सकियो अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला

डिसी नेपाल
२६ फागुन २०७८ २२:२९
16
Shares

काठमाडौं । एभरेष्ट नेपाल कल्चरल ग्रुपले आयोजनाले आयोजना गरेको एघारौं संस्करणको अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०७८ सम्पन्न भएको छ । भर्चुअल रूपमा आयोजना गरिएको मेलामा इस्टोनिया, मेक्सिको, बंगलादेश, बोलिभिया, भारत, मलेसिया, बुल्गेरीया, कोलम्बिया, चिली, इक्युडोर, इजिप्ट, लिथ्युनिया, पेरु, फिलिपिन्स, पोल्यान्ड, पोर्चुगल, इजरायल, रोमानिया, सरबिया, सिंगापुर, स्लोभाकिया, साउथ अफिक्रा, स्पेन, ताइवान, तान्जेनिया, जिम्वाबे र नेपालसहित विश्वका ३० भन्दाबढी राष्ट्रबाट ४२ विभिन्न सांस्कृतिक समूहहरूले सहभागिता जनाएका थिए ।

आयोजक संस्थाका संस्थापक अध्यक्ष आरसी कोइराला ‘रामचन्द्र’ले एभरेष्ट नेपाल कल्चरल ग्रुप नेपाली लोक संस्कृतिको संरक्षण तथा सम्बन्धन गर्न सक्रिय रहेकाले विश्वका अन्य देशका संस्कृतिलाई पनि जोगाउनका लागि मेला आयोजना गरिएको बताए ।

‘स्थापनाकालदेखि नै यस संस्थाले नेपालको सांस्कृतिक विविधतालाई विश्वसामु प्रस्तुत गरी नेपालको गरिमा बढाउने कार्य गर्दै आइरहेको छ । केही दशकयता नेपालले आफ्नो लोक संस्कृतिलाई विश्व समुदायसामु उजागर गर्न थाले पनि नेपालको सांस्कृतिक विविधता अहिलेसम्म ओझेलमा पर्दै आएको छ’, कोइरालाले भने, ‘यस्तो स्थितिलाई मध्यनजर गर्दै यस संस्थाले आफ्नो मौलिक लोक संस्कृति झल्कने कार्यक्रमहरू स्वदेश तथा विदेशमा प्रस्तुत गर्दै आएको छ । हामी युवापुस्तामार्फत नेपाली संस्कृतिलाई विदेशमा प्रवर्द्धन गर्न चाहन्छौं ।’

संस्थाले ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मूल नारासहित २०५९ सालमा प्रथम अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला र २०७५ सालमा ‘अन्तर्राष्ट्रिय बालबालिका लोक सांस्कृतिक मेला’ आयोजना गरेको थियो । हरेक दुई वर्षमा मेला आयोजना हुँदै आएको छ ।

आयोजकका अनुसार ‘प्रथम अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला’ देखि हालसम्म आइपुग्दा करिब ७५ भन्दा बढी देशका ६५ सयभन्दा बढी कलाकारहरूले आआफ्नो देशको मौलिकता झल्कने झाँकीसहित विविध लोकसांस्कृतिक कार्यक्रम प्रस्तुत गरिसकेका छन् ।

यसपटकको मेलामा नेपालको तर्फबाट मघऔटा तथा कौरा नृत्य प्रस्तुत गरिएको थियो । नृत्यमा नृत्य निर्देशक जोगेन्द्र केसीको निर्देशन थियो । मेलामा नै प्रस्तुत गरिएको भैरव काली नृत्यलाई चरिया गुरु चन्द्रमान मुनिकार तथा धिमे नृत्यको निर्देशन सुदन मुनिकरले गरेका थिए । मेलाको संगीत संयोजन संगीतकार राम भुजेलले गरेका थिए । मेलामा सय बढी कलाकारहरूले नृत्य र वाद्यवादनमा सहभागिता जनाएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *