प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता शुरु, आइतबार पुरुष फुटबल हुने

डिसी नेपाल
२८ फागुन २०७८ २३:४४

काठमाडौं । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा हुन लागेको प्रथम खेलकुद प्रतियोगिता आज शुरु भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रतियोगिताको उद्घाटन गरेका छन् । मुख्यमन्त्री पाण्डेले ओलम्पिक टर्च बालेर ओलम्पियन धावक बैकुण्ठ मानन्धरलाई हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

हेटौँडाको क्याम्पाचौरमा भएको उद्घाटन कार्यक्रममा नेपाल आर्मी, नेपाल प्रहरीको व्याण्डसहितको प्रस्तुति, विद्यार्थीहरूद्वारा ड्रिल प्रदर्शन, अतिसबाजी, मार्सल आट्र्स डेमो, विभिन्न तामाङ, नेवाः, थारू समुदायले आफ्नो झाँकी तथा खैजेडी र पञ्चेबाजाको सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिएको थियो ।

बागमती प्रदेश युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालको अध्यक्षता तथा मुख्यमन्त्री पाण्डेको प्रमुख अतिथ्यता रहनुका साथै प्रतिनिधिसभा सदस्य तथा नेपाल ओलम्पिक समितिका अध्यक्ष जीवनराम श्रेष्ठ र प्रदेश सभामुख सानुकुमार श्रेष्ठको विशिष्ट अतिथ्यता रहेको थियो ।

उद्घाटन कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रमुख तथा स्थानीयवासीको उपस्थिति थियो । हेटौँडामा मिनी रङ्गशाला निर्माणमा योगदान गरेको भनी पूर्व राष्ट्रिय बक्सिङ खेलाडी तथा पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेलाई सम्मान गरिएको थियो । साथै राष्ट्रियस्तरका कलाकार र हेटौँडाका कलाकारले आफ्नो गायन तथा नृत्य प्रदर्शन गरेका थिए ।

प्रतियोगिताअन्तर्गत मकवानपुरमा आइतबार पुरुषतर्फको फुटबल हुनेछ । पहिलो खेल समूह (ख) का चितवन र ललितपुरबीच हुने परिषद्ले जनाएको छ । खेल नकआउट चरणमा हुनेछ । प्रतियोगितामा आठवटा खेल हुने छन् । मकवानपुरमा आइतबारबाट पुरुष फुटबल, व्याडमिन्टन र चैत ५ गतेबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ । त्यस्तै चितवनमा फागुन ३० गतेदेखि भलिबल र क्रिकेट खेल खेलाइने परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले बताए ।

त्यस्तै सिन्धुपाल्चोकमा चैत ७ गतेबाट कराँते खेल हुनेछ भने काठमाडौँमा चैत ६ गतेदेखि एथलेटिक्स प्रतियोगिता हुने परिषद्ले जनाएको छ । त्यस्तै काभ्रेमा भने चैत ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखि बक्सिङ खेल प्रतियोगिता हुने सदस्यसचिव भण्डारीले बताए । प्रतियोगिताका लागि रु आठ करोड चार लाख खर्च हुने अनुमान गरेको छ । विभिन्न खेलमा करिब दुई हजारभन्दा बढी खेलाडीले सहभागिता जनाउनेछन् । खेलको समापन कार्यक्रम १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *