रुसले रासायनिक हतियार प्रयोग गरे नेटो प्रत्यक्ष रुपमा युद्धमा प्रवेश गर्न सक्ने

डिसी नेपाल
२९ फागुन २०७८ १७:३४

काठमाडौं। पोल्याण्डका राष्ट्रपति एण्ड्रजेज ड्युडाले युक्रेनसँगको युद्धमा रुसले रासायनिक हतियार प्रयोग गरेको अवस्थामा नेटोले युद्धमा प्रत्यक्ष दखल दिन सक्ने संकेत गरेका छन् । आइतबार एक अन्तरवार्तामा ड्युडाले रुसले रासायनिक हतियार प्रयोग गरेको अवस्थामा खेल बदलिने र त्यो अवस्थामा नेटोले यसको कसरी जवाफ दिने भन्ने विषयमा गम्भीरतापूर्वक सोच्नुपर्ने बताएका छन् ।

अहिलेसम्म नेटो रुस र युक्रेनको युद्धमा प्रत्यक्ष दखल नदिने पक्षमा छ । बीबीसी टेलिभिजनको एक प्रश्नको जवाफमा राष्ट्रपति ड्युडाले भने ‘यदि रुसले व्यापक नरसंहारका हतियारहरुको प्रयोग गर्छ भने यो गेमचेन्जर हुनेछ । यसमा कुनै शंका छैन कि अमेरिकाको नेतृत्वमा नेटो र उसका नेताहरु एकसाथ बस्नुपर्नेछ र यो विषयमा गम्भीरतापूर्वक विचार गर्नुपर्नेछ कि उनीहरुले वास्तवमा के गर्नुपर्छ किनकि स्थिति खतरनाक भइरहेको देखिएको छ ।’

बीबीसीकी सोफी रावर्थले पोल्याण्डका राष्ट्रपतिसँग ‘राष्ट्रपति पुटिनले रासायनिक हतियारको प्रयोग गर्न सक्छन् भन्ने लाग्छ ?’ भनेर सोधिन् । जवाफमा ड्युडाले भने ‘दोस्रो विश्वयुद्धपछि विश्वले यति ठूलो परिमाणमा कुनै संघर्ष देखेको थिएन । यदि मसँग सोध्नुहुन्छ कि के पुटिन रासायनिक हतियारको प्रयोग गर्न सक्छन् ? मलाई लाग्छ पुटिन अहिले कुनै पनि हतियारको प्रयोग गर्न सक्छन् । खासगरी जब उनी मुस्किल परिस्थितिमा छन् । राजनीतिक रुपले उनले यो युद्ध हारिसकेका छन् र सैनिक रुपले उनी यो युद्ध जित्न गइरहेका छैनन् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *