो । न्यूयोर्क टाइम्सका अनुसार पश्चिमी यन्टेलिजेन्सले चीन र रुसका अधिकारीको सम्झौताका आधारमा यो रिपोर्ट तयार गरेको हो र अधिकारीहरुको समीक्षापछि यसलाई विश्वसनीय बताइएको छ ।

शीतकालीन ओलम्पिकको उद्घाटनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन गएका थिए । उनले त्यहाँ आफ्ना समकक्षी शी जिनपिङसँग कैयौं सम्झौता गरेका थिए । दुवै देश आर्थिक र ग्यास आपूर्तिको क्षेत्रमा सहयोग बढाउन राजी भएका थिए । युक्रेनमा आक्रमणपछि पश्चिमी देशहरुले रुसमाथि कैयौं किसिमका प्रतिबन्ध लगाएका छन् । चीनले यी प्रतिबन्धको निन्दा गर्दै अमेरिका र उसका सहयोगीले मस्कोलाई उक्साएको आरोप लगाएको थियो ।

चीन एसियामा अमेरिकाको वर्चश्वबाट चिन्तित छ । त्यसैले उसले रुससँग मिलेर पश्चिमी देशहरुलाई चुनौती दिन चाहन्छ । युक्रेनसँग पनि चीनको राम्रो सम्बन्ध रहिआएको छ । जनवरी २०२२ मा मात्रै युक्रेन र चीनको सम्बन्धको ३० वर्ष पूरा भयो । यो अवसरमा चीनको राष्ट्रपति शी जिनपिङले दुई देशबीच बढ्दो राजनीतिक विश्वासको कुरा उल्लेख गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *