कथा : लगन कहिले जुर्ने हो ?

डिसी नेपाल
२१ फागुन २०७८ ८:१८

मेरी बहिनीले घरमा एउटा गोप्य कुरा लुकाएकी थिई। तर मैले त्यो कुराको बारेमा घरका कुनै सदस्यलाई बताइनँ। बरु मैले मेरी बहिनीका चार(पाँच जोर जुत्ता लुकाइदिएको थिएँ। मेरी बहिनी जुत्ताको असाध्यै सौखिन थिई।

एक बिहान बहिनीले मलाई सुनाई–‘मेरा जुत्ताहरू हराइराखेका छन्। आखिर कसले लैजान्छ मेरो जुत्ता?’

मैले अलि टठिलो स्वरमा भनेँ–‘किन घुमाएर कुरा गछ्र्यौ नानू? बरू सिधै भन न, ‘दादाले मेरा जुत्ताहरू चोरेर लैजाँदै आफ्नी गर्लफ्रेण्डलाई दिइसिन्छ।’
-ऊः ऊः आयो नि त कुरा! चोरको खुट्टा….! इखिखिखि….। इखिखि….।’ उसले ममाथि व्यङ्ग्यरूपी भाला प्रहार गरी।

उसको बानीअनुसारको हाँसो पनि छाडी। मेरी बहिनी तल्ला दाँत मात्र देखाएर हाँस्ने गर्छे– इखिखिखि….इखिखिखि….।

मैले मेरी प्रेमिकालाई दाँत हेरेर मन पराएको थिइनँ। उनका आँखा हेरेर मन पराएको थिएँ। त्यो मन पराइलाई मेरा साथीहरूले एउटा विशेषण दिएका थिए–‘औपन्यासिक मन पराइ।’

त्यतिखेरको प्रचलित ‘एसएलसी’ परीक्षाको पहिलो दिन उनले मलाई देखेकी थिइन्। मेरो प्रवेश–पत्र मेरो साथीको माध्यमबाट उनको हातसम्म पुगेको रहेछ। गणितको जाँचको दिन मेरो नाम पढिछन्–साजन…।

जाँचको अन्तिम दिन थियो । एक टुक्रा कागजमा उनको नाम र ‘ल्याण्ड लाइन फोन नम्बर’ समेत साथीले मेरो हातमा राखिदियो।

त्यसपछि मैले स्कुलको ‘गेट’ तिर पुलुक्क हेरेँ। सजनी मुसुक्क हाँस्दै रोडतिर कुदेर उनका सखीहरूको हूलमुलतिर हराइन्। म पनि खुरुर्र कुदेर पछ्याउँदै गएँ। पछिल्ली सखीले दाँहिने औँठा देखाइदिइन्-‘गुड लक।’

एकदिन थाहा भयो, त्यो ‘गुड लक’ लगाइदिने केटीको नाम वन्दना रहेछ। तिनी सजनीकै फुपूकी छोरी रहिछन्। वन्दनाकै माध्यमबाट सजनी र मेरो अर्को भेट भयो, काठमाण्डूको घण्टाघरनेर। तर फोन त मैले गरेको थिइनँ।

त्यो दिन पाएको कागतको चिर्कटो त मेरी बहिनीले लुगा धुँदा पानीले भिजेर लत्याकलुतुक भएछ। त्यतिखेर मेरी बहिनी कक्षा ३ मा पढ्थी। हामी दुईको उमेरमा लगभग आठ/नौ वर्षको अन्तर रहेको छ।

धेरै वर्षसम्म मेरी बहिनीले ‘सजनी दिज्यू’ भनेर सम्वोधन गर्थी। कुनै दिन ‘आफ्नो दादाकी प्रेयसीलाई दिज्यू भन्ने हो?’ भनेर ममी, ड्याडीले आलोचना गरिदिनुभयो।
हजूरआमालाई पनि त्यसो भनेको मन परेनछ। उहाँले त ‘नातिले सजनीसँग लभ गरेको रहेछ’ भनेर चाल पाउनासाथ सोधखोज गर्नुभएको थियो। बूढीमाऊलाई कत्ति पनि अप्ठेरो नलागेको! ‘खै मेरी नातिनी–ब्वारी?’ भनेर हैरान पार्न थाल्नुभयो।

म अहिले पनि सम्झन्छु त्यो क्षण। सजनीसँग ‘लभ’ परेको करिब चार वर्षै भइसकेको थियो। मैले ‘विश्वज्योति सिनेमा हल’ को क्याफेमा सजनीलाई मेरी हजूरआमाको रहरबारे बताएको थिएँ। त्यतिखेर उनका गालाबाट रगत चुहिएलाजस्तो भएको थियो।

त्यसको ठीक भोलिपल्ट सजनीले मलाई छक्क पारिदिइन्! म मिठाई किन्न भनेर दैलाबाट निस्केको मात्र थिएँ, आँगनमा सजनीलाई पो देखेँ। एकचोटि पनि मेरो घरको बाटोमा पाइला नटेकेकी केटी आज एक्कासि आँगनमा?

सजनीले हातमा झोला बोकेकी थिइन्। मैले सोधिहालेँ–‘सजनी, यो सब के हो?’
सजनीले जवाफ दिइन्–‘मिठाई र फलफूल छ।’
-‘यो सब किन नि?’

-‘हेर न यिनका मोटा बुद्धि! आज बाबाको मुख हेर्ने दिन हैन?’

-‘ए हो त। म पनि मिठाई किन्न जान लाग्या। तर मेरो ड्याडी त गोकर्णतिर गइसक्नुभयो। ममी पनि सँगै जानुभएको छ।’

-‘अनि मिठाई कसका लागि नि?’

-‘हजुरआमाका लागि हो।’

-‘म पनि हजुरमुमाकै मुख हेरेर जान्छु।’

-‘तर मेरो घर तिमीले..?’

म सजनीलाई सोध्दै थिएँ। तर उनले बोल्नै परेन। बाहिरी पर्खालपछाडिबाट वन्दनाको आवाज आयो–‘हा..ई साजनजी।’ एक सेकेण्डमै वन्दना मसामु हाँस्दै आइहालिन्। अब धेरै कुरा किन गर्न आवश्यक भयो र? वन्दना त सजनी र मेरो प्रेमको सेतु बनेकी थिइन्। मेरो घरसम्म ल्याउने पथप्रदर्शक पनि उनी नै रहिछन्।

वन्दनाको हातमा ‘स्याण्डल’ थियो। गोडामा हेरेँ, खाली रहेछन्। मैले सोधेँ। उनले सजनीलाई देखाइन्। सजनीका आँखा झुके। मैले कुरा बुझिहालेँ। स्याण्डल त सजनीको पो चुँडिएको रहेछ। सुनेको थिएँ, केटीमान्छेका अरू कुरा राम्रा हुन्छन् तर जुत्ता गतिला हुन्नन्।

सजनीलाई भेटेपछि मेरी हजुरआमा ज्यादै खुसी हुनुभयो। यति खुसी कि, आफ्नै नातिनीलाई झैं धेरैबेरसम्म गाला जोरेर अँगालोमा बाँधिरहनुभयो। त्यही बेलामा मेरी बहिनी बाहिरबाट दगुर्दै आइपुगी।

दुइटी दिदीलाई देख्नासाथ ऊ पुलकित भइहाली। दुई हात जोरेर नमस्कार गरी। ऊ दुइटै दिदीसँग परिचित थिई। आज आफ्नै घरमा देखेर हर्षित भई।
मेरी हजूरआमाले निर्णय सुनाइ दिनुभयो–‘आजदेखि सजनीलाई ‘दिज्यू होइन, भाउजू भन्नुपर्छ नानू।’

त्यो कुरा सुनेर म लाजले भुतुक्कै भएँ। मेरा आँखा कताकता पुगे। सजनीचाहिँ मेरी हजूरआमाको फरियाले मुख छोपेर निहुरिरहिन्। वन्दनाचाहिँ रमाइलो मानेर सजनीको पिठमा औँलाले कोट्याइरहेकी थिइन्।

हजुरआमाको ‘मुख हेराइ’ सकिएपछि मैले सजनी र वन्दनालाई चियाखाजा खुवाएँ। उनीहरूलाई बाटोसम्म छाड्न मेरी बहिनी पनि आई। उसले ममीको स्याण्डल लुकाएर ल्याएकी रहिछ। मैले नदेख्ने गरेर सजनीलाई दिएकी रहिछ।

उसले ‘हुनेवाली भाउजू’ लाई कत्ति धेरै माया गर्थी। तर पैसा कमाउने भएपछि निकै छुच्ची बन्दै गई। माया गर्न छाडी। सजनी पनि कामकाजी महिला हुन्। सरकारी क्याम्पसकी उप–प्राध्यापक। बिहान बिहान दुइटा प्राइभेट कलेजहरूमा अध्यापन गर्छिन्।

सजनीले मसँग बिहे गर्न आलटाल गरेकी हुँदा मेरी बहिनीको मन भाँच्चिएको थियो। अतः सजनीलाई उसले कम मन पराउन थालेकी थिई। बिहान बहिनीसँग जुत्ताको विषयमा गलफत्ती परेको थियो। दिउँसो पी.के.कलेजनेरको खाजाघरमा ‘गर्लफ्रेण्ड’ सँग विवाद भयो। म जुन ‘मिसन’ कासाथ काम गरिरहेको थिएँ, त्यो काम सजनीलाई मन परेको थिएन।

किन कि त्यो काम अलि हाँस्यास्पद थियो। नाटकीय किसिमको थियो। तैपनि सजनीले मलाई सघाउने वचन दिएकी थिइन्। कुनै केटोले मेरी बहिनीको पिछा गरिरहेको छ भन्ने कुरा मेरो जानकारीमा आएको थियो। मैले सजनीसँग करिब एक महिनाअघि त्यो कुरा शेयर गरेको थिएँ। त्यही केटालाई स्वाद चखाउन म उसको पछि लागेको थिएँ। बहिनीका जुत्ताहरू हराउनुको कारण मैँ त थिएँ।

एक साँझ हामी एकसाथ खाना खान लागेका थियौँ। मैले मेरी बहिनीलाई इङ्गित गरेर भनेँ–‘अब त बहिनीको घरजम गरिदिने हो कि ड्याडी? सरकारी नोकरी पनि भइहाल्यो। ‘मास्टर्स डिग्री’ पनि सिध्याइहाली। हजुरहरूको के छ विचार?’

लाडप्यारमा हुर्किएकी। छोरीको ‘एक नाइँ’ ले सारा घर हल्लिन्थ्यो। ड्याडीको त छोरासँग भयङ्कर गुनासो रहेको थियो। मैले मेरी हजुरआमाको रहर पूरा गर्नमा कन्जुस्याइँ गरेँ रे। उहाँको काखमा तेस्रो पुस्तारूपी सन्तान राखिदिनु त परको कुरा। नातिको बिहे पनि खान पाउनु भएन रे।

त्यसमा मेरो के दोष? लगन नजुरी बिहे हुन्छ र? सजनी र मेरो ‘डिप लभ’ परिरहँदा सजनीका हजुरबुबा बिरामी हुनुहुन्थ्यो। उहाँलाई क्यान्सर रोग लागेको रहेछ। सजनीको बाबा एक प्रतिष्ठित व्यापारी। प्रशस्तै सम्पत्ति थियो।

करिब दुई वर्षसम्म बुबाको उपचार गर्दा गर्दा सजनीको बुबाको प्रशस्तै सम्पत्ति सकियो। सजनीका हजुरबुबा बित्नुभएको तीन वर्षपछि उनका बुबालाई ‘प्यारलाइसिस’ भयो। त्यसपछि त्यो घरमा केके भयो होला, त्यसको वयान गर्नुप¥यो भने भन्नेलाई रिङ्गटा त लाग्छ नै। सुन्नेको दिमागमा पनि ठूलो धक्का लाग्न सक्छ।

सजनीलाई मेरा अभिभावकहरूले ‘बिहे नगरेकी बुहारी’ मान्न सक्नुु हुन्थ्यो। किन कि सजनी हाम्रो घरमा आउँथिन्। काम सघाउँथिन्। कहिलेकाहीँ त रातै बस्थिन्। एउटी बुहारीले गर्नुपर्ने कर्तव्य गरेकी थिइन् उनले।

सजनी आएकी बखत ‘अब त घरजम गर्नुपर्छ’ भन्ने दवाव परेकै हो। तर मानसिकरूपमा सजनी तयार हुन सकिनन्। बिहे नगरे पनि सजनीलाई बुहारी भन्ने हक प्रदान गरियो, सजनीको घरतिरबाट।

तर समाजलाई मेरो परिवारले भन्न पाएन–‘सजनी हाम्रो साजनकी श्रीमती हो।’ त, मेरी बहिनीको बिहेको कुरामा ममीले पनि तातो लगाउनु भएन। उहाँले ‘रेडिमेड एन्सर’ दिनुभयो-‘तिम्री बहिनीको ‘पीएच.डी.’ गर्ने सौख छ। तिमीले पो एम.एस्सी.हापेर जिमखाना चलाउन थाल्यौ। गर्लफ्रेण्डको योग्यताभन्दा कम भएपछि कसरी बिहे गर्छौ? बहिनीको बिहेको के ठेगान भयो र। ‘भीजा’ लाग्यो भने विदेशतिरै घरजम हुनसक्छ बाबु।’

माया देखाई देखाई घुर्की लगाउन मेरी ममी असाध्यै च्याम्पियन हुनुहुन्थ्यो।

-‘बहिनीलाई कुनै केटाले मन पराएको रहेछ भने पनि..?’ लौ जा त। मैले पनि साइनो न सपनाको सवाल उठाइदिएँ।

ममीले चुनौती दिनुभयो-‘तिम्री बहिनीलाई चाहने कोही केटा छ भने ल्याएर देखाऊ न त। यसले पनि मन पराएकी रहिछ भने भोलि नै कुरा छिन्ने हो। कसो त साजनको ड्याडी?’

-‘सही कुरो।’ अहिले त ड्याडी उजेलिनुभयो।

शनिबार मैले राजुलाई मेरी बहिनीको नामबाट निम्तो दिएँ। भेट्ने ठाउँको नाम थियो- कमल पोखरी। करिब आधा घण्टामा म कमल पोखरी पुगेँ। केही बेरपछि राजु आइपुग्यो। उसले मलाई राम्ररी निहार्‍यो। ठान्यो, सरला नै हो भनेर। मैले सरलाकै ‘स्कार्फ’ ले अनुहार छोपेको थिएँ ।

राजुले सोध्यो-‘कहाँ जाने त अब?’
मैले सधैँझैं बहिनीको स्वर बनाएर उत्तर दिएँ–‘जाने नि प्रयाग पोखरी।’

-‘नाइँ नाइँ। प्रयाग पोखरीनेर त तिम्रो दादाको जिमखाना छ भनेको हैन र? भो नजाऊँ।’ राजु टिमुर्किन थाल्यो। मलाई पनि रिस उठ्यो र झर्केर ‘उसोभए रानीपोखरी जान्छौ त?’ भनेर सोधेँ । उसले मलाई ‘तेस्रो लिङ्गी हौ कि क्या हो?’ भन्दै गिल्ला गर्‍यो।

ओ सेट्! म त झुक्किएछु। बहिनीको आवाज बिर्सेर आफ्नै सक्कली स्वरमा पो बोलेछु। मैले कुरा सच्याइहालेँ। मेरो दादाको स्वरमा बोलेकी भनेर राजुलाई ‘मुर्गा’ बनाइदिएँ।
मैले अलि कडा स्वर पार्दै ‘मचाहिँ कमल पोखरीसम्म धाएर आउने। तिमी भने प्रयाग पोखरीसम्म जान सक्तैनौ?’ भनेर गुनासो गरेँ।

राजु मेरो घरमा जान राजी भयो। हामी आ-आफ्नो साधनमा हुइँकियौँ। घरमा पुग्दा ममी र ड्याडी आँगनमै हुनुहुँदो रहेछ। राजुले नमस्कार गरेपछि ड्याडीले कुरा बुझिहाल्नुभयो।

उहाँले छोरीलाई बोलाउनुभयो। मेरी ममी घरी राजुलाई त घरी उसको बाइकलाई निहारिरहनु भएको थियो। मेरी बहिनी नुहाएको कपालमा जुर्‍याएको तौलियासहित हाजिर भई। उसले राजुलाई देख्नासाथ भनिहाली–‘ममी, मेरो पछि लाग्ने केटा यही हो। राजु भन्ने केटा यही नै हो ड्याडी।’

राजुले रुन्चे अनुहारमा जिज्ञासा प्रकट गरिहाल्या–‘तिमी त सरला भयौ। अनि यो मान्छे को त?’

-‘म ? मचाहिँ सरलाको दादा।’ मैले सरलाको आवाजमै आफ्नो परिचय दिएँ। अनि अनुहार छोपेको ‘स्कार्फ’ निकालेँ।

तब त राजुको अनुहार हेर्न लायकको भइहाल्यो नि। मैले उसलाई आफ्नो खुट्टा पनि देखाइदिएँ।

ऊ झसङ्ग हँुदै बोल्यो–‘केटीको जुत्ता!’

मैले राजुको पिठमा धाप मार्दै उत्तर दिएँ–‘हो, केटीको जुत्ता। अर्थात् मेरी बहिनी सरलाको जुत्ता हो यो।’
-‘ओ माई गड्! दादाले मेरो जुत्ता चोरेर लगाइसेको?’ मेरी बहिनीले नाक बजाउन थालिहाली। केटीको जुत्ताको रहस्य खुल्दै थियो। राजु लाजले पानी–पानी भयो। ऊ भाग्न खोज्दै थियो। तर त्यही बेला मेरी प्रेयसीको प्रवेश भयो। सरला किचेनभित्र पसी।

सजनीलाई देखेर राजु झनै चकित पर्‍यो! ऊ त नाताले सजनीको भाइ पथ्र्यो। अर्थात् सजनीको मामाको भतिजो। मेरी बहिनी चिया बनाउँदै थिई। हामीहरू बैठक कोठामा बसेर सबै रहस्यको पेटारो खोल्न थाल्यौँ।

सजनीले सबै कुराको बेलिबिस्तार लगाइदिइन्। मैले सजनीलाई ‘सरलाको पछि कोही केटो लागेको छ’ भनेको थिएँ। पछि थाहा भयो, केटो त सजनीकै आफन्त रहेछ। तब त सजनीकै योजनामा मैले त्यस्तो नाटक मञ्चन गरेको थिएँ।

मैले ममी, ड्याडीलाई भनेँ–‘अब त मेरी बहिनीको विवाह गरिदिनोस्। हजुरहरूले वचन दिनुभएको थियो नि हैन?’

-‘बिहे त गराइदिऊँला। तर कोसँग?’ लौ ! ड्याडी त रिसाउन पो थाल्नुभयो। ममीले पनि ‘राजु नै हो सरलाको लागि असल वर’ भन्ने कुरालाई नजरअन्दाज गरिदिनुभयो। मैले सजनीलाई राजुको बारेमा बताइदिन आग्रह गरेँ।

राजुजत्तिको केटो पाए मेरी बहिनीलाई अरू के चाहियो त? इन्जिनियर केटो हो। आजको दुनियाँमा कम्प्युटर इन्जिनियरभन्दा राम्रो इलम अरू के होला? कोठैमा बसी बसी लाखौँ रुपैयाँ आम्दानी गर्छन्।

राजुको विषयमा मैले एक एक कुरा थाहा पाएको थिएँ। उसको आनीबानी, उसको रुचि, खानपान, खेलकुद आदि यावत कुराहरू थाहा पाएको थिएँ। धेरै पटक भेट्दा र बोल्दा पनि राजुले मप्रति शङ्का गर्न सकेन।

गरोस् पनि कसरी? गोडामा केटीको जुत्ता। स्वर पनि केटीकै। स्कार्फले मुख छोप्ने गरेको। राजु असल केटो हो भन्ने कुरा थाहा भइहाल्यो। अनि पो ज्वाइँ बनाउन मरिहत्ते गरेको थिएँ मैले। ममीलाई राजु मन पर्‍यो।

सरलाले किस्तीमा चिया ल्याउँदै फलाकी-‘ममी, ड्याडी। एउटा ‘गुड निउज’ छ। मेरो ‘भीजा’ लाग्यो रे!’

ऊ हतारमा बैठक कोठामा पस्दा किस्तीका कपहरू जुधेर टक्टक्टक्…आवाज आइरहेको थियो । उसले किस्ती टेबलमा राखी।

मैले बहिनीको हातमा समातेर भनेँ–‘बस यता। यहाँ तिम्रो विवाहको कुरा भइराखेको छ।’

-‘कोसँग?’ बहिनी एक्कासि रिसाउँदै शत प्रतिसत नाइँनास्ती गर्छे-‘यो मान्छेसँग? नो, नेभर। ‘नेपाल छाडेर काहीँ जान्नँ’ भन्ने मान्छेसँग म बिहे गर्दिनँ दादा।’

बहिनीले अन्तिम निर्णय सुनाइदिई। मैले बहिनीलाई टोकेँ–‘बिहे नगर्ने भए तैँले किन कुरा लुकाइस् भन् त? तैँले राजुलाई मन नपराएकी भए आफू पछि लाग्ने केटाको बारेमा घरमा भन्न पर्दैनथ्यो? मैले थाहा नपाएको भए के हुन्थ्यो थाहा छ?’

-‘कुन्नि कुन्नि। यो मान्छे मलाई मन पर्दैन। मैले जानेकी त्यत्ति हो।’ सरला च्याँट्ठेर बोली। राजुले चियाको एक सुर्को मात्र लगाएर हिँड्यो। उसका गह्रौँ पाइलाहरू अघि बढ्दै गएर बाइकमा पुगी अडिए।

मेरी सजनीलाई पनि नरमाइलो लाग्यो। उनी पनि केही नबोली बैठक कोठाबाट निस्किइन्। मलाई खपीसक्नै भएन। सरासर आफ्नो कोठामा गएँ। त्यहाँ बहिनीका तीन–चार जोर जुत्ताहरू थिए। ती सबै बारीतिर मिर्काइदिएँ।

बहिनीले मलाई ‘जुत्ता चोर’ भनी।

आज १५ वर्ष पुगेछ, मेरी सजनी र मैले मायाको डोरी बाट्न थालेको। तर त्यसको कुनै टुङ्गो छैन, अब कतिसम्म बाटिरहनु पर्ने हो? हाम्रो बिहेको लगन आज जुर्ला, भोलि जुर्ला भन्दाभन्दै करिब डेढ दसक भइसकेछ।

तर थाहा छैन, हाम्रो लगनगाँठो कस्ने दिनसम्म बाँचिन्छ? या मरिन्छ? राजुको पनि अत्तोपत्तो छैन। मेरो जुवाइँ बन्न नपाएपछि ऊ देखै परेन। थाहा छैन, राजुको कुनै केटीसँग बिहेको लगन जुर्‍यो कि जुरेन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *