इराकमा अमेरिकी कन्सुलेटलाई लक्षित गर्दै एक दर्जन मिसाइल प्रहार

डिसी नेपाल
२९ फागुन २०७८ ११:५४
972
Shares

काठमाडौं। इराकका सुरक्षा अधिकारीहरुले देशको उत्तरमा रहेको स्वायक्त कुर्द क्षेत्रको इरबिल सहरमा कैयौं मिसाइल हानिएको बताएका छन् । एक अमेरिकी अधिकारीले यो आक्रमणमा अमेरिकी वाणिज्य दूतावासमा कुनै क्षति नभएको बताएका छन् । यसअघि अमेरिकी अधिकारीको हवाला दिँदै केही मिसाइल भवनमा लागेको भनिएको थियो ।

सामाजिक संजालमा सार्वजनिक भएका भिडियोमा अमेरिकी वाणिज्य दूतावास नजिकै भीषण विष्फोटका आवाज सुनिएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार त्यहाँको सरकारी समाचार एजेन्सीले कुर्दिस्तानका काउन्टर टेरोरिज्मका महानिर्देशकको हवाला दिँदै इराक बाहिरबाट इरबिललाई लक्षित गरेर १२ मिसाइल हानिएको बताइएको छ ।

रोयटर्सका अनुसार यसअघि कुर्द अधिकारीहरुले इरबिलमा कैयौं रकेट खसेको बताएका थिए । समाचार एजेन्सी एएफपीका अनुसार काउन्टर रेरोरिज्मले मिसाइलहरु पूर्वतर्फबाट आएको बताएको छ । एउफपीका अनुसार यसबाट केही क्षति भएको छ तर मानवीय क्षति भएको पुष्टि भएको छैन । अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले यसलाई क्रुर आक्रमण भनेका छन् ।

एएफपीका अनुसार इराकमा रहेको अमेरिकी नेतृत्वको सैन्य गठबन्धनका टुकडीहरुमा पहिले पनि रकेट र ड्रोन आक्रमण हुँदै आएका छन् । अमेरिकाले यी मिसाइल इराकको छिमेकी इरानतिरबाट हानिएको आरोप लगाएको छ । अहिलेसम्म आक्रमणमा कसैको मृत्यु भएको पुष्टि भएको छैन । यसअघि सिरियाको दमास्कसनजिकै इजरायलको आक्रमणमा इरानको रिभोल्युसनरी गार्डका २ सदस्यको मृत्यु भएको थियो । त्यतिबेला इरानले आक्रमणको कडा निन्दा गर्दै यसको बदला लिने बताएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *