कोभिड बढेपछि चीनको अर्को सहरमा पनि लकडाउन

डिसी नेपाल
३० फागुन २०७८ ८:०९

बेइजिङ। कोभिड संक्रमण बढेपछि चीनको १ करोड ७० लाख जनसंख्या भएको शेनझेन सहरमा लकडाउन घोषणा गरिएको छ। शेनझेनको दक्षिणी टेक हबले सम्पूर्ण बासिन्दालाई २० मार्चसम्म घरभित्रै बस्न भनेको छ ।

सो अवधिसम्म सार्वजनिक सवारी साधनहरु पनि नचल्ने स्थानीय सरकारले जारी गरेको सूचनामा उल्लेख छ। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन निर्मूल गर्न चुनौती सामना गरिरहेका बेला सरकारले पछिल्लो प्रतिबन्ध लगाएको हो । पछिल्लो समयमा चीनमा कोभिड संक्रमण दर बढ्दो छ।

‘यदि रोकथाम र नियन्त्रणलाई समयमै र निर्णायक रूपमा सशक्त बनाइएन भने यो सजिलै समुदायस्तरमा फैलिन सक्छ’, शेनजेनका स्वास्थ्य अधिकारी लिन ह्यान्चेङले भने।

चीनभर संक्रमणमा बृद्धिले अधिकारीहरुलाई सांघाईमा विद्यालय र उत्तरपूर्वी शहरहरु बन्द गर्न बाध्य बनाएको छ । चीनका १८ ओटा प्रात ओमिक्रोन र डेल्टा भेरियन्टको क्लस्टरसँग जुधिरहेको छ। चीनमा सर्वप्रथम सन् २०१९ को अन्त्यतिर भाइरस देखिएको थियो। त्यसयता सरकारले शून्य-कोभिड नीति अंगिकार गर्दै आएको छ।

यसअघि कोभिड संक्रमण बढेपछि उत्तरपूर्वी सहर चाङ्गचुनमा यसै साता लकडाउन घोषणा गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *