पाकिस्तानसँग जंगियो उत्तर कोरिया

डिसी नेपाल
२६ फागुन २०७८ १७:००

काठमाडौं। पाकिस्तान र उत्तर कोरियाबीच विवाद भएको रिपोर्ट सार्वजनिक भएको छ । यो हप्ताको सुरुवातमा पाकिस्तानको पुलिसले इस्लामाबादस्थित उत्तर कोरियाको दूतावासमा भारी मात्रामा मदिरा भएको सूचना पाएपछि छापा मारेको थियो । यो घटनालाई लिएर उत्तर कोरियाले कडा आपत्ति जनाएको छ । उत्तर कोरियाको दूतावासले यो घटना भियना सन्धिको घोर उल्लंघन भएको बताएको छ । छापा मार्ने क्रममा दूतावासलाई क्षति समेत पुगेको बताइएको छ ।

पाकिस्तानी अखबार डनको एक रिपोर्टका अनुसार घटनाको जानकारी दिँदै उत्तर कोरियाको दूतावासले इस्लामाबादका पुलिस महानिरीक्षण (आइजीपी) लाई एक पत्र लेखेको छ । पत्रमा इस्लामाबादको एफ–१० पुलिस स्टेशनबाट एक महिला पुलिसकर्मीसहित ७ जना पुलिसकर्मी सोमबार ७ मार्चमा दूतावासमा आएको र गैरकानुनी रुपमा दूतावासमा प्रवेश गरेको बताइएको छ ।

पत्रमा अगाडि लेखिएको छ ‘दूतावासका स्टाफले उनीहरुलाई याद दिलाए कि दूतावासको परिसर उत्तर कोरिया दूतावासको सम्प्रभु क्षेत्र हो । स्टाफले पुलिसलाई आफ्नो छापामारी रोक्न भने । तर पुलिसले स्टाफको कुरालाई बेवास्ता गरे । पुलिसले केही सामान जफत गर्ने बहानामा पछाडिको स्टोर रुमको तलाशी लिए र दूतावासका कर्मचारीलाई बन्दुक देखाएर डर धम्की दिए ।’ पत्रमा पुलिसकर्मीले ढोका फुटाइदिएको र बेसमेन्टको एक कोठामा तोडफोड गरेको भन्दै दूतावासले यो छापामारीमा कुनै बाहिरी शक्तिको हात भएको आरोप लगाएको छ ।’

उत्तर कोरियाले यो घटनाप्रति खेद व्यक्त गर्दै यो घटनामा संलग्नहरुमाथि जाँच र कारवाही गर्न र यस्ता घटना फेरि हुन नदिन विदेश मन्त्रालय र सुरक्षा संगठनसँग माग गरेको छ । पुलिसले दूतावासमा भारी मात्रामा मदिरा भएको सूचना पाएपछि छापा मारेको बताएको छ । सूत्रका अनुसार इस्लामाबादका आइजीपीले उक बरिष्ठ पुलिस अधीक्षकलाई जाँच गरेर ३ दिनभित्र रिपोर्ट पेश गर्न निर्देशन दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *