काठमाडौं महानगरको चुनावमा स्वतन्त्र उम्मेदवारले ‘डेमोक्रयाट’ मत काट्ने सम्भावना कति ?

सम्भव सिंह ठकुरी
२५ फागुन २०७८ ६:४८

काठमाडौं। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीका पक्षमा माहोल बनाउन काठमाडौं महानगरको राजनीतिक दल सक्रिय भएका छन्।
महानगर सहित ३२ वटा वडामा जनप्रतिनिधि चुन्नका लागि हुन लागेकोे निर्वाचनले राजनीतिक दलका नेता तथा कार्यकर्तासँगै सर्वसाधारणलाई समेत उत्साहित बनाएको छ।

देशमा मुख्य राजनीतिक दल नेकपा (एमाले), नेपाली कांग्रेस,   माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लगायतले निर्वाचन केन्द्रित अभियान सञ्चालन गरिरहेका छन्। राजनीतिक दलको यो अभियानसँगै निर्वाचनको सरगर्मी बढ्न थालेको छ ।

भेला, बैठक र प्रशिक्षणका कार्यक्रम लिएर दलका नेता टोल,टोल पुग्न थालेपछि चुनावी सरगर्मी बढेको हो । त्यसरी नै वडा देखि महानगरको नेतृत्वमा पुग्न आकांक्षी दलभित्रसमेत आफ्नो उम्मेदवारी घोषणा गर्न थालिसकेका छन्।

महानगरको नेतृत्व लिन कांग्रेसमा आधा दर्जन आकांक्षी

स्थानीय तहको मिति नजिकिएसँगै संघीय राजधानीको मुटुमा रहेको काठमाडौं महानगरपालिकाको नेतृत्वमा कसको दाबी रहने भन्नेमा सत्तारुढ दल नेपाली कांग्रेसभित्र चर्चा शुरू भएको छ। र महानगरको नेतृत्वका लागि कस्ले टिकटको बाजी मार्छ भन्ने विषय पनि रोचक र कौतुहदताको विषय बनेको छ।

चुनावमा आधा दर्जन नेताहरु उम्मेदवारी बन्ने आकांक्षा देखाए पनि टिकट वितरण गर्ने कांग्रेस केन्द्रीय संसदीय समिति भने अहिलेसम्म बनेको छैन। यद्यपि भावी नेतृत्वका लागि उपमेयर हरिप्रभा खड्की, गत निर्वाचनमा कांग्रेसबाट नगरप्रमुखको उम्मेदवारी रहेका राजुराज जोशी, प्रगतिमान रञ्जित, नीलकाजी शाक्य, तीर्थराम डंगोललगायत दाबेदारका रूपमा देखिएका छन्। यीमध्ये रञ्जित संस्थापन पक्षका मानिन्छन् भने खड्की र शाक्य प्रकाशमान सिंह पक्षका मानिन्छन्।

डंगोल कृष्णप्रसाद सिटौला पक्षका मानिन्छन्। कांग्रेस काठमाडौंको राजनीतिमा नेता प्रकाशमान सिंहको बलियो प्रभाव रहेको मानिन्छ। २०७३ मा भएको निर्वाचनमा कांग्रेसबाट महानगर प्रमुखमा राजुराज जोशी र उपप्रमुखमा हरिप्रभा खड्कीले उम्मेदवारी दिएका थिए। प्रमुखमा एमालेको विद्यासुन्दर शाक्यले जितेपनि उपप्रमुखमा खड्कीले जितेकी थिइन्।

महानगरको ३२ वडाहरुमध्ये १४ कांग्रेसको रहेको छ भने अन्य १८ वटा वडाहरु एमालेले बहुमतका साथ महानगरको नेतृत्व गरेको छ। गत निर्वाचनमा एमालेले राप्रपासँग तालमेल गरी निर्वाचनमा होमिएको थियो। यो पटक एमाले विभाजन त्यसपछि राप्रपा पनि विभाजन भएको अवस्थामा कांग्रेसले यसपटक महानगरपालिकाको प्रमुखसहित वडाहरुमा महुमतनै हत्याउने रणनीति बनाउँदै आन्तरिक एकताका साथ उम्मेदवार चयन गर्ने गरि आन्तरिक गृहकार्य गरिरहेको जनाएको छ।

गत निर्वाचनमा कांग्रेसको तर्फबाट महानगर प्रमुखको उम्मेदवार राजुराज जोशी आफू स्वभाविक यो पटकको निर्वाचनमा आकांक्षी भएपनि पार्टीले निर्णय गरेको उपयुक्त निर्णय नै आधिकारीक हुने बताउँछन्।  र यो पटक कांग्रेसले वडाहरुमा स्पष्ट बहुमतका साथ नगर प्रमुख नै जित्ने उनको विश्वास रहेको छ।

‘म स्वभाविक रुपमा महानगरप्रमुखको आकांक्षी हो। मैले नै टिकट पाउनुपर्छ भन्ने पनि छैन। तर पार्टीले जित्ने व्यक्तिलाई उम्मेदवार बनाउनुपर्छ भन्ने मेरो मान्यता हो। त्यसकालागि हामी आन्तरिक छलफलमा जुटिराखेका छौँ,’ जोशीले भने।

स्वतन्त्र उम्मेदवारले डेमोक्रयाट’मत काट्ने सम्भावना कस्तो छ ?

गत निर्वाचनमा महानगरको नेतृत्वमा कांग्रेस पराजित हुनुमा वैकल्पिक भनिएको विवेकशील पार्टीका उम्मेदवार र अन्य स्वतन्त्र उम्मेदवार प्रमुख कारण भएको काठमाडौं कांग्रेसले निष्कर्ष निकालेको थियो। उक्त कुरा राजुराज जोशी पनि स्वीकार्छन्। महानगरको निर्वाचनमा ६४ हजार ९ सय १३ मत ल्याएर एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले बाजी मार्दा जोशीले ४५ हजार २ सय ६९ मत ल्याएर दाेस्राे बनेका थिए।

तत्कालीन विवेकशील नेपाली दलका नेतृ रञ्जु दर्शना ले २३ हजार ४ सय ३९ मत र स्वतन्त्र उम्मेदवार रहेका तत्कालीन साझा पार्टीका उम्मेदवारले १८ हजार ४ सय ९६ मत प्राप्त गरेका थिए। त्यसैगरी माओवादी केन्द्रका सर्वोतम डंगोलले ७ हजार ६,तत्कालिन नयाँ शक्ति पार्टीका पवित्रा बज्राचार्यले ६ हजार ५० मत ल्याएका थिए।

सो निर्वाचनमा आफू हार्नुको प्रमुखका कारण कांग्रेसको मत रञ्जु र किशोर थापामा विभाजन भएको बताउँछन्। र अर्को कारण टिकट वितरणमा पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेट्न नसकेको कारण पनि कांग्रेसको हार भएकाले यो पटक त्यसो नहुने उनको दावी रहेको छ।

यो पटकको निर्वाचनमा पनि चर्चित र्यापर वालेन्द्र शाह ‘वालेन’ ले पनि आफू आगामी निर्वाचनमा महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा सहित तीब्र प्रचार प्रसार गरिराखेका छन्।

वैकल्पिक शक्ति भनिएको नयाँ दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले यो पटक पनि कांग्रेसको मत विभाजन हुने हो कि ? भन्ने प्रश्नमा यो पटक महानगरको मतदाताले त्यस्तो गल्ती नगर्ने जोशीको विश्वास रहेको छ।

‘गत निर्वाचनमा उम्मेदवार रहेकी रञ्जु दर्शना, किशोर थापा ‘करौँती’ उम्मेदवार रहेको भन्ने पुष्टि भइसक्यो। अहिले हेर्नुहोस् उहाँहरु कुन अवस्थामा छन्। पार्टी जोड्ने फुटाउने काम मात्र गर्ने काम केही नगर्ने र अरुको आलोचना मात्र गर्ने उहाँहरुको परिपाटी छ,’ जोशीले भने ‘त्यसकारण त्यस्ता उम्मेदवारले कांग्रेसको केही मत काटेपनि अब मतदाताले बुझ्ने छन्।’

उनले अगाडि भने,- एमालेले वडाहरुमा बहुमतका साथ महानगरको नेतृत्व गरेको छ। तर निर्वाचन भएको ५ वर्ष बित्नलाग्दा जनताले प्रत्यक्ष अनुभूती गर्ने खालको केही रुपान्तरण गरेको छैन।सामान्य तरिकाले महानगरको दैनिक र प्रशासन चलाएको छ।एमालेदे घोषणा पत्रमा जनता भुल्याउने आकर्षक नारामात्र ल्याएको छ। तर काम कस्तो गरेको छ भन्ने कुरा त जनताले थाहा पाइसके । यो खाले सुस्त काम त पञ्चायत कालमा पनि भएको थियो। त्यसकारण अबको महानगरको निर्वाचनमा मतदाताले एमालेको पनि विकल्प खोज्ने भएकाले कांग्रेसको उम्मेदवार विजय हुनेमा विस्वस्त छु।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *