रुसी र युक्रेनी विदेशमन्त्रीको टर्कीमा भएको वार्ता युद्धबिराम गराउन असफल, कसले के भने ?

डिसी नेपाल
२६ फागुन २०७८ १७:२२

इस्तानबुल । रुस र युक्रेनका विदेशमन्त्रीबीच टर्कीमा भएको प्रथम चरणको वार्ता युद्धविरामबारे सहमति गर्न विफल भएको युक्रेनले बताएको छ।

उक्त भेटपछि बोल्दै युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले रुसी विदेशमन्त्रीले युक्रेनसँग गरेको माग आत्मसमर्पणसरह भएको बताए।

लाभ्रोभले रुसको सैन्य कारबाही योजानाअनुरूप नै चलिरहेको दाबी गरे।

युक्रेनलाई हतियार दिएर उनले पश्चिमा राष्ट्रहरूले खतरनाक व्यवहार देखाएको उनले बताए।

कसले के भने?

कुलेबाले युक्रेनी भूमिमा मानवीय सहायताका मुद्दामा समाधान खोज्ने प्रयास जारी राख्न दुई पक्ष सहमत भएको बताए।

उनले ‘तात्विक छलफल र समाधान खोज्ने परिदृश्यमा त्यसो भएमा’ आफू पुन: भेट्न तयार रहेको बताएका छन्।

“म युद्ध अन्त्यका लागि, युक्रेनी नागरिकको पीडा अन्त्य गर्नका लागि र हाम्रो भूभागलाई हस्तक्षेपकारी रुसी फौजबाट मुक्त पार्न यस्तो संलग्नता जारी राख्न चाहन्छु।”

लाभ्रोभले “मानवीय विषयबारे टर्कीका मित्रहरूले लिएको अग्रसरता” बारे छलफल भएको बताए।

उनले सर्वसाधारणहरूलाई बन्धक बनाइएको रुसी दाबी दोहोर्‍याउँदै “तथाकथित स्थल प्रतिरक्षा फौज” ले त्यसो गरेको बताए।

कुलेबाले भने – दुईवटा कार्यलाई प्राथमिकता दिनुपर्छ, मारिओपोलबाट मानिसहरूलाई अन्यत्र जान दिने निकासमार्ग र २४ घण्टे युद्धविराम।

लाभ्रोभले क्रेम्लिनका निर्णयकर्तासम्म त्यो कुरा पुर्‍याउने अपेक्षा व्यक्त गरे।

रुससँग इच्छा नभए युद्ध रोक्न नसकिने उनको भनाइ थियो।

लाभ्रोभले रुसको सुरक्षा चासोप्रति कसैले वास्ता नगरेको भन्दै अमेरिकाले युक्रेनी भूमिलाई जैविक अस्त्र विकास गर्न प्रयोग गरेको आरोप लगाए।

युक्रेनस्थित एउटा अस्पतालमा गरिएको रुसी आक्रमणबारे भइरहेको निन्दाबारे प्रतिक्रिया दिँदै उनले विश्वभरि सार्वजनिक मतलाई प्रभावित पारिएको दाबी गरे।

उनले रुसविरुद्ध लगाइएका प्रतिबन्ध खेप्ने बताउँदै आफ्नो देशल यो सङ्कटबाट मुक्त हुने दाबी गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *