रुस भन्छ- पुटिनबारे अमेरिकी राष्ट्रपतिको टिप्पणी ‘अक्षम्य’

डिसी नेपाल
३ चैत २०७८ ११:०५
336
Shares

बीबीसी। अमेरिकी राष्ट्रपति जो बाइडनले पहिलो पटक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई ”युद्ध अपराधी”भनेका छन्। रुसी समाचार संस्था टासका अनुसार क्रेम्लिनले बाइडनको उक्त टिप्पणीलाई ”अस्वीकार्य अनि अक्षम्य” बताएको छ। अमेरिकी राष्ट्रपतिको पछिल्लो टिप्पणीले अमेरिका र रुसबीच कूटनीतिक तनाव थप्ने सम्भावना रहेको बताइएको छ।

बाइडनले ह्वाइट हाउसमा एक जना सञ्चारकर्मीलाई उत्तर दिने क्रममा विना तयारी त्यस्तो प्रतिक्रिया जनाएका थिए। पुटिनको निन्दा गर्न उनले यस्तो भाषा प्रयोग गरेको यो पहिलो पटक हो। पछि ह्वाइट हाउसले राष्ट्रपति बाइडनले ”आफ्नो मनबाट बोलेको” जनाएको थियो।

पुटिनका प्रवक्ता दिमित्रि पेस्कोभले रूसी समाचार संस्था टाससँग प्रतिक्रिया जनाउँदै भने, “हामी राष्ट्रप्रमुखको यस्तो अभिव्यक्ति अस्वीकार्य अनि अक्षम्य मान्छौ जसका बमले विश्वभर हजारौँ मानिसहरूको ज्यान लिएको छ।”

बुधवार एक जना सञ्चारकर्मीले बाइडलाई ”सबै कुरा देखेपछि पुटिनलाई युद्ध अपराधी भन्न तपाईँ तयार हुनुहुन्छ?” भनेर प्रश्न गरेका थिए। सुरुमा बाइडनले ”छैन” भन्ने जवाफ फर्काए।

तर उनलाई प्रतिप्रश्न गरिएपछि आफ्नो जवाफ फेरे र भने: ”तपाईँले मलाई के मैले … भन्नेछु भनेर सोध्नु भएको हो? मलाई लाग्छ कि उनी युद्ध अपराधी हुन्।” पछि ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले राष्ट्रपतिले युक्रेनमा भएको हिंसाको ”बर्बर” तस्बिर देखेपछि आधिकारिक रूपमा घोषणा गर्नु भन्दा पनि आफ्नो मनबाट बोलेको बताइन्।

युद्ध अपराध निर्धारण गर्न विदेश मन्त्रालयले सञ्चालन गर्ने एउटा छुट्टै कानुनी प्रक्रिया रहेको र त्यो छुट्टै चलिरहेको उनले उल्लेख गरिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *