रसिया-युक्रेन युद्ध र शान्तिको सन्देश

डिसी नेपाल
२७ फागुन २०७८ १२:११

प्राग ऐतिहासिक काल सन् १६१३ देखिको रोमानोभ वंशका प्रथम शासक पिटर द ग्रेटदेखि सन् १९१७ को बोल्सेभिक क्रान्ति पश्चात स्थापना भएको सोभियत युनियन सन् १९९१ मा विघटन भएर टुक्रा-टुक्रा हुँदै युरोप र एसियाको भूभागलाई छोएर बसेको विश्वको बिशाल देश आज एक मात्र रसियामा सीमित रहनु भ्लादिमिर पुटिनले नेतृत्व गरेको रसियाको लागि अत्यन्तै असह्य बनेको सबैले महसुस गर्नुपर्छ।

सन् १९१७ को उग्र बामपन्थीहरुको भीषण बोल्सेभिक क्रान्तिपछि सोभियत रुसका कट्टर शासक निकोलस द्वितीयलाई शासन सत्ताबाट हटाई सोभियत समाजवादी राज्यको रुपमा स्थापना भयो। यो क्रान्तिको नेतृत्व स्वयम् व्लादिमिर इलीच लेनिनले गरेका थिए।

यो क्रान्तिपछि सोभियत युनियन अनेकौं गणराज्यहरुको सम्मिलनमा स्थापित हुन पुग्यो। अनेक संघर्ष, राजाको शासन र ठूलाठालुको विरोधलाई दमन गर्दै सन् १९२२ मा रुस, युक्रेन, बेलारुस र ककेसियन देशहरु जर्जिया, अर्मेनिया अजरबैजान, कजाकस्थान कीर्गिजिस्थान, मोल्दोभा, लात्भिया, इस्टोनिया र लिथुवानिया जस्ता देशहरु मिलेर सोभियत युनियनको स्थापना भयो।

लेनिनको मृत्युपछि जर्जियामा जन्मेका जोसेफ स्टालिनले सन् १९२४ मा सत्ताको बागडोर सम्हालेपछि उनले सन् १९५३ सम्मको लामो शासनकालमा अनेकौं अमानवीय घटना घटाइ आफ्ना सबै विरोधीहरुको कत्लेआम गरे र सोभियत युनियनलाई कृषि समाजबाट औद्योगिक समाजमा परिणत गर्दै सैनिक शक्तिको मुख्य शक्तिवान देशको रुपमा प्रस्तुत गरे।

उनले देशमा ५ वर्षे योजना लागू गरी कृषि र कृषिबाट औद्योगिकरण र औद्योगीकरणबाट सैन्य रणनीतिको कुशलतामा आफ्नो देशलाई अब्बल दर्जामा राख्न सफल भए। तर, रुसमा कृषि खस्किँदै जान थालेपछि सन् १९३२/३३ सम्म रुसले ठूलो भोखमरीको सामना गर्नु पर्‍याे। रुस युक्रेनसहित सारा सोभियत युनियनका राज्यहरु कठोर भोकमरीमा परे।

त्यसै बखत साम्यबादको लहर छिमेकी राज्यहरु सेन्ट्रल युरोपमा फैलिँदै गयो। यसको विरुद्धमा पश्चिममा सन् १९४९ मा नेटो संगठनको उदय हुनपुग्यो। सुरुमा अमेरिका, क्यानडा र अन्य १२ पश्चिमी देशहरुको अगुवाइमा नेटोको स्थापना भएको थियो । तर, पछि यसले भयंकर ठूलो रुप लियो। करिव ३० वटा देशहरु यसको सदस्य बन्न पुगे। यसको विरोधमा रुसले पनि सन् १९५५ मा साम्यवादी संगठन वार्सा प्याक्ट गठन गर्‍याे।

यसरी नेटो र वार्सा प्याक्टको उदयपछि विश्व दुई ध्रुवमा विभाजित बन्यो। सन् १९५३ मा स्टालिनको मृत्युपछि सोभियत युनियनमा अर्का साम्यवादी नेता निकिता ख्रुस्चेभको नयाँ शक्तिको उदय भयो। त्यस बखत सारा देशको बजेटको ठूलो हिस्सा रकेट लञ्चिङ र रक्षामा खर्च गर्ने क्रम बढेकाले खाद्यान्न संकटको आरोपमा उनलाई सन् १९६४ मा पदबाट बर्खास्त गरियो।

सन् १९६४ देखि १९९० को दशकमा सोभियत युनियनमा ब्रेज्नेभको राजको समय आयो। उनको पालामा भत्केको सारा आर्थिक संरचनाहरु बिस्तारै माथि उठ्न थाले। तर पछि सर्वागिण विकासमा खासै परिवर्तन हुन सकेन। सन् १९९० ताका सोभियत युनियनलाई फेरि अमेरिकाको रेगन सरकारले विश्व आर्थिक जगतबाट एक्लो पार्ने काम गर्यो र रसियाबाट तेल आयात गर्न बन्द गर्‍याे।

फलस्वरूप रुसमा राजस्व घट्न गई आर्थिक जगतमा ठूलो धक्का पुग्न गयो। अमेरिका सुरुदेखि नै सोभियत संघको विशाल शक्तिलाई कुनै न कुनै रुपले चलाइ, सताइ र गिजोली पृथक गरी ठूलो शक्तिको रुपमा रहेको सोभियत युनियनलाई कमजोर पार्न खोजिरहेको थियो।

सन् १९८५ मा सोभियत युनियनमा कम्युनिस्ट पार्टीका उदारवादी नेता मिखाइल गोर्भाचेभको आगमन भयो। उनको मूल विचार आफ्नै संघ राज्यहरुभित्र उदार नीति अपनाई आर्थिक र राजनैतिक क्षेत्रमा उदारीकरण अपनाई अन्तर स्वतन्त्र र आर्थिक उदारीकरणद्वारा देशलाई झन् समुन्नत बनाउने योजना थियो।

उनकै पालामा दलबदलको बिचार र सूचनाको हकको विचारको फैलावट भयो। उनले खुलापनको विचार देशमा लागू गरे। हरेक व्यक्तिलाई बिचार व्यक्त गर्ने स्वतन्त्रता दिए। त्यस्तै अर्को आर्थिक स्वतन्त्रता प्रदान गर्न सुधारको सुत्र प्रस्तुत गरे। यो राजनैतिक र आर्थिक सूत्रपातले सोभियत युनियनमा ठूलो हलचल आयो।

हरेक क्षेत्रमा चेतनाको लहरको बर्षा भयो। प्रजातन्त्रको लागि यो एउटा स्वर्णिम समय थियो। उनले स्टालिनको पालामा बोरिश पस्तेर्नाकले नोबेल पुरस्कार बिजेता हुन सफल तर प्रकाशन बन्द भएको ‘डाक्टर झिभागो’ जस्तो विश्व प्रसिद्ध पुस्तकलाई बन्द कोठाबाट खोलिदिए।

उनको उदार नीतिका सूत्रहरुले सोभियत युनियनमा राजनैतिक र आर्थिक स्वतन्त्रताको मुहान फुट्यो। जताततै आर्थिक र राजनैतिक उदारीकरणले रुसमा ठूलो तरलता आयो। आखिर सोभियत युनियनको आकाशमा राज्यहरु स्वतन्त्र हुने आन्दोलन भए।

सन् १९८९ मा पोल्याण्डमा राजनैतिक आन्दोलन भयो। त्यस्तै जर्मनीको पर्खाल ढल्यो। सोभियत युनियन विघटन भयो र १५ अलग अलग देशहरुको उदय भयो । स्वतन्त्रताको लहरमा गोर्भाचेभको सरकार अपदस्त गरी अर्का कम्युुनिस्ट उदारवादी नेता बोरिस येल्त्सिन सोभियत युनियनको राजनीतिमा उदाएका थिए जसले जसले सोभियत संघलाई पूर्णतया विघटन गरी कम्युनिस्ट पार्टी पनि विघटन गर्नतर्फ लागे।

राष्ट्रपति बोरिस येल्त्सिनकै पालामा सोभियत युनियन भित्र रहेका १५ नयाँ राज्यहरुले स्वतन्त्रता प्राप्त गर्न सफल भए। तिनै राज्यहरुमध्ये युरोपको बीचमा रहेको युरेसिया रुसबाट अलग्गिन पुग्यो।

यसैगरी रसिया एकै ठाउँमा सीमित रही जर्जिया, बेलारुसिया, उज्बेकिस्तान, आर्मेनिया, अजरबैजान, कजाखस्थान, किर्गिजिस्थान, मोल्दोभालगायतका राज्य आआफ्नै स्वतन्त्र राष्ट्रमा परिवर्तन भए। यी नयाँ राष्ट्रमध्ये युक्रेन रुसको लागि हरेक क्षेत्रबाट अत्यन्तै महत्व पूर्ण राज्य थियो। पश्चिमी सामरिक महत्वबाट छुट्टिएको युरोपको केन्द्र बिन्दुमा रहेको युक्रेन राज्य रुसको लागि हीरा सरह थियो।

तर बिस्तारै युक्रेनले आफूलाई रुसलाई अहित हुने नेटोमा सम्मिलित हुन चाल चलेपछि रसियाका रास्ट्रपति भ्लादिमिर पुटिनलाई यो कुरा सह्य भएन। अमेरिकाको उक्साहटमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पछि हटेनन्।

यो सब राष्ट्रपति पुटिनलाई मान्य थिएन। तसर्थ आफ्नो सामरिक हिसाबले महत्वपूर्ण, युक्रेनको दक्षिणपूर्वमा रहेको क्रिमियालाई रुसले आफ्नो क्षेत्र घोषित गर्‍याे।  किनकि क्रिमियालाई नेटो देशका राष्ट्रहरुले वरिपरी घेरिसकेका थिए। यो युएसएसआरकै थियो। पछि १९१७ मा क्रिमिया रसियाको एक अंग बन्न पुग्यो। अबस्था ठिकै थियो।

युक्रेनका पूर्व राष्ट्रपति भिक्टर यानुकोभिचले युक्रेनी विद्रोहीहरुसँग अन्तिम समयसम्म पनि सम्झौता गरेनन र उनले देशको आर्थिक अवस्था सुधार्न रसियासँग लाखौं रकम माग गरी प्राप्त गरे। पछि विरोधीहरुको दवाबले भिक्टर यानुकोभिच भागी रसिया गए। तत्पश्चात युक्रेनमा सन् २०१९ मा जेलेंस्की राष्ट्रपति बन्न पुगे। उनको पश्चिमतिरको झुकावले भ्लादिमिर पुटिन निकै रुष्ट बनेका थिए।

युक्रेन ४०० बर्ष देखि सोभियत युनियनमा समाबेश भएको राज्यले यस्तो भूमिका खेलेकाले रुस रिसाउनु स्वभाविक थियो। मिलेरै बसेको भए शायद यस्तो आक्रामक स्थिति आउने थिएन होला। तर जेलेंस्कीको कार्यकालमा उनले नेटोसँग हात बढाएकोले पुटिनले आखिर यही सन् २०२२ फेब्रुअरी २४ मा युक्रेनमाथि युद्ध छेडे जसका कारण आज युक्रेन र अरु वरिपरिका राष्ट्रहरु र स्वयम् रसियाले पनि ठूलो नोक्सान बेहोर्नु परेको छ ।

स्थिति ययतिसम्म बिग्रिँदै गएको छ कि यो युद्धको बिस्तार हुँदै गएमा युक्रेन सम्पूर्णतः ध्वस्त हुने र अन्ततः यसले विश्वयुद्ध ल्याउने कुरा विश्वको दुई ध्रुवीय राजनीतिमा ठूलो चर्चाको बिषय बनेको छ । युद्ध अझै जारी नै छ । धेरै पटक वार्ता गर्ने प्रयत्न भयो तर पुटिनले राखेको शर्त मन्जुर नभएकोले रसियाले राजधानी किभ लगायत अन्य सहरहरुमा आक्रमण तीब्र पारिराखेको छ ।

यस्तो स्थितिमा रसिया, जसले विश्व नै ध्वस्त पार्न सक्ने किम्जल, एभोगार्ड, टि.यु.९५ जस्ता भयानक हतियार लिएर बसेको देशसँग युक्रेनले शान्ति बार्ता तुरुन्त गरी निकास निकाल्नुपर्छ। तत्काल वार्ता गरी युद्ध रोक्नुपर्ने अवस्थामा युक्रेन किन नेटो राज्यहरुको मुख ताकेर बसिरहेको छ ? यो नै एउटा रहस्यको बिषय बनेको छ।

नेटोको आडमा आफू र विश्वलाई नै विनाश पार्ने काम पक्का पनि राम्रो होइन। यसमा अब युक्रेनले नयाँ सोच निकाली आफूलाई युद्धबाट बाहिर ल्याउन अति आबश्यक छ।  नत्र युक्रेनको आगो बिस्तारै पूरा युरोपमा फैलिन सक्ने ठूलो सम्भावना देखिन्छ। यो परमाणु युद्ध विश्वले थाम्न नसक्ने निश्चय छ।

तसर्थ युक्रेन र रसियाले आज आफू र आफ्ना भविष्यका होनहार सम्पूर्ण नागरिकलाई र आफ्नो विकसित संरचनाहरुलाई जगेर्ना गर्न दुवैले गहिरो प्रयत्न गर्नु जरुरी छ। आज युक्रेनले सहायताको लागि अरु देशहरु समक्ष याचना गरिरहेको र यत्रो क्षति हुँदा पनि युएनओमा खाली बार्ता मात्र गर्ने र १४ दिनको लडाई हुँदापनि मिटिंगमात्र भई रहने अवस्था छ। यस्तो हामीले पहिले पनि धेरै देखिसकेका छौं।

आज युक्रेनका करिब २० लाख जनताहरुले युक्रेन छोडिसके । अझ कतिले छोड्न बाँकी नै छ । आज त्यस्तो सुन्दर देश शान्तसँग बस्नु पर्नेमा सारा युक्रेनी नागरिकहरुले चित्कार छोडिरहेका छन्। विश्वसँग शान्तिको माग गरिरहेका छन् ।

बस्न जोखिम, खानेकुरा र रसद पानीको अभाव र सुरक्षाको अभाबमा सारा युक्रेनी र आसपास देशका नागरिकहरु ‘किंकर्तव्यविमूढ’ बनी भागदौडमा आफ्नो जीवन निर्बाह गरिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *