रुसले युद्ध रोकेपछि पनि आफ्नै कारण वर्षौंसम्म खतरामा रहिरहनेछ युक्रेन
काठमाडौं। युक्रेन र रुसको युद्ध तीन हप्ताभन्दा लामो भइसकेको छ । यी दुई देशबीच वाताृको माध्यमबाट समाधान खोज्ने प्रयास भइरहेको छ । अर्कोतर्फ यो युद्ध अन्त्य भएको अवस्थामा पनि युक्रेन कैयौं वर्षसम्म खतरामा रहनेछ । यसको कारण हो – अहिले रुसी सेनालाई रोक्नको लागि युक्रेनमा ठूलो संख्यामा ल्याण्डमाइन अर्थात बारुदी सुरुङ बिच्छ्याइएका छन् । युद्ध सकिएपछि युक्रेनको अगाडि सबैभन्दा ठूलो चुनौती विष्फोट नभएका ल्याण्डमाइन खोजेर तिनीहरुलाई निष्क्रिय पार्नु हुनेछ ।
समाचार एजेन्सी एपीका अनुसार युक्रेनका गृहमन्त्री डेनिस मोनास्टिरस्कीले यो युद्धको क्रममा रुसी सैनिकलाई रोक्नको लागि बिच्छ्याइएका ल्याण्डमाइन लगायतका विष्फोटकहरुको खोजी गरेर तिनीहरुलाई निष्क्रिय पार्न कैयौं वर्ष लाग्ने बताएका छन् । उनले युद्ध सकिएपछि यी विष्फोटक खोज्ने अभियानको लागि युक्रेनलाई व्यापक स्तरमा पश्चिमी देशहरुको सहयोग पनि आवश्यक हुने बताए ।
युक्रेनी विदेशमन्त्रीले युक्रेनमा ठूलो संख्यामा गोलाहरु हानिएको र यस्ता गोलाहरुमध्ये धेरैमा विष्फोट नभएको बताएका छन् । यस्ता धेरै गोलाहरु भग्नावशेषमा दबिएका छन् । उनले यस्ता गोला खोज्न र तिनीहरुलाई निष्क्रिय पार्न कैयौं वर्ष लाग्ने बताए । युक्रेनी सेनाले पनि रुसलाई पुल, हवाइ अड्डा र अन्य संरचना प्रयोग गर्नबाट रोक्नको लागि ल्याण्डमाइन लगाएको छ । गृहमन्त्री मोनास्टिरस्कीले आफूहरु मात्र यी माइन हटाउन सक्षम नभएको बताएका छन् । उनले यसको लागि अन्तर्राष्ट्रिय सहयोगीहरु, युरोपेली संघ, अमेरिका लगायतबाट यी माइनहरुको खोजी गरेर नष्ट गर्ने विशेषज्ञको समूह तयार गर्न आग्रह गरिएको बताएका छन् ।







डिसी नेपाल







Facebook Comment