जुन कारण युक्रेनमा आक्रमण भयो त्यही बाटोमा रुसका अरु २ छिमेकी, के रुसले आक्रमण गर्ला ?

डिसी नेपाल
२१ फागुन २०७८ १०:०८

काठमाडौं। जुन कारणले रुसले युक्रेनमाथि लगातार आक्रमण गरिरहेको छ युरोपका अरु २ देश त्यही बाटोमा अगाडि बढ्ने तयारीमा भएको रिपोर्ट सार्वजनिक भएको छ । रुसले युक्रेनलाई नेटोको सदस्य बन्न नदिनको लागि युक्रेनमाथि आक्रमण गरिरहेको छ । यही बीचमा युरोपका अरु २ देश फिनल्याण्ड र स्वेडेन नेटोमा सहभागी हुने तयारीमा छन् ।

यी दुई युरोपेली देशहरुमध्येमा फिनल्याण्ड पूरै युक्रेनको बाटोमा गएको जस्तो देखिएको छ किनकि फिनल्याण्डको सीमा रुससँग जोडिएको छ । रुसको महत्वपूर्ण सहर सेन्ट पिटसबर्ग फिनल्याण्डको नजिकै छ । यस्तोमा फिनल्याण्ड नेटोमा सहभागी हुँदा रुसले आफ्नो सीमामा नेटो सैनिक आउने खतरा निश्चय नै महसुस गर्नेछ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले फिनल्याण्डसँग सुरक्षा र रक्षा सहयोग अझै बढाउने विषयमा सहमति जनाएका छन् जसलाई फिनल्याण्ड नेटोको सदस्य बन्नेतिर बढिरहेको रुपमा हेरिएको छ । युक्रेनमा रुसले आक्रमण गरेपछि रुससँग सीमा जोडिएका युरोपेली देशहरुमा पनि चिन्न उत्पन्न भएको छ ।

फिनल्याण्डका राष्ट्रपति सौली निनस्तोसँग ह्वाइट हाउसमा वार्ताको क्रममा राष्ट्रपति बाइडेनले फिनल्याण्डलाई एक बलियो रक्षा सहयोगी बताएका छन् । तर, दुवै नेताहरुले फिनल्याण्ड नेटोको सदस्य बन्ने विषयमा स्पष्ट रुपमा केही भनेनन् । फिनल्याण्डसँग रुसको १३०० किलोमिटर लामो सीमा जोडिन्छ र १९१७ सम्म फिनल्याण्ड रुसको नियन्त्रणमा थियो ।

रुसले युक्रेनमा आक्रमण गरेपछि फिनल्याण्ड र स्वेडेनका धेरैजसो जनता आफ्नो देश नेटोको सदस्य बन्नुपर्ने पक्षमा देखिएका छन् । यद्यपि रुसले पहिले नै फिनल्याण्ड र स्वेडेन नेटोमा सहभागी हुने विषयमा चेतावनी दिइसकेको छ । स्वेडेन लामो समयदेखि निष्पक्षताको लागि परिचित देश हो तर हालै गरिएको जनमत संग्रहमा देशका बहुमत जनताले आफ्नो देश नेटोको सदस्य बन्नुपर्ने पक्षमा मतदान गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *