युरोपियन स्पेस एजेन्सीले मंगल ग्रहको महत्वपूर्ण मिशनबाट रुसलाई बाहिर निकालिदियो

डिसी नेपाल
४ चैत २०७८ १४:४३

काठमाडौं । रुसले युक्रेनमाथि गरेको आक्रमणबाट आक्रोशित युरोपियन स्पेस एजेन्सीले रुसको अन्तरिक्ष एजेन्सी रसकसमसलाई मंगल ग्रहसम्बन्धी महत्वपूर्ण मिसनबाट बाहिर निकालिदिएको छ । अब यो मिशनमा रुसी वैज्ञानिक र इन्जिनियरहरुको कुनै सहयोग लिइने छैन । यो मिशन १ अर्ब डलर बराबरको छ जसमा युरोपेली देशहरुको साथै रुस पनि सहभागी थियो । इएसए र रसकसमसले मिलेर यो मिशन एक्सोमार्सलाई आगामी सेप्टेम्बरमा लञ्च गर्ने तयारी थियो ।

इएसएका महानिर्देशक जोसेफ एसबेसरले एक्सोमार्स एक रोभर भएको बताए । यसलाई मंगल ग्रहमा पठाएर त्यहाँको ऐतिहासिक र प्राचीन वातावरणको जाँच गर्ने योजना थियो ताकि जीवनको उत्पत्ति र प्रमाणहरु खोज्न सकियोस् । साथमा मंगल ग्रहमा भविष्यमा जीवनको सम्भावनाबारे पनि अध्ययन गर्ने मिशन थियो । जोसेफका अनुसार अब मिशन लञ्च गर्न ढिलाइ हुनेछ किनकि अहिलेको स्थिति ठिक छैन । युरोपेली देशहरुले यो मिशनबाट रुसलाई बाहिर निकालिदिएपछि अब रोभरको लञ्चबारे फेरि योजना बनाइने र त्यही हिसाबले तयारी हुने उनले बताए ।

एक्सोमार्सको रोभरको असेम्बलिङ बेलायतमा भइरहेको छ । यसलाई रुसी रकेटबाट मंगल ग्रहमा लञ्च गर्ने कार्यक्रम थियो । यसलाई जर्मनीको स्पेसक्राफ्टमा सेट गरेर रकेटमा राखेर लञ्च गरिँदै थियो । अब रुसलाई बाहिर निकालिदिएपछि यसलाई लञ्च गर्नको लागि अमेरिकी अन्तरिक्ष एजेन्सी नासासँग कुरा भइरहेको छ । महानिर्देशक जोसेफका अनुसार नासा यो मिशनमा सहभागी हुन तयार छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *