एन्टिरेबिज भ्याक्सिन लगाउन ढिलाइ हुँदा ज्यान गुमाउँदै सर्वसाधारण

डिसी नेपाल
२९ फागुन २०७८ १२:५७
132
Shares

खोटाङ। गत २२ फागुनमा जिल्ला अस्पता दिक्तेल, खोटाङमा मुखमा घाउ लागेका बालक उपचारमा आए। स्वास्थ्यकर्मीले घाउ हुनुको कारण सोधीखोजी गर्दा बालक बताउन तयार भएनन्। फकाइफुल्याइ गरेपछि मात्र बालकले आफूलाई कुकुरले टोकेको खुलाउन तयार भए।

सुई लगाउनुपर्ने डरले बालकले अन्य कारणले चोट लागेको बताइरहेको खुलेको जिल्ला अस्पताल खोटाङका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. वैभव मल्लिक बताउँछन्। बालकलाई एन्टिरेबिज भ्याक्सिनको पहिलो मात्रा दिएर शुक्रराज सरुवा रोग अस्पताल टेकु रेफर गरिएको छ।

केही समयअघि खोटाङकै एक वृद्धलाई कुकुरको सानो बच्चा (छाउरा)ले टोक्यो। तर उनले छाउराले टोकेको जानकारी परिवारका कसैलाई दिएनन्। तीन सातापछि श्वास फेर्न अप्ठ्यारो हुने र पानीसँग डर लाग्ने समस्या देखिएपछि वृद्ध जिल्ला अस्पतालमा पुगे। डा. मल्लिकका अनुसार लक्षणका आधारमा वृद्धलाई एन्टिरेबिज भ्याक्सिन दिइयो तर दुई दिनपछि नै उनको मृत्यु भयो।

यस्तै, ५ माघमा बेवारिसे कुकुरले टोकेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुईपाकी ६७ वर्षीया वृद्धाको ६ फागुनमा मृत्यु भयो। कुकुरले टोकेको दोस्राे दिन वृद्धालाई जिल्ला अस्पताल दिक्तेलमा पुर्‍याएर एन्टिरेबिज भ्याक्सिन दिइएको थियो। तर, उनलाई रेबिजबाट बचाउने प्रयास असफल भए।

एन्टिरेबिज भ्याक्सिनको तीनवटै मात्रा पुरा गरे पनि टोकेको २०/२२ दिनपछि घाउमा अधिक दुखाई सुरु भयो। २८/२९ दिनपछि घाउ भएका दाहिने हात चल्नै छाडेपछि बिरामीलाई टिचिङ अस्पताल पुर्‍याइएको थियो। टिचिङले शुक्रराज सरुवा रोग अस्पताल टेकुमा रेफर गरेलगत्तै बिरामीको मृत्यु भएको हो। कुकुरले टोक्नेवित्तिकै दिइनुपर्ने रेबिज इम्युनोग्लोबुलिन डोज नपाउँदा बिरामीको मृत्यु भएको अस्पतालले जवाफ दिएको आफन्त सोनाम राई बताउँछन्। जुन रेबिज इम्युनोग्लोबुलिन डोज जिल्ला अस्पतालमा उपलव्ध हुन्न।

जिल्लामा कुकुरको टोकाइबाट घाइते भएका तथा रेबिजका कारण ज्यान गुमाउने व्यक्तिको यकिन तथ्यांक छैन। तर उल्लेखित दुई घटनामा कुकुरले टोकेपछि एन्टिरेबिज भ्याक्सिन दिन ढिलाइ हुँदा घाइतेले ज्यान गुमाउन पुगेको देखिएको डा. मल्लिक बताउँछन्।

गत ६ कात्तिकमा दिक्तेल बजारका १५ जनालाई बेवारिसे कुकुले टोकेको थियो। त्यसमध्ये दुईजनालाई टेकु रेफर गरियो। केही समयअघि मात्र जन्तेढुंगा गाउँपालिकामा समेत कुकुरको टोकाइबाट दर्जनौं स्थानीय घाइते भएका थिए। बेलैमा भ्याक्सिन दिइएका कारण उनीहरू रेबिज लाग्नबाट बचे।

कुकुरले टोकेपछि जतिसक्दो छिटो स्वास्थ्य कार्यालय पुगेर भ्याक्सिन लगाउनुपर्ने हुन्छ। बेलामा भ्याक्सिन नपाए भाइरस ब्रेनमा पुग्ने र घाइतेलाई बचाउन सकिन्न। डा. मल्लिकका अनुसार एन्टिरेबिज लगाउनमा हुने ढिलाइकै कारण घाइतेले अकालमा ज्यान गुमाइरहेको पाइएको छ। कतिपयमा अझै पनि कुकुरले टोकेपछि अस्पताल जानुपर्छ/लैजानुपर्छ भन्ने चेतनाकै कमी छ।

‘सानो छाउराले टोकेको केही हुन्न’ वा ‘सानो चोट लागेको छ केही हुन्न’ भनेर उपचारमा जान गरिने हेलचेक्र्याइँका कारण पनि कतिपयले अकालमा ज्यान गुमाउने गरेका छन्। अझै पनि कुकुरले टोके भने परिवारलाई जानकारी गराउने, जतिसक्यो चाँडो घाइतेलाई अस्पताल पुर्‍याएर भ्याक्सिन दिनुपर्ने चेतनाको अभाव छ। ‘संसारभरि नै रेबिजको उपचार छैन। त्यसको उपचार भनेको टाइममा भ्याक्सिन लगाउने नै हो। समयमा भ्याक्सिन लगायो भने कसैले ज्यान गुमाउन पर्दैन,’ डा. मल्लिकले भने, ‘अहिलेसम्म समयमा एन्टिरेबिज भ्याक्सिन लगाएको मान्छेले ज्यान गुमाउनु परेको छैन। तर भ्याक्सिनले काम गर्ने टाइम हुनुपर्‍यो। यत्तिको चेतना अभाव हुँदा र कतिपय अवस्थामा हुने हेलचेक्र्याइँले रेबिज काल बनिरहेको छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *