बन्दरगाह सहर खेअरसन रुसी कब्जामा, मारिउपोल घेराबन्दीमा

डिसी नेपाल
२० फागुन २०७८ ७:०३
60
Shares

बीबीसी। रुसले युक्रेनमा आक्रमण गरेको आठौँ दिन बिहीवार मुख्य सहरहरूमा व्यापक बमबारी भइरहेका छन्। ब्ल्याक सीको बन्दरगाह सहर खेअरसान रुसको कब्जामा जाने पहिलो मुख्य सहर भएको छ। अर्को बन्दरगाह सहर मारिउपोलमा रुसी घेराबन्दीले मानवीय सङ्कट उब्जिएको मेयरले बताएका छन्।

किभ नजिक रुसी बख्तरबन्द गाडीहरूको लस्कर यथावत छ। राजधानीमा ठूल्ठूला विस्फोटन भएका छन्। युक्रेन र रुसबीच दोस्रो चरणको शान्तिवार्ता हुँदैछ।युक्रेनको दक्षिणी बन्दरगाह सहर मारिउपोलका मेयरले रुसी सेनाको घेराबन्दीका कारण त्यहाँ दोस्रो विश्वयुद्धका बेला नाजीले सेन्ट पिटर्सबर्ग सहरमा आक्रमण गर्दाताकाको जस्तै अवस्था उत्पन्न भएको बताएका छन्।

“उनीहरूले यहाँपनि घेराबन्दी गर्दैछन् जस्तो लेनिनग्राद (सेन्ट पिटर्सबर्गको तत्कालीन नाम)मा भएको थियो,” भादिम बोइचेन्कोले भने। रुसी सेनाले सहरको बिजुली, खानेपानी, खानेकुरा, न्यानो पार्ने प्रणाली सबैको आपूर्ति अवरुद्ध पारिदिएको उनले बताए।

गैरसैनिकहरूको उद्धार विथोल्न रुसी फौजले रेलसम्पर्क समेत ध्वस्त पारिदिएको उनले बताए। यो सप्ताहान्तमा त्यहाँको तापक्रम माइनस २ डिग्री सेल्सियस पुग्ने प्रक्षेपण छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उनका फ्रेन्च समकक्षी एमानुएल माक्रोँसँगको कुराकानीमा युक्रेनलाई असैनिकृत गरिदिने र तटस्थ बनाइदिने आफ्नो उद्देश्य सफलतापूर्वक सम्पन्न हुने बताएका छन्।

उनीहरूबीच भएको टेलिफोन कुराकानीबारे दिइएको विवरणमा युक्रेनद्वारा वार्तामा गरिने ढिलाइले केवल रुसका मागहरू बढ्दै जाने पुटिनले बताएको उल्लेख छ। साथै पुटिनले बुधवार माक्रोँले गरेको एक सम्बोधनप्रति आफ्नो विमति जनाएका थिए। सो सम्बोधनमा माक्रोँले युद्ध सुरु गर्न केवल पुटिनमात्र जिम्मेवार रहेको बताएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *